तोक्ला त माओवादीले आज विशेष महाधिवेशनको मिति ?

तोक्ला त माओवादीले आज विशेष महाधिवेशनको मिति ?

images
सोमवार, आश्विन २० २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर अन्तिम साता पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । यधपी महाधिवेशनको मिति भने तय गरेको छैन । 

    असोज ९ र १० गते काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको थियो । त्यस्तै उक्त आयोजक समिति प्रचण्डकै संयोजकत्वमा बनाएको थियो । पार्टीका सबै तहका कमिटि पनि उसले भंग गरेको थियो । पार्टी पदाधिकारीलाई महाधिवेशन आयोजक समितिको सचिवालय बनाउने निर्णय पनि उसले लिएको थियो । 

    आयोजक समिति बनेपछि माओवादीको आयोजक समितिको सचिवालयको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बस्न लागेको छ । सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार आजको बैठकले महाधिवेशनको मिति तोक्ने र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको ब्यवस्थाका बारेमा पनि छलफल गरिने छ ।

    जेन जी पुस्ताको आन्दोलनपछि नयाँ पुस्ताको समेत सहभागितामा नेतृत्व हस्तान्तरण गर्ने र पार्टीलाई रुपान्तरण गर्ने योजनाका साथ माओवादीले विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसपछि उसले पार्टीका सबै कमिटि भंग गरेको छ । 
    माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा (प्रभाकर)का तीन वटा दस्तावेजमा छलफल भएको थियो । छलफलप्रश्चात प्रचण्डको प्रस्ताव पारित गदै विशेष महाधिवेशनमा प्रचण्डकै नेतृत्वमा जाने निर्णय माओवादीले लिएको थियो । 

    एमाले र कांग्रेसमा विशेष महाधिवेशन गर्ने वा नियमित महाधिवेशन गर्ने, नेतृत्व के गर्ने भन्ने अन्यौलताका विच माओवादीले भने तत्काल केन्द्रीय समिति बोलाएर विशेष महाधिवेशनमा जाने निर्णय लिएको थियो । यधपी मिति भने सचिवालयबाट तय गर्ने गरी निर्णय लिएको थियो । 

    आयोजक समितिको पहिलो सचिवालय बैठक आज (सोमबार) बस्न लागेको र बैठकको एजेण्डामा विशेष महाधिवेशनको मिति तोक्ने बारेमा पनि उल्लेख भएकोले यसबारेमा आजको बैठकले निर्णय लिने सचिवालय सदस्य हरिवोल गजुरेलले बताए । मंसिर २० पछाडी महाधिवेशन गर्ने गरी मिति तोकिने सम्भाबना रहेको गजुरेलले बताए । 

    तर आजको बैठकमा अन्य वामपन्थी पार्टीहरुसँगको एकताका बारेमा पनि छलफल हुने भएकोले मितिका विषयमा थप नयाँ केही हुनसक्ने पनि माओवादी नेताहरुको भनाई छ । माओवाीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी लगायतसँग पनि पार्टी एकताको छलफल चलाईरहेको छ । तर यसमा पनि आजको बैठकमा थप छलफल हुने माओवादी नेताहरुको भनाई छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend