कात्तिक १८ मा मिल्दैछन् यी ७ कम्युनिष्ट पार्टी

कात्तिक १८ मा मिल्दैछन् यी ७ कम्युनिष्ट पार्टी

images
शनिवार, कार्तिक १६ २०८२
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा आगामी कात्तिक १८ गते ७ वटा कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुने भएको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायतका पार्टीहरुबीच एकता हुन लागेको हो । 


    एकता प्रक्रियामा सहभागी हुने अन्य ६ दलले आ आफनो पार्टी र समुहबाट एकताको निर्णय गरिसकेका छन् । माओवादी केन्द्रले कात्तिक १७ मा केन्द्रीय आयोजक समितिको बैठक बोलाएको छ ।


    काठमाडौंमा बस्ने उक्त बैठकले एकताको औपचारिक निर्णय गरेपछि कात्तिक १८ मा यी ७ कम्युनष्टि पार्टीका बीचमा एकता हुन लागेको हो । 
    एकता प्रक्रियामा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र),माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको पार्टीका बीचमा एकता हुन लागेको हो । 

    एकतापछि बन्ने पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल रहने गरी एकताको टुंग्गो लागेको छ । माओवाद केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ ।


    यो एकता प्रक्रियामा गोपाल किराँतीलाई पनि सहभागी गराउनेगरी छलफल छ । त्यस्तै अशोक राई नेतृत्वको पार्टीसँग पनि छलफल भएपनि उक्त पार्टीसँग भने कुनै निश्कर्ष निस्केको छैन । 

    ‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब फाइनल भइसकेको छ । आज (शनिबार) पार्टीको सचिवालय बैठकमा प्रावधिक र सांगठनिक कुरामा छलफल भएको छ,’ माओवादी बैठकपछि नेता सापकोटाले भने ।

    सचिवालय बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताएका छन् । उनका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरकमत राख्नेसँग समेत छलफल चलिरहेको छ । 

    एकता प्रक्रियामा एकीकृत समाजवादीभित्र झलनाथ खनाल, घनश्याम भुषालहरुले असहमति जनाउँदै नयाँ पार्टी निर्माणको छलफल थालेका छन् । यता माओवादीभित्र पनि जनार्दन शर्माले तत्काल एकता नगर्न आग्रह गदै लिखित प्रस्ताव पार्टीमा राखेका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend