ओहो, कति रमाइलो कैलाश मानसरोवर

ओहो, कति रमाइलो कैलाश मानसरोवर

images
बुधवार, जेठ ३० २०८१
  • हिन्दु, बुद्धिष्ट तथा जैनहरूको पवित्र स्थलको रूपमा चिनिएको एक धार्मिक तीर्थस्थलको हो, कैलाश मानसरोवर। 

    यही यात्रामा जोडिने अवसर मिल्यो जेठ ६ गते। पर्यटक सहितको जम्बो टोली लिएर म र श्रीमती सीमा अंगाई पनि कैलाश दर्शनका लागि जाने योजना बनायौं। आइतबारको दिन बिहानै काठमाडौंबाट नेपाल चीन बोर्डर रसुवागढीतर्फ अगाडि बढियो। करिब डेढ सय किलोमिटरको दूरी रहे पनि रसुवागढी पुग्न ८ घण्टा लाग्यो। जे होस् बाटोमा देखिएको मनोरम दृश्यले थोरै भए पनि थकान कम भएको महसुस गरायो।

    रसुवागढीमा रहेको सोनाम गेस्ट हाउसमा न्यानो स्वागतसहित पहिलो रात बिताइयो। सोमबार ब्रेकफास्ट लिएसँगै अध्यागमन कार्यालय पुगियो। तिब्बत प्रवेश गर्न ल्हासाबाट अनिवार्य गाइड आउनु पर्ने नियम अनुरूप उताबाट गाइड आइसकेपछि हामी तिब्बततर्फ प्रस्थान गर्यौं। 

    तिब्बत प्रवेश गरेको पहिलो दिन समुद्री सतहबाट करिब २८०० मिटर उचाइमा रहेको केरूङ सहर पुगियो। इन्ट्री गर्दै जाँदा झन्झटिलो महसुस भए पनि त्यहाँको हरियाली वातावरण र सडकमा भएको विकास मनै लोभ्याउने थियो।

    हाम्रो टोली त्यो दिन केरुङ सहर घुम्ने र मनोरम दृश्य देखिने हाइकिङ जाने मौका मिल्यो।

    चिनियाँ गाइड बिना यात्रा अनुमति नभएकोले घुमघाम गर्दा चिनिया गाइड अनिवार्य नै थियो।

    तिब्बत प्रवेश गरेको तेस्रो दिन तथा काठमाडौंबाट यात्रा सुरू गरेको चौथो दिन हामी करिब दुई सय किलोमिटर पार गरेर केरूङबाट समुद्री सतहबाट करिब ४६०० मिटर उचाइ रहेको सागामा पुग्यौं।

    पर्यटकसँग-1717234729.jpg

    पहिलो पटक यात्रा गर्दै गरेका यात्रीको लागि सागामा लेक लाग्न सक्ने भएकाले केरूङमा दुई रात बिताएर सागा जानु राम्रो मानिन्छ। सागा जाँदै गर्दा बाटोमा आउने मनोहक दृश्य, झरना  तथा बाटोमा पर्ने ५२०० मिटर को पास पार गर्दै २०० किलोमिटरको यात्रा ४ घण्टामा पार गरेको पत्तै भएन।

    केरूङबाट यात्रा सुरू गर्नु अगावै आफ्नै किचेनमा खाना तयार गरेर प्याकिङ गरेका थियौं। गाडीमा राखिएको लञ्च बाटोमा उभिएरै खायौं।

    तिब्बत प्रवेश गरेको चौथो दिन बिहानको चिया नास्ता सँगै सुरू भयो।

    करिब ५०० किलोमिटर यात्रा गर्नुपर्ने भएकाले बिहानै यात्रा सुरू गर्ने चिनियाँ गाइडको निर्देशन अनुरूप सबै जना तयार भयौं। करिब ४५० किलोमिटर यात्रा गरेपश्चात कैलाश पर्वत र मनोसरोवर लेकको दर्शन गर्ने मौका मिल्यो।

    बिहानको ७ बजे नै कैलाशका लागि हिँड्यौं। दिउँसो १ बजे मानसरोवर र कैलाश पर्वतको दर्शन गर्ने ठाउँ पुगियो।

    ओहो! कति रमाइलो।

    कैलाश पर्वतलाई आँखै अगाडि देख्दा यात्राका कठिनाइहरू भुलियो।

    अब हाम्रो योजना अनुरूप गाडीमा मानसरोवर लेकको परिक्रमा गर्ने तयारी गरियो। हामीले प्रयोग गरेको गाडीले मानसरोवर लेकको परिक्रमा गर्न नपाउने रहेछ। केही समय कुरेपछि लेक परिक्रमा गर्न प्रयोग गर्ने गरिएको सरकारी गाडी आयो। जसले हामीलाई लेक परिक्रमा गराई बास बस्ने गेस्ट हाउसमा पुर्‍याइदियो।

    लेकको परिक्रमा गर्ने क्रममा दृश्य अवलोकन गर्न बस रोकिएको मौकामा पवित्र मानसरोवर लेकमा स्नान गर्ने मौका मिल्यो। पूर्णिमाको दिन मानसरोवर पुग्नुको छुट्टै महत्व रहेछ।

    योजना अनुरूप नै पूर्णिमाको दिन बेलुकी मानसरोवर पुगेर लेकमा स्नान गरेर लेक नजिकै गेस्ट हाउसमा बास बसियो। पूर्णिमाको दिन भएकाले रातमा चन्द्रमा भुइँमै आएको जस्तो देखिन्थ्यो। तिब्बत प्रवेश गरेको पाँचौं दिन मानसरोवरमा पूजा गर्‍यौं। त्यही दिन मानसरोवरबाट करिब ४० किलोमिटर टाढा रहेको दार्चेन सहर प्रवेश गर्यौं।

    बिहान मानसरोवरको पानी तताएर स्नान गरी पूजा गरेर खानापछि हिँडेकाले हामीले कम थकान महसुस गरेका थियौं।

    दार्चेन प्रवेश गर्दा दिनको २ बजेको थियो। हाम्रो समूहमा जैन धर्म मान्ने यात्री पनि रहेकोले जैन धर्म मान्नेहरूको पवित्र स्थल अस्टपदतर्फ लगियो।

    दार्चेनबाट करिब ३० मिनेट ड्राइभ गरेर अस्टपदमा पूजा गर्दै कैलाशको नजिकबाट दर्शन गर्ने मौका पाउँदा साथमा गएका पर्यटकहरू हर्षले गदगद देखिन्थे।

    अस्टपद दर्शन पश्चात् फेरि दार्चेन फर्केर हामी भोलिपल्टको यात्राको तयारीमा जुट्यौं। भोलिपल्ट झनै कठिन यात्रा सुरू गर्नुपर्ने थियो।

    दार्चेनबाट यामद्वरसम्म (करिब ७ किलोमिटर) गाडीको यात्रा पश्चात करिब १२ किलोमिटर यात्रा पैदल गर्नुपर्ने थियो।

    देरपुकसम्म नै मोटर बाटो पुगे पनि गाडीलाई प्रवेश निषेध थियो। हिँड्ने अन्यथा घोडा लिने विकल्प मात्र थियो। 

    तिब्बत प्रवेश गरेको छैठौं दिन हामी यामद्वरसम्म गाडीको यात्रा गरौं।

    त्यहाँ केही समय बिताएर देरापुकको यात्रामा अघि बढ्यौं। यामद्वरमा केही दान गर्नुपर्छ भन्ने मान्यता अनुरूप हामीमध्ये कसैले कपाल, रगत र नङ दान गर्‍यौं र देरापुकको यात्रा तय गर्यौं। करिब ४८००/४९०० मिटर उचाइमा पैदल यात्रा गर्न अत्यन्त कठिन थियो। तर पनि यात्रा गर्नु नै थियो।

    बीचमा थकाइ मार्दै हामी करिब ६/७  घण्टाको पैदल यात्रा गरेर समुद्री सतहबाट करिब ५१०० मिटर उचाइमा रहेको देरापुक पुग्यौं। मौसम अत्यन्त राम्रो भएकोले देरपुक पुगेपछि कैलाश पर्वतको अझै राम्रोसँग दर्शन गर्ने मौका मिल्यो।

    -पण्डित-र-सिमा-अंगाई-1717234729.jpg

    तिब्बत प्रवेश गरेको सातौँ दिन हामी कैलाश पर्वतको नजिकबाट दर्शन गर्ने उद्धेश अनुरूप उकालो लाग्यौं।

    बिहानको नास्तापछि सुरू भएको हाम्रो यात्रा बेलुकी देरापुकमा आएर मात्र टुंगियो।

    यात्राको आठौं दिन कठिन मानिने डोलमाला पास गर्ने तयारी थियो।  

    समुद्री सतहबाट करिब ५६३० मिटर उचाइमा रहेको डोलमाला पास गरेर केही ओरालो झरेपछि बीचमा गौरी कुण्डको दर्शन गरियो।

    त्यसपछि दार्चेनको यात्रा तय गरियो। दार्चेनमा एक रात आराम गर्यौं।

    करिब ७०० किलोमिटर यात्रा तय गरेर तिब्बत प्रवेश गरेको नवौं दिनमा रसुवा नजिकै रहेको मनोरम सहर केरूङ आइपुग्यौं। 

    केरूङमा एक रात आराम गरेपछि एघारौं दिनमा रसुवागढी हुँदै काठमाडौंको यात्रा तय गरियो।

    यो कैलाश यात्रा मेरा लागि पहिलो होइन। पर्यटक लिएर धेरै पटक कैलाश पुगिसकेँ। तर यसपटक साथमा श्रीमती पनि थिइन्। उनको खुसीमा झनै खुसी थपियो।

    साथमा गएका पर्यटकहरूको खुसीको त झन् कुरै नगरम। बिदा मनाउन नेपाल आएर तिब्बततर्फको कैलाश पर्वतसम्म पुग्दा उनीहरू खुसीले आनन्दित थिए। 

    यो यात्रामा मैले पर्यटकसँग अनुभव साट्न पनि पाएँ। पदयात्रा र पर्वतारोहण मात्र होइन धार्मिक यात्रामा पनि पर्यटकहरूले निकै आनन्द लिने रहेछन्।

    Republished for text from: https://www.setopati.com/ghumphir/ghumphir-experience/331010

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend