काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति भंग गदै उसले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको दुईदिने बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो ।
माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गर्ने, पार्टी केन्द्र देखिका सम्पूर्ण संगठनात्मक संरचना भंग गर्ने र नयाँ शिराबाट हरेक पार्टी कमिटिमा जेन जी पुस्ताको प्रतिनिधित्व हुने गरी कमिटि निर्माण गर्ने जस्ता प्रस्ताव अगाडी सारेका थिए ।
प्रचण्डको प्रस्तावमा नेताहरु नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले फरक मत राखेका थिए । श्रेष्ठले प्रचण्डले पद छोडेर आफुलाई कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका थिए । शर्माले पनि अध्यक्षले छोडेर नयाँ पुस्तामा नेतृत्व ल्याउनुपर्ने र आवश्यक परे पार्टी पदाधिकारी रहेकासम्मले छोडनुपर्ने बताएका थिए ।
माओवादीको केन्द्रीय समिति बैठकमा यी तिनै प्रस्तावमा सवै सदस्यहरुलाई समुह विभाजन गरेर बोल्न दिइएको थियो । तर प्रचण्डलाई छोडनुपर्ने भन्ने प्रस्तावमा नेताहरु नगन्य मात्रामा देखिएको माओवादी केन्द्रका एक प्रभावशाली नेताले जानकारी दिए ।
समुह विभाजनको चित्र हेर्दा झण्डै ८१ प्रतिशत नेताहरुले पार्टी अझै पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा अगाडी जानुपर्ने मत राखेका थिए । साँढे ४ प्रतिशत नेताहरुले नारायणकाजी श्रेष्ठको प्रस्ताव र साँढे ५ प्रतिशत नेताहरुले जनार्दन शर्माको प्रस्तावमा मत राखेका थिए । उपस्थितीको ९ प्रतिशत नेताहरुले भने आफुलाई कतै पनि खुलाउन र बोल्न नचाहेको अवस्था देखिएको ती नेताले सफलखबरलाइ जानकारी दिए ।
यस हिसावले हेर्दा पनि माओवादीमा अझै पनि प्रचण्ड नै नेतृत्वमा रहनुपर्ने मत ८० प्रतिशत भन्दा बढी नेता कार्यकर्तामा देखिएको छ ।
रोचक त के छ भने हरेक प्रदेशमा जनार्दन शर्माका पक्षमा बोल्ने एक दुई जना नेता देखिएपनि नारायणकाजी श्रेष्ठको पक्षमा भने ४ वटा समुहमा कोही पनि नेता देखिएनन । कर्णाली, लुम्बिनी, गण्डकी र सम्पर्क विशेषको समुह रहेको छलफलमा नारायणकाजी श्रेष्ठको पक्षमा बोल्ने कुनै पनि नेता देखा नपरेको हो । श्रेष्ठको आफ्नै गृहजिल्ला रहेको गण्डकी प्रदेशमा समेत उनको पक्षमा बोल्ने कुनै नेता देखिएनन । बरु उक्त प्रदेशमा बोलेकामध्ये १ जना वीचमा रहेर कुनै पनि प्रस्तावको पक्षमा देखिएनन । बाँकी ३१ जनाले उक्त समुहमा छलफलमा सहभागी भएपनि आफनो धारणा नराखेको देखिएको छ ।
माओवादी केन्द्रीय समिति बैठकमा तीन वटै प्रस्तावमा कुलमा ६३२ जनाले प्रदेशगत समुहमा छलफलमा भाग लिएका थिए । जसमध्ये ५१२ जना नेताहरुले प्रचण्डको प्रस्तावको पक्षमा आफुलाई उम्भाएका थिए । उनीहरुले अझै पनि माओवादीलाई प्रचण्डले नै नेतृत्व दिनुपर्ने र प्रचण्डकै नेतृत्वमा पार्टी नयाँ ढंगले पूर्नगठित भएर जानुपर्ने मत राखेको ती नेताले बताए । यो भनेको कुल ८१ दशमलव ०१ प्रतिशत हो । नारायणकाजी श्रेष्ठको प्रस्ताव अथवा उनलाई पार्टीको कार्यावाहक दिएर जानुपर्ने पक्षमा कुलमा २८ जना नेताले मात्र साथ दिएका थिए । यो भनेको ४ दशमलव ४३ प्रतिशत हो । त्यस्तै जनार्दन शर्माको प्रस्तावमा ३४ नेता खुलेका थिए । यो भनेको ५ दशमलव ३७ प्रतिशत हो । ५८ जना नेतामध्ये ४४ जनाले आफनो धारणा नै राखेनन । बाकी १४ जना भने कतै पनि नखुली मझधारमा रहेर बोलेको थिए ।
.jpg)
