जनेजी विद्रोहपछि अब कांग्रेसले गर्ने के ? यस्ता छन् शेखर कोइरालाका सुझाव

जनेजी विद्रोहपछि अब कांग्रेसले गर्ने के ? यस्ता छन् शेखर कोइरालाका सुझाव

images
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले नेपाली कांग्रेसले अब के गर्ने भन्ने बारेमा आफनो धारणा सार्वजनिक गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयको बैठकमा उनले लिखित रुपमा नै आफनो धारणा राख्दै कांग्रेसले अब के गर्नुपर्छ भन्ने बारेमा ७ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

    कांग्रेसका विगतमा अनुशासनका नाममा कारवाही गरेकाहरु सबैको कारवाही फुकुवा गरेर नयाा शिरामा पार्टीभित्रको एकता कायम गर्नुपर्ने कांग्रेस नेता कोइरालाको माग छ । उनले पार्टी केन्द्रीय समिति बैठकमा राखेका यस्ता छन् अव कांग्रेसले खेल्नुपर्ने भूमिकाका बारेमा दिएको ७ बुँदे सुझाव :-


    १. विश्व परिवेशका सम्बन्धमाः 

    आजभन्दा झण्डै पाँच दशक अगाडि दक्षिण एशियामा घटिरहेको असामान्य राजनीतिक हलचलहरुवाट नेपाल जस्ता साना राष्ट्रहरुको अस्तित्व नै खतरामा पर्ने ठानी आठवर्षको प्रवास जीवन त्यागेर विपी कोइराला र गणेशमान सिंह नेपाल फर्कनु भएको थियो ।

    देशको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ आफ्‌नो जीवन खतरामा पारी स्वदेश फर्कनु भएको त्यो ऐतिहासिक क्षण आज यसकारण पनि स्मरणीय छ की अहिले फेरि एकपटक दक्षिण एशियाका मुलुकहरुमा ठूला राजनीतिक उथलपुथल र निर्वाचित सरकार अपदस्थ हुनेक्रम शुरु भएको छ । दक्षिण एशियामा मात्र होइन विगत केही वर्ष देखि सम्पुर्ण विश्व राजनीतिमा यस किसिमका नयाँ–नयाँ प्रयोग र अप्रत्याशित घटनाहरु घटिरहेका छन ।

    २.संविधान बारेः

    हाम्रो देशमा एउटै पुस्ताले चारवटा राजनीतिक आन्दोलन देख्यो ।  हामी अगाडिका पुस्ताले राजनीतिक आन्दोलनको नाममा अनेकन् हण्डर, यातना, बलिदान, प्रवास र संघर्षहरु देखे र झेले। संविधानका अनेकन् प्रयोगहरु पनि भए र भइरहेका पनी छन । यसैक्रममा संविधानसभावाट आम नेपाली जनताको भावना अनुरुप निर्माण भएको वर्तमान संविधान फेरि एकपटक जनताको कठघरामा पुगेको छ ।

    सात दशकको प्रयत्न पछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ । मलाई लाग्छ सम्पुर्ण नेपाललाई एउटै अभियानमा भविष्यन्मुखी दिशातर्फ लैजाने बाटो भनेको “घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण” नै हो ।

    निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्तावाट मात्र होइन देशको राजनीतिवाट पनि असान्दर्भिक बनाउन सक्छ ।

    ३. आगामी निर्वाचनका वारेः

    नेपाली कांग्रेस मात्र होइन अन्य राजनीतिक दल, सबैै पुस्ता, संचार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायहरु लगायत जेनजी पुस्ता सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएका छन । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन ।

    कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्‌नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनता वीच पूनर्स्थापित गर्नुपर्दछ । तर आम निर्वाचनको वातावरण बनाउन सरकारले निम्न कुराहरु पुरा गर्नुपर्छ । 

    क. स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्छ र त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु हुँदैन ।

    ख. त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यसतर्फ वर्तमान सरकारको सकृयतामा केही कमी देखिएको छ ।

    ग. भाद्र २४ गते जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन । व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरुमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरुका घरहरुमा भएको आगजनी र बिध्वंशले हाम्रो समाजमा ठुलो घाउ छोडेको छ । यो अपुरणीय क्षति हो ।  त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानुन बमोजिम दण्ड नदिएर उन्मूक्ति दिने कार्य कदापी स्वीकार्य हुँदैन, सरकारले यसलाई हेक्का राखोस ।   

    ४.कांग्रेसले नेतृत्व लिनुपर्ने बारेः

    हाम्रो देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि नउठाई हामी अब अगाडि बढ्न सक्ने अवस्था देखिएन । यसमा कांग्रेसले अगुवाई गर्न सक्नुपर्छ । यस सम्वन्धमा सरकार र सरकार संचालनमा जाने दलका पात्रहरुवारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरु उठेका थिए ।

    लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र होइन प्रतिष्ठाको विषय बनाएर हिड्यौँ र हामीले नागरिकको आवाजलाई सुनेनौं, परिणामस्वरुप आज यो अवस्थामा आइपुगेका छौं ।

    ५.नियमित अधिवेशन बारेः

    आज कुरा उठेको छ कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर । कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देश भित्र र बाहिरका हाम्रा शुभचिन्तकहरु मात्र छैनन, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरुले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन । अन्य राजनीतिक दलहरु मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरु माझ भन्न चाहन्छु “कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी” बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ । महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु ।

    “विशेष महाधिवेशनको” सन्दर्भमा उठेका र कागे्रसभित्रबाट साथीहरुले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न होे भनी म बुझ्‌छु । यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु ।

    यो ऐतिहाँसिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन । सहि अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, उर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । हामी नियमित अधिवेशन मार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ । महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने “राष्ट्रिय निर्वाचन”लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ ।

    हेक्का राख्नुपर्ने कुरा के छ भने हाम्रा अगाडि उभिएका चुनौतिका अनुहारहरु परिवर्तन भएका छन, यो सामाजिक गतिको स्वभाविक प्रकृया हो । समय सापेक्ष हामी पनि परिवर्तन हुनुपर्छ । त्यो हाम्रो चरित्र र आचरणमा देखिनुपर्छ । अन्यथा हाम्रो नीति र नियम माथि नियतमा रहेको हाम्रो खोटले हामीलाई हराईरहने छ । 

    ६.कांग्रेस भित्रको एकताका वारेः

    निःसन्देह यतिवेला कांगे्रस भित्र एकताको खाँचो छ । यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा “विन–विन” को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबौरे पार्टी भित्र व्यापक वहश, छलफल र विश्लेषण जरुरी छ ।

    आपसी अविश्वास र सन्देहले राजनीतिक विवेक मात्र होइन सामाजिक विवेक पनि समाप्त हुन्छ । यो संस्कृतिको अन्त नै “राष्ट्रको दिशा र कांग्रेसको भविष्य” हो । एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता हो ।

    ७.अनुशासन समितिबाट कारबाहीको सिफारिस सम्बन्धमाः

    २०७९ सालमा नेपाली काँग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गर्दछु । सबै नेता कार्यकर्ता साथीहरु एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकोले हाललाई सबै कारबाही फिर्ता गरी एकताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिने र बिभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरुलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आहन होस भनी म यहाँ प्रस्ताव राख्छु । 

    लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुनसक्छ भन्ने हाम्रो पार्टीको मूलभूत सिद्धान्त मात्र होइन,  यो हाम्रो जीवन पद्धति पनि हो । आम नेपालीहरुले अपनाएको संस्कृति पनि त्यही हो ।

    अन्त्यमा,

    राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खता तर्फ कांग्रेसले आफुलाई अगाडि बढाउन सम्भव नै छैन । तसर्थ, पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ । एकतामा नै बल छ भन्ने मुलमन्त्र विपी कोइराला लगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो ।

    मुख्य कुरो पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके हामीलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा चाहिँदैन । प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने “हामी” आम साथीहरुको भावनालाई बोकेर निर्णय गर्न तयार छौ ? के नागरिकको भावनालाई बोकेर “हामी” सरकार संचालन गर्न तयार  छौं   ?

    १५औँ महाधिवेशन वाद–विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्छ ।

    नेपाली कांग्रेस एउटा शव्द होइन । यो नेपाली समाजको सभ्यता हो । नेपालको इतिहाँस हो । लोकतन्त्रको पर्यावाची हो र नेपालका सबैै जात–जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो । अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend