यसकारण अध्यक्ष ओलीले राजीनामा दिनुपर्छ

यसकारण अध्यक्ष ओलीले राजीनामा दिनुपर्छ

images
शुक्रवार, कार्तिक १ २०८२
  • हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब हाम्रो पार्टी नेकपा एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । अध्यक्ष ओलीले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।
    अहिले भदौं २३ र २४ को जेन जी पुस्ताको विद्रोह, विध्वंश, विनाश र वियोगान्तपछि एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । तर बैठकमा नेतृत्व पंक्तिका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको को हो ? भदौ २३ गतेको जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मा कसले लिने ? हाम्रै अध्यक्षले सरकारको नेतृत्व गरिरहनु भएको थियो । अनि जिम्मा लिने कसले ?

    USha1758109721_11zon.jpg


    हामी बैठकमा नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छौं भनिरहेका छौं। उसो भए अहिले असफल भएको चाहिँ को हो? अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो । खर्बाैंको सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी प्रमुखलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ ?  

    बैठकमा भदौ २३ र २४ गतेको विद्रोह षड्यन्त्र भनिरहँदा एमालेविरूद्ध लाग्ने शक्तिहरू किटान हुनुपर्ने होइन र ? यतिखेर हामी कुन षड्यन्त्रको कुरा गरिरहेका छौं ? कुनकुन वैदेशिक निकायहरू हुन् एमाले विरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौं ? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं ? 
    कमरेड केपी ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पु¥यायो? नेकपा गठन एउटा महत्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास ग¥यौं ? एक पल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । मास फ्रस्टेन छ र थियो । स्विकारौं । यसको गम्भिर समीक्षा गरौं ।
    एकपल्ट यो पनि सम्झिऊँ सूर्य चिह्नमा चुनाव कोको र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्राएको हो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्राउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?
    २०७९ को निर्वाचनपछाडि सक्किने की सच्चिने भन्ने बहस अहलिे चर्चामा छ । अहिले भदौ २३ र २४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो ? भन्ने प्रश्न खडा भएको छ । 

    जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने छ । देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान संकटमा छ । छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ । त्यसैले अब संसद्को पुनःस्थापना होइन, निर्वाचनमा जानुपर्छ । यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनःस्थापना हुन पर्छ भनेर भनेको छैन । अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ । तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौं भने एमाले खरानी टकटक्याएर बौरनेछ ।

    मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन दान लिने कुरा आयो । हामीले विरोध गरयौं । कारवाही पार्टीभित्रै पनि भोग्यौं । अन्यथा नलिनु होला, मीनबहादुर गुरूङको सम्पत्तिमाथि हमला भयो,  क्षती भयो, हाम्रो कारण नै उहाँको सम्पक्तिमाथी आक्रमण भएको कुरामा हामीले कति सोचेका छौं । अहिले उहाँ अन्यायमा पर्नुभएको छ । पीडामा पनि हुनुहुनछ । त्यसैले त्यो दान सहयोग फिर्ता गर्ने निर्णय गरौं । उहाँलाई पनि त्यसले थोरवहुत राहात पनि मिल्नेछ । 
    भदौ २४को घटना राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर)  हो । त्यसबाट पनि हामीले चेतेनौं भने इतिहासले हामीलाई धिक्कार्नेछ । एक जना व्यक्तिको महत्वांकाक्षाका लागि सिंगो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन । एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन । यो संगठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु । 

    (तिम्सेना नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । उनले पार्टी केन्द्रीय समिति बैठकमा राखेको भनाईको सम्पादित अंश)

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend