सिरहामा पाँच दलित परिवारको घरमा तोडफोड र लुटपाट, कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पक्राउ

सिरहामा पाँच दलित परिवारको घरमा तोडफोड र लुटपाट, कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पक्राउ

images
नेपाल नजर
सोमवार, आश्विन २० २०८२
  • सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका पाँच दलित परिवारको घरमा तोडफोड र लुटपाट भएको छ । घर तोडफोड र लुटपाट भएसँगै अविरल परेको वर्षका कारण उनीहरु वर्षामा ओत लाग्ने ठाउँसमेत नहुँदा बिचल्लीमा परेका छन् । 

    पाँच पासवान परिवारलाई गत शुक्रबार दुव्र्यवहार गर्दै उनीहरूको घरमा तोडफोड र लुटपाट गरिएको थियो । आक्रमणबाट उनीहरूका फुसका घर बस्न लायकसमेत नभएका बारण वर्षपछि विचल्लीमा परेका हुन । 
    करिब ५० जनाको अचानक आएको समूहले स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा भएका अन्नपातसमेत नष्ट गरिदिएका थिए भने गरगहना, नगदलगायत लुटेर लगेका थिए । 
    घटनापछि प्रहरीले शनिबार १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत मुद्दा दर्ता गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित कल्याणपुर–८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।

    जसमध्ये वडाध्यक्ष यादवसहित गणेश र कैलाशलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी गर्दैछ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए । अहिले एउटै शीर्षकमा १३ जनाविरुद्ध मात्रै जाहेरी दर्ता भए पनि अनुसन्धानका क्रममा मुद्दा र व्यक्ति बढ्न सक्ने उनले बताए ।

    यसअघि गत असोज १ गते विश्वकर्मा पूजाका दिन गाउँकै गुद्री बजारमा आर्केस्ट्रा ल्याइएको थियो । जसमा पासवान टोलका युवाहरूसँग प्रभास समूहको विवाद परेको थियो । विवादकै क्रममा उठीबास लगाउने धम्की दिएपछि दलित समुदायले प्रहरीमा उजुरी दिएका थिए ।

    उनीहरूले दलित भएर ठूलो बन्न खोजेको भन्दै यहाँबाट भगाइदिने धम्की दिएपछि इलाका प्रहरी कार्यालय, मिर्चैयामा असोज ३ गते उजुरी दिएको पीडित राजकुमार पासवानले बताए । तर, पटक–पटक समय लिएर पनि छलफलमा उपस्थित नभएका उनीहरूले दलित समुदायको घरमा आक्रमण गर्दै उठीबास लगाइदिएका हुन् ।
    यसमा वडाध्यक्ष यादवले उनीहरूलाई उक्साउने काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । असोज ५ मा वडाध्यक्ष यादवले कल्याणपुर नगरपालिकालाई दलित समुदाय बस्दै आएको जग्गा सार्वजनिक भएको र उक्त जग्गा खाली गराइदिन लेखेको पत्र पनि प्रहरीले प्राप्त गरेको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend