ओलीप्रति प्रचण्डको व्यंग्य- चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ,  हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ

ओलीप्रति प्रचण्डको व्यंग्य- चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ,  हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ

images
शनिवार, मंसिर १४ २०८२
  • दाङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेका अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै चुनाव जितेर सत्तामा पुगेपनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका छन् ।

    १५ कम्युनिष्ट साना ठूला घटकहरुको एकतापछि नेपाली कम्युनिष्ट पार्टी गठन गरेर एकता सन्देशसभा आयोजना गदै हिँडेका प्रचण्डले शनिबार दाङको लमहीमा लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । 
    ‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ । ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ,’ प्रचण्डले भने, ‘मैले संसदको रोष्ट्रमबाटै भनेको थिएँ । बहुमतको धेरै दम्भ नदेखाउनुहोस् यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर । आज उहाँ (केपी शर्मा ओली)ले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं । तर उहाँले अझै पनि अहंकार त्यागेको देखिँदैन ।’

    जेनजी पुस्ताको आन्दोलनमा भएको नरसंहार र त्यसको भोलिपल्ट भएको विध्वंसका घटनाले सुरक्षा प्रणालीको हालत देखाईदिएको पनि प्रचण्डको भनाई थियो । 

    ‘भदौ २४ गतेको विध्वंस देख्यौं, केही घन्टामै देश जलाएको देख्यौं। सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी जलाएको देख्यौं। केही घन्टामै देश बर्बाद पारी जलाउन सक्नेहरू देख्यौं,’ प्रचण्डले भने, ‘विगतमा हाम्रा पुर्खा लडेर, रगत बगाएर, त्याग र तपस्याले जोगाएको देशको स्वाधिनता क्षणभरमै स्वाहा भएको देख्यौं। हाम्रो राज्य संयन्त्र कति कमजोर भएको हो, हाम्रो सुरक्षा प्रणाली कति कमजोर भएको हो भन्ने लाग्यो।’

    उनले फेरि पनि देश बनाउन वर्षौं संघर्ष र त्याग गरेका दलहरूबाट मात्रै सम्भव हुने बताए । सबैभन्दा बढी देशभक्त कम्युनिष्टहरू नै हुने दाबी गर्दै प्रचण्डले २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानी र त्यागबाट आजको परिवर्तन सम्भव भएको बताए ।

    ‘म माओवादीमा सर्वोच्च कमाण्डर हुँदा माधवजी एमालेको महासचिव हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘पहिलोपटक माधव कमरेडले नै बामदेब गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएर वार्ता गर्नुभएको थियो । त्यसमा बामदेब कमरेड र मैले हस्ताक्षर गरेका थियौं ।’

    त्यस्तै उनले माधव नेपाल लगायतका नेताहरूसंगको सहकार्यका कारण पंचायत ढलाउन र पछिल्लो समय संघीय गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको चर्चा गरे।
    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष ओली लक्षित अभिब्यक्ति दिएका थिए । 
    ‘मैले त कति मान्छेहरूलाई तपाईंहरूले सक्नुहुन्छ भनेर सुधार्नुस् भनेको थिएँ,’ नेपालले भने, ‘तर, सम्भव भएन। नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर रहेनछ।’

    त्यसरी सुध्रिएको व्यक्तिलाई स्याबास भनौंला र ठूलो मालाले स्वागत गरौंला भन्ने चाहाना रहेको उनले सुनाए। तर इच्छा पुरा हुन नसकेको उनले बताएका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend