काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता हानिकारक हुने भन्दै तत्काल एकताको प्रक्रिया स्थगन गर्न लिखित माग गरेका छन् ।
पार्टीको महाधिवेशन आयोजक समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा उनले यस्तो लिखित प्रस्ताव राखेका हुन् । एकीकृत समाजवादीले शुक्रवार माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेपछि त्यसबारे माओवादीले पनि निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
पार्टीभित्र केही समय देखि आफनो फरक मत राख्दै आएका शर्माले एकीकृत समाजवादीसँगको एकताले पार्टीलाई फाइदा नपुग्ने बताएका हुन् ।
‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’ शर्मा (प्रभाकर)ले बैठकमा राखेको लिखित प्रस्तावमा भनिएको छ । उनले तीन पृष्ठको लिखित प्रस्ताव पेश गरेका हुन् ।
एकीकृत समाजवादीसँग माओवादीले एकता गरे तत्काल पार्टीको घोषित जिम्मेवारीबाट अलग भएको सामुहिक घोषणा गर्ने र एकीकृत समाजवादीको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका झलनाथ खनाल, घनश्याम भुषाल लगायतका नेताहरुसँग मिलेर नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा जर्नादन लागिरहेको आरोप माओवादीभित्र छ ।
त्यही आरोपका बीच शर्माले पार्टी बैठकमा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका हुन् । उनले एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने बताएका छन् ।
‘यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहो¥याउनेछ ।’ शर्माले भनेका छन् ।
माओवादी केन्द्रको पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने भन्दै उनले प्रस्तावमा भनेका छन्, ‘यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको बिगठनको बाटो रोजेको छ ।’
एकीकृत समाजवादीसँग बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी एता गर्न खोजिएको शर्माको आरोप छ ।
उनले अगाडी भनेका छन्, ‘एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुर्याउनेछ ।’
हेर्नुहोस् शर्माको प्रस्तावको पूर्ण पाठ
.jpg)
