काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पाँच ओटा वाम पार्टीविच एकता हुने भएको छ । कात्तिक मसान्तभित्रै एकता गर्ने गरी ती पार्टीहरु अन्तिम तयारीमा जुटेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र),माधव कमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमवहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) पार्टीविच एकता गर्ने गरी अन्तिम तयारी भएको हो ।
एकताका औपचारिक घोषणा कात्तिक १५ भित्रै गर्ने र लगत्तै निर्वाचन आयोगमा कात्तिक मसान्तभित्रै एकता गरेपछि बन्ने दल दर्ता गर्ने तयारी भएको छ । त्यसका लागि एकताको सैदान्तिक सहमति करिव भईसकेको र आ- आफनो राजनीतिक दलबाट अव निर्णय लिन मात्र बाँकी राखिएको छलफलमा सहभागी ५ वाम दल मध्येका एक माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
’‘हामी पाँच ओटा वाम पार्टीका वीचमा एकता गर्ने गरी सहमति जुटिसकेको छ, अझ त्यसलाई विस्तार गर्ने र अन्य केही वाम दललाई पनि सहभागी गराउने गरी थप छलफल जारी छ,’ माओवादी केन्द्रका ती नेताले नेपालनजरसँग भने,‘कात्तिक १५ भित्रै एकतामा आउने सवै दल, ब्यक्ति, समुहहरुको टुंग्गो लागिसक्छ । छलफल द्दिपक्षिय, बहुपक्षिय भईरहेका छन् । एकताको अन्तिम तयारी भईसकेको छ ।’
एकीकृत समाजवादीका नेता वेदुराम भुसालले पनि माओवादी, एकीकृत समाजवादी सहितका अन्य केही साना वाम दलहरुसमेत सहभागी भएर एकता गर्ने गरी सैद्दान्तिक सहमति जुटिसकेको पुष्टि गरे । नेता भुसालका अनुसार अहिले दस्तावेज आदान–प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको बताए। ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदानका काम भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक समेत रहेका भुसालले भने।
उनका अनुसार अव एकता प्रक्रिया औपचारिक टुंग्गो लाग्न अब धेरै दिन लाग्दैन । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बीचमा भने यस अगाडी नै समाजवादी मोर्चा निर्माण भएको थियो ।
यो एकता प्रक्रियाको छलफलमा विप्लवको पार्टी पनि सुरुका दिनमा सहभागी भएपनि पछिल्ला दिनमा भने सकारात्मक देखिएको छैन । विप्लवको पार्टीले केही दिन अगाडी बसेको पार्टी केन्द्रीय समिति बैठकबाट वार्ता कार्यदल नै विघटन गरेपछि उक्त पार्टी एकता प्रक्रियामा सकारात्मक देखिएको छैन । विल्लवको पार्टीले अहिले चुनाव अगाडीको सरकारलाई राष्टिय सहमतिको राजनीतिक दलहरुसहित सहभागी भएको सरकार निर्माण गर्नुपर्ने, नेतृत्व आफुहरुले पाउनुपर्ने र संविधानका कतिपय विषय पूर्नलेखन गर्नुपर्ने जस्ता शर्त अगाडी सारेपछि उनीहरुसँगको एकताको विषय भने ओझेलमा परेको छ ।
विप्लवको पार्टीले औपचारिक रुपमा नै वार्ता कार्यदल भंग गरेपछि अव पार्टीगत तहमा भन्दा पनि उक्त पार्टीमा रहेका नेता कार्यकर्तासँग भने ब्यक्तिगत तहमा एकताको प्रक्रियामा सहभागी गराउन छलफल समेत चल्न थालेको छ । माओवादीका एक नेताका अनुसार, विप्लवको पार्टीका एक सचिवालय सदस्यसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु भने एकता प्रक्रियामा सहभागी हुन कतिपय औपचारिक/अनौपचारिक छलफलमा सहभागी छन् ।
यही एकता प्रक्रियामा धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी र मोहन वैद्य (किरण)ले नेतृत्व छोडेर सिपि गजुरेललाई महासचिव बनाएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केही नेताहरुलाई पनि सहभागी गराउन आन्तरिक छलफल चलिरहेको छ । यधपी यसले कति मूर्तता पाउँछ त्यो भने आगामी दिनमा देखिने नेताहरुको भनाई छ ।
यधपी अहिलेलाई नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी र नकेपा (समाजवादी)का बीचमा भने एकता गर्ने गरी अन्तिम समझदारी जुटिसकेको छ ।
यी हुने अहिलेसम्म टुंग्गो लागेको विषय
यी पाँच वाम पार्टीहरुले १५ कात्तिकसम्म एकताको औपचारिक घोषणा गर्ने गरी तयारी गरिरहेका छन् । त्यसआधारमा आ आफनो दलको बैठक बोलाउने तयारी सुरु भईसकेको छ । यी पाँच वाम दलको वार्ता टोलीको छठको भोलिपल्टै बैठक बस्ने र त्यसले एउटा प्रस्ताव तय गरी आ आफनो पार्टीको बैठक आह्रवान गरेर त्यही बैठकबाट अनुमोदन गरेर औपचारिक एकताको घोषणा गर्ने गरी छलफल चलिरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार, १५ कात्तिकभित्र आ-आफनो दलको बैठक बसिसक्ने र कात्तिक ३० भित्रै एकताको औपचारिक घोषणा गर्ने र लगत्तै दल दर्ता निर्वाचन आयोगमा गर्ने सहमति जुटिसकेको छ । कात्तिक मसान्तसम्म दल दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका दिएको छ । दल दर्ता गरेपछि मंसिर दोस्रो सातासम्म एकताको राष्ट्रिय सम्मेलन गर्ने तयारी छ ।
एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ सम्म पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त पार्टीको सम्मानित नेता झलनाथ खनालले एकताका बारेमा फरक धारणा राखिरहेका छन् । श्रीमतीको उपचारका लागि दिल्लीमा रहेका खनालसँग केही दिन यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका संयोजक प्रचण्डसम्मले लगातार गरिरहेको टेलिफोन सम्वाद र छलफलका आधारमा उनी केही लचिलो बनेको बताइन्छ । त्यसपछि यो प्रक्रियाले तीव्रता पाउन लागेको देखिन्छ ।
चुनाव फागुन २१ मा भए चुनाव पछि एकताको राष्ट्रिय महाधिवेशन गर्ने, चुनाव २१ फागुनमा हुन नसकि पछि सरेमा एकता महाधिवेशनको मिति तोकेर जाने विषयमा पनि यी दलहरुका बीचमा समझदारी बनेको छ ।
पार्टी नाम भने एकतापछि नेकपा (समाजवादी) राख्ने समझदारी छ । यो नाम अहिले राजु कार्की नेतृत्वको दलको छ । उनी पनि एकता प्रक्रियामै छलफलमा रहेको र छलफलमा यही नाम राख्ने विषयमा सहमति जुटिसकेको छ । चुनाव चिन्ह दुई अक्षरको राख्ने बारेमा छलफल छ । चिन्ह्र के राख्दा हुन्छ भनेर खोजी जारी रहेको छलफलमा सहभागी एक नेताले बताए । एकीकृत समाजवादीको कलम र माओवादी केन्द्रको गोलाकारभित्रको हसिँया हथौडा, नेकपा (समाजवादी)को कार लगायतका चिन्ह नराखी नयाँ नाम राख्ने र त्यसका अनेक विकल्पमा छलफल जारी रहेको छ ।
एकतापछि पार्टीको नेतृत्व माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नै गर्ने तय भएको छ । दोस्रो वरियतामा माधव नेपाललाई राख्ने तर विगतमा नेकपा बनाउँदाको जस्तो बहुपद नराख्ने गरी सहमति जुटेको छ । माधव नेपाललाई एकतापछि के पद दिने ? सहअध्यक्ष वा सहसंयोजक वा के बनाउने भन्नेमा छलफल बाँकी रहेको ती नेताले बताए ।
पार्टीको काम चलायमान बनाउन सचिवालय निर्माण गर्ने र त्यस्तो सचिवालयमा युवाहरुको (जेनजी पुस्ताका नेताहरु समेत सहभागी गराएर निर्माण गर्ने) सहभागिता उल्लेख्य मात्रामा गराउने समझदारी छ । पार्टीको संरचना पोलिटब्यूरो बनाउने विषयमा पनि छलफल जारी छ । महाधिवेशनसम्मका लागि तत्काललाई सवै पार्टीका केन्द्रीय समितिका सदस्यहरुलाई आयोजक समितिमा समेटने र महाधिवेशन पछि सानो आकारका संगठन बनाउने, कमिटि सानो बनाउने विषयमा सहमति जुटेको छ ।
.jpg)
