काठमाडौं । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले) पार्टीको ११ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशन आउन दुई साता मात्रै बाँकी रहँदा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाले पार्टीभित्रको वास्तविक शक्ति–सन्तुलन, गुटगत वर्चस्व, असन्तोषको तह र संगठनात्मक क्षयलाई सतहमा ल्याइदिएको छ ।
देशभरका घटनाहरूले एउटै संकेत गर्छन्, एमाले नेतृत्वको ‘कमाण्ड’ क्रमशः नेतृत्वको नियन्त्रण बाहिर जादैछ । पार्टीभित्र चरम गुटवन्दी र असन्तुष्टिको मात्रा बढ्दो छ । दलभित्रका गुटगत उठबस र ‘कुन प्यानलमा कसले नाम लेखाउने ?’ भन्ने अड्कलबाजीले वातावरण तातिएको छ । यस्तो अवस्थामा, कार्यकर्ताको मनमा एउटा हीन सवाल घुम्छ- परिवर्तनको संकेत कहाँ छ ?
एमाले महाधिवेशनको सन्निकट आईपुग्दा पुराना नेताहरूले ‘अनुभवको मूल्य’ सम्झाइरहेका छन् भने नयाँ पुस्ताले ‘परिवर्तनको आवश्यकता’ को आवाज उठाईरहेका छन् । तर, अध्यक्ष ओली पक्षधर नेता कार्यकर्ताले फेरि पनि ओली नै एमालेको अध्यक्ष हुनुपर्ने भन्दै पार्टी सत्ताको चर्काे अभ्यास गर्न खोज्दा इतर समुह पार्टीभित्रै पेलिने अवस्था पनि प्रतिनिधि छनौटको संकेतले देखाईरहेको छ ।
एमालेमा फेरि अध्यक्षमा केपी ओली नै तेहेरिने तयारीमा छन् । उनलाई पूर्व राष्टपति विद्या भण्डारीको संरक्षणमा वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलले चुनौती दिन खोजिरहेका छन् । यस रिपोर्टमा एमालेको देशभर प्रतिनिधि छनौटमा देखिएको रोचक घटनाहरूलाई केलाउने कोसिस गरिएको छ ।
कोशीका मुख्यमन्त्रीको सल्लाहकार र स्वकीय नै पराजित
कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका पूर्वका बलियो खम्बा हिक्मत कार्कीको जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव नै महाधिवेशन प्रतिनिधि चयनमा पराजित हुन पुगेका छन् । त्यो पनि दुवै जना तेस्रो स्थानमा मत ल्याउने गरी शर्मानक पराजित भएका हुन् ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी १ बाट महाधिवेशन प्रतिनिधि बन्न चुनावी मैदानमा थिए । तर उनी त्यहाँ पराजित भएका छन् । सुनसरीको क्षेत्र नम्बर १ बाट खनाल युबातर्फको प्रतिनिधि बन्न उम्मेदवार बनेका थिए । तर, त्यहाँ उनलाई दिवस बान्तवा राईले सर्मानक हार चखाएका हुन् । राई ८८७ मतसहित विजयी बन्दा खनालले जम्मा २५९ मत मात्र प्राप्त गरेर तेस्रो भएका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामीले ५१७ मत प्राप्त गरी दोस्रो भएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी फिर्ताको दबाबसहित राजधामीमाथी समेत कुटपिट समेत भएको थियो । उनलाई उम्मेदवारी फिर्ताको कागजमा जबरजस्ती हस्ताक्षरसमेत गराइएको थियो । सो घटना सार्वजनिक भएपछि भने निर्वाचन गरियो । तर, खनालको शर्मानाक हार भयो ।
मुख्यमन्त्री कार्कीका सल्लाहकार मात्र होइन, स्वकीय सचिव समेत पनि महाधिवेशन प्रतिनिधि चयन हुन नसकी पराजित भएका छन् । उनका स्वकीय सचिव कमल पौडेल त झन् एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट युवातर्फ उम्मेदवार भएर पराजित भएका छन् ।
सो पदमा पत्रकार समेत रहेका युवराज पौडयाल विजयी भएका हुन् । पौडेलले ९०६ प्राप्त गरे । मुख्यमन्त्री कार्कीकै गृहनगर गौरादहका बासिन्दा उनका स्वकीय सचिव कमल पौडेलले भने ४९१ मत मात्र प्राप्त गरी तेस्रो भएका छन् । सो पदमा अर्का प्रतिस्पर्धी सुशील राईले ६१७, डेन्जोङ शेर्पाले २२१ र सुजन खरेलले १७४ मत प्राप्त गरेका थिए ।
मकवानपुर एमाले अध्यक्ष महाधिवेशन प्रतिनिधिमै पराजित
एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि चयनको चुनावमा पराजित भएका छन् । जिल्ला अध्यक्ष नै महाधिवेशन प्रतिनिधिमा पराजित भएको उनी मात्रै हुन् । यधपी, उनी निर्वाचन प्रक्रियामा सहभागी हुन भने पाएका थिएनन । केही समय अगाडी सवारी दुर्घटनामा परी पोखरेल घाइते भएका थिए । उनले अस्पतालबाटै वारेशमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयनमा उम्मेदवारी दिएका थिए ।
परशुराम बस्नेतमाथी आक्रमण
महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनावको स्थिति सिर्जना भयो । विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरूबीच झडप र हात हालाहाल भएको थियो ।
विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ । एमाले नेता पर्शुराम बस्नेत आफ्नै कार्यकर्ताबाट आक्रमणमा परेका थिए । उनलाई पार्टी कार्यकर्ताहरुले धकेलाधकेल गरेका थिए । त्यहीक्रममा उनीमाथी हातपात भएको थियो ।
धनकुटामा निर्वाचन बुथमा असन्तुष्ट समूहको तोडफोड र बहिष्कार
महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार मात्रै गरेन निर्वाचन बुथमा तोडफोड गदै मतपत्र नै समेत च्यातिदिएको छ । धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरेर २ वटा समूह छ । इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको छ ।
राई पक्षलाई ९ र पराजुली पक्षलाई ४ जना महाधिवेशन प्रतिनिधि भागवन्डा लगाउने सहमति अघिल्लो साँझ भएको तर भोलिपल्ट राई समुहले पराजुली पक्षलाई थाहै नदिई निर्वाचन गराउन थालेपछिविवाद भएको बताइएको छ ।
होटलको बन्दबोठाबाट प्रतिनिधि छानेको भन्दै सल्यानमा विवाद
सल्यानमा महाधिवेशन प्रतिनिधि छान्दा होटलको बन्दकोठाबाट केही नेताहरुमात्र बसेर चयन गरेको भन्दै विवाद भएको छ । सल्यानले शनिवार ८ जना महाधिवेशन प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको बताएको थियो । तर, असन्तुष्ट पक्षका नेता तथा एमाले सल्यानका सङ्गठित सदस्य घनश्याम पुनले होटलको बन्द कोठामा बसेर एकलौटी प्रतिनिधि चयन गरेको भन्दै असन्त्ुष्टी जनाएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वको कार्यशैलीलाई ‘सङ्गठन र कार्यकर्तामाथिको खुला हमला’ भनेका छन् ।
सल्यान एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला समेत हो । अध्यक्ष शाहले नै गृह जिल्लामा आफू निकट व्यक्तिहरूलाई मात्रै राखेर होटलको बन्दकोठाबाट प्रतिनिधि छानेको असन्तुष्ट पक्षको आरोप छ ।
महासचिव शंकर पोखरेलकै गृहजिल्लाको केन्द्रमा लिखित उजुरी
महासचिव शंकर पोखरेलको गृहजिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको बताएपनि त्यसविरुद्द केन्द्रीय कार्यालयमा लिखित उजुरी दर्ता भएको छ । विधि र प्रक्रियाविपरीत गएर एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।
केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले बताएका छन् ।
त्यसो त महासचिव पोखरेलको निर्देशनका आधारमा भन्दै प्रतिनिधि चयनमा मनलाग्दी गरेको आरोप पनि लागेको छ । क्षेत्र नम्वर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको १२ नम्वर वडाबाट २ जना र बबई गाउँपालिकाबाट २ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा सोही क्षेत्रकै दंगीशरण र शान्तिनगर गाउँपालिबाट १ जना पनि महाधिवेशन प्रतिनिधि नपरेको विषय अहिले विवादमा परेको छ ।
तनहुँ : मतगणनामा कुटपिट, मतपेटिका गायब
तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि छनोटका क्रममा परिस्थिती हिंसात्मक बन्दै गयो। मतगणनाको क्रममा बन्दीपुर गाउँपालिकामा सतप्रतिशत मत आएको भन्दै धाँधलीको आरोप टुँगो लाग्न नपाउँदै मध्यरात कुटपिटसमेत भयो। त्यसक्रममा मतपेटिका नै गायब पारिएको घटना पार्टी इतिहासकै गम्भीर हियालिएकै रूपमा हेरिएको छ।
स्थानीय नेताहरूका अनुसार किसान श्रेष्ठनजिक मानिने घनश्याम देवानले प्रारम्भिक १०० मध्ये १०० मत पाएको देखिँदा अर्को पक्ष आक्रामक बन्यो। मरेका मान्छेको नाममा समेत मतदान गरियो भन्ने आरोपले वातावरण असामान्य बन्यो। मतगणना स्थगित भइसकेपछि जिल्ला अध्यक्ष हरि कँडेलसहितका नेताहरू मतपेटिका राखिएको कोठामै बसेको भन्दै पूर्णबहादुर गुरुङ समूह आक्रामक बनेको र धकेलाधकेल तथा कुटपिट भएको दुवै पक्षका आरोप–प्रत्यारोपमा सुनियो।
मतपेटिका कहाँ लगिएर राखियो, जलाइयो कि फालियो—अझै स्पष्ट छैन। पार्टीभित्र यस घटनाले ‘कमाण्ड संकट’ देखाएको स्थानीय नेताहरू नै स्वीकार्छन्।
बझाङ : दुई सूची, दुई ‘वैध’ प्रतिनिधि
बझाङमा प्रतिनिधि छनोटमा संस्थापन र इतर समूहले आ-आफ्नै सूची सार्वजनिक गरेपछि पार्टीले “दुईवटा आधिकारिक परिणाम” पाएको छ।
निर्वाचन समितिका संयोजक नै इतर पक्षमा गएका आरोपसहित दुबै समूहले आफूहरू नै वैध भएको दाबी गरे।
स्थायी कमिटी सदस्य कर्ण थापा समूह एउटा सूचीमा, जबकि जिल्ला इञ्चार्ज भैरवबहादुर सिंह अर्को सूचीमा छन्। सर्वसम्मतिको प्रयास असफल भएपछि एमाले बझाङ दुई टुक्रामा बाँडिएको छ।
दलितमाथि विभेद : मतदान नै छुट्टै, भोट चल्दैन
एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दलितहरूलाई छुट्टै मतपत्र, छुट्टै मतपेटिका र “दलितले दलितलाई मात्र भोट” भन्ने प्रावधानले सामाजिक रूपमै विभेद संस्थागत गरिएको दलित नेताहरू आरोप लगाउँछन् । पूर्वराष्ट्रिय सभा सदस्य खेम नेपाली भन्छन्, “पानी चलेन, अब भोट पनि चल्दैन—एमालेले दलितलाई झन् दलित बनायो।”
सचिवालयका केही नेताले यो प्रावधान ‘संख्यात्मक समावेशीता’ भन्दै बचाव गरे पनि बहुसंख्यक दलित अगुवाले यसलाई छुवाछुतको आधुनिक रुप भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बैतडी : गुटगत अन्यायले पालिका अध्यक्षको पार्टी परित्याग
बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले प्रतिनिधि छनोटमा आफूमाथि भएको “गुटगत बहिष्कार” भन्दै फेसबुकमै पार्टी परित्याग घोषणा गरे।
उनका अनुसार नेतृत्वमा चाकरी, गुटबन्दी र निरंकुशता चुलिँदै गएको र आफूलाई जानाजानी प्रतिनिधि बन्न नदिने खेल भएको आरोप लगाएका छन् । यो पूर्वमन्त्री समेत रहेका दामोदर भण्डारीको गृहजिल्ला पनि हो ।
लगातार दुई कार्यकाल एमालेबाट गाँउपालिका अध्यक्ष जितेका नेताको यस्तो कदम एमालेलाई अबको चुनावमा ठूलो धक्का लाग्ने देखिएको छ ।
कोशी प्रदेश : दुई प्रदेश सांसद पराजित
एमाले कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई संस्थापन पक्षबाटै उम्मेदवार भए पनि प्रतिनिधि छनोटमै पराजित भए।
यसले आधारभूत संरचना–स्तरमा संस्थापन नेतृत्वप्रति असन्तोष चुलिएको देखाउँछ।
कर्ण थापामाथि दुर्व्यवहार : ‘ओलीको सुरक्षा टोली’ विवादमा
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा च्यासलस्थित पार्टी कार्यालयमै दुर्व्यवहारमा परे।
अध्यक्ष ओलीकै सुरक्षार्थ खटिएका व्यक्तिबाट धकेलाधकेल भएको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र ‘अध्यक्ष वरिपरि गलत समूह हावी’ भएको टिप्पणी बढेको छ।
थापाको भनाइ छ, “यी गलत पृष्ठभूमिका मान्छेले नेताहरूलाई धम्क्याएर अध्यक्षकै बदनाम गराइरहेका छन्।”
विभिन्न जिल्लामा अन्य सांसदहरू समेत पराजित
प्रदेश–जिल्ला तहमा सांसद, अध्यक्ष, महासचिवका नजिकका नेता समेत पराजित भएका छन् । आधारभूत तहमा ‘स्थानीय लोकप्रियता–गुटगत यथार्थ’ बलियो बनेको स्पष्ट संकेतका रुपमा यसलाई हेर्न थालिएको छ।
प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।
निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा घिमिरे १ हजार ९८० मत अन्तरले पराजित भए ।
रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् । महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी हुँदा मल्ल पराजित भएकी हुन् ।
ओलीको राजीनामा माग्ने बौद्धिक परिषद अध्यक्ष पराजित
एमालेको बौद्धिक परिषदमा अध्यक्ष, उपाध्यक्ष महासचिव नै पराजित हुन पुगेका छन्। बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका थिए। उनले पत्र नै पठाएर तत्काल महाधिवेशन सम्भव नभएकाले केन्द्रीय कमिटीबाटै पद हस्तान्तरण गर्न भनेका थिए।
तिनै थपलिया महाधिवेशन प्रतिनिधि नै जित्न सकेनन्। पछिल्लो समय उनी ईश्वर पोखरेलतिर खुलेका थिए। परिषद्का महिला उपाध्यक्ष राधा अधिकारी र महासचिव दिपेन्द्र श्रेष्ठ पनि प्रतिनिधि पराजित भएका छन्।
एमालेको विशेष प्रदेश अन्तर्गतको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरे पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुन सकेनन्। उनी भने ओलीनिकट हुन्।
सिन्धुपाल्चोक जिल्लाका उपाध्यक्ष अर्जुन भण्डारी पनि प्रतिनिधि छानिन सकेनन्।
सिन्धुपाल्चोक–२ मा उनले युवा क्लस्टरबाट उम्मेदवारी हालेका थिए। सिन्धुपाल्चोक–२ मा युवा क्लस्टबाट हिरा चौलागाईं निर्वाचित भए।
आधा प्रतिनिधि पनि आएनन् भोट हाल्न
एमालेमा प्रतिनिधि चयनका लागि ३० भन्दा बढी र सयभन्दा बढी निर्वाचन क्षेत्रमा चुनाव भएको थियो। तर औसतभन्दा निकै कम मत खस्यो।
लम्जुङकै उदाहरण हेरौं- त्यहाँ ५४ सयभन्दा बढी मतदाता रहेकामा १९ मत खस्न पनि कठिन भएको थियो। विशेष प्रदेश अन्तर्गतको उद्योग, व्यवसाय जिल्ला कमिटीमा १४ सयभन्दा बढी मतदाता रहेकामा २०० पनि मत खसेन।
पेशागत जिल्ला कमिटीमा पनि ३६०० मतदातामा ६०० हाराहारी मात्रै मत खसेको थियो। एउटा निर्वाचन क्षेत्र भएका जिल्ला मात्र नभइ काठमाडौं जिल्लामै मत कम खसेको उदाहरण छ। काठमाडौं–३ मा १६०० बढी मतदाता रहेकामा करिब ७०० मत खसेको थियो।
.jpg)
