काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निवास बनाउने काम सुरू भएको छ। भक्तपुरको गुन्डुमा उनी अहिले बस्दै गरेको घरबाट नजिकै उनका लागि निवास बनाउन लागिएको छ ।
कांग्रेसको साथ लिएर झण्डै दुई तिहाई सरकारको नेतृत्व गरिरहेका ओली गत भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राजीनामा दिएर सेनाको हेलिकप्टरको साहारा लिएर भागेका थिए ।
भदौं २३ मा जेनजी आन्दोलनमा राज्यका तर्फबाट नरसंहार मच्चिएपछि भोलिपल्ट आन्दोलन ध्वंसात्मक बनेको थियो । त्यसक्रममा ओलीको भक्तपुर बालकोटस्थित निवास आगजानी भएको थियो । उनी केही दिन सेनाकै सुरक्षा घेराभित्र मकवानपुरको सुपारीटारमा बसेका ओली त्यसपछि भक्तपुरको गुण्डुमा नेता महेश बस्नेतको संरक्षणमा विष्णु श्रेष्ठको घर भाडामा लिएर बस्दै आएका छन्। अहिले बस्नेतकै अगुवाईमा भक्तपुरकै गुण्डुमा ओलीका लागि निवास बनाउने काम सुरू भएको छ ।
ओलीका लागि बनाउन लागिएको आवासलाई ‘ओली कुटी’ नाम दिइएको छ । बिहिबार ओलीका पत्नी राधिका शाक्यले महेश बस्नेत लगायतकै उपस्थितीमा शिलान्यास गरेकी छिन् । एक वर्षभित्र बनाईसक्ने लक्ष्यसहित यो भवनको शिलान्यास गरिएको छ ।
जग्गा खरिद : नाम गोप्य, मूल्य गोप्य, स्रोत पनि गोप्य
महेश बस्नेत लगायत ओली निकटका नेताहरुले ओलीका लागि बनाउन लागिएको निवासलाई ‘कुटी’ नामले स्थापित गर्न खोजेपनि निवास भब्य नै हुनेछ ।
उनका लागि बनाउन लागिएको यो भवन १५ आना तीन पैसा जग्गामा बनाउन लागिएको छ । कुटी नाम दिँदा केही साधारण झल्काए पनि यसले बोकेको भाव भने बिल्कुलै खास छ। ओली नजिकका व्यक्तिहरूका अनुसार, यो आवास आधुनिक बंगला शैलीमै बन्नेछ । नेवारी सांस्कृतिक दर्शन, ग्रामीण जीवनशैली र विविध वास्तुकलाबाट प्रेरित गोलाकार संरचना मा निर्माण हुनेछ।
करीब १५ आना तीन पैसा क्षेत्रफलको जग्गामा निर्माणाधीन कुटी स्थानीय परम्परामा पाइने गोलो आकारलाई आधुनिक प्राविधिक शैलीमा बन्नेछ ।
नेवारी परम्परा र ग्रामीण जीवनशैलीबाट प्रेरित गोलो आकारको भब्य अढाईतले आवास ओलीका लागि बनाइनेछ ।
गुन्डुका एक स्थानीयसँग जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको बताइएपनि जग्गा बेच्ने व्यक्तिको नाम अहिलेसम्म गोप्य राखिएको छ । गुण्डुका एक स्थानीयसँग यो जग्गा किनिएको एमाले नेता महेश बस्नेतले बताएका छन् । तर जग्गा कसबाट कति मूल्यमा किनिएको हो भन्ने विषय अहिले गोप्य राखिएको छ। ‘अनावश्यक राजनीतिक विवादबाट बच्न नाम सार्वजनिक नगरिएको हो’ बस्नेतको भनाई छ ।
खरिद गर्ने ब्यक्तिको नाम र कतिमा खरिद गरिएको, त्यसलाई खरिद गर्दाको आर्थिक स्रोत के थियो, खुलाइएको छैन । पारदर्शीता देखाईएको छैन ।
घर एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बिहिबार घरको शिलान्यास गरिएको छ । करिब एक करोड रुपैयाँ लागतमा घर निर्माण सम्पन्न हुने अनुमान पनि गरिएको छ ।
घर निर्माण स्थानीयकै सहयोगमा !
महेश बस्नेतका अनुसार, ओलीको यो निवास निर्माणमा पनि स्थानीयकै सहयोग हुनेछ । सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको बस्नेतले दावी गरेका छन् । ओली निवास बनाउन बस्नेतले नै अगुवाइ गरिरहेका छन्।
तर यहाँ पनि अस्पष्टताको बाक्लो छायाँ छ । सहयोग गर्ने स्थानीय कस्ता ? उनीहरू एमालेकै सक्रिय कार्यकर्ता हुन्रु या चुनाव र त्यसपछिका राजनीतिक रुपमा फाइदा खोज्ने समूहरु अनि त्यसमा कसका कति रकम सहयोग ? यसबारेमा पनि केही खुलाइएको छैन । जसरी जग्गा खरिद गर्दाका लगानी, खरिद गर्ने स्रोत देखि खरिद कसबाट गरिएको भन्ने विषय गोप्य राखिएको छ, त्यसैगरी निवास निर्माण गर्दा सहयोग गर्नेहरु पनि गोप्य राखिएको छ ।
कस्तो हुन्छ निवास ?
ओलीको राजनीतिक गतिविधि, पारिवारिक बसोबास र पाहुनाको स्वागत, सबैलाई ध्यानमा राखिएर निवास बनाउन लागिएको छ । त्यही अनुसारको डिजाइन पनि गरिएको छ । भवनको भुइँतलामा बैठक कक्ष, प्रतीक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ कक्ष रहने गरी डिजाइन तयार गरिएको छ । भुइँतलामा स्थानीय ढुङ्गा र काठको संयोजन, परम्परागत झ्याल फिनिसिङ र नेवारी शैलीका कलात्मक ढोकाले सांस्कृतिक सौन्दर्य झल्किाउने गरी निर्माण गरिने तयारी छ।
दोस्रो तलामा परिवारका लागि बेडरुम तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट कक्ष रहने छ । तेस्रो तलामा पाहुनाका लागि कोठा, ओलीका लागि अध्ययन कक्ष तथा ‘ग्रिन रुम’का रूपमा उपयोग हुने गरी डिजाइन गरिएको छ ।
त्यस्तै, कौसीमा कौसीखेती गर्ने सुविधा पनि मिलाउने गरी निर्माण गरिएको छ । तरकारी, औषधि–बुटी, सानो बगैँचा र विश्रामस्थल सहित कौशी निर्माण गरिने योजना बनाईएको छ ।
.jpg)
