एमाले महाधिवेशन : ओलीलाई ईश्वरको चुनौती

एमाले महाधिवेशन : ओलीलाई ईश्वरको चुनौती

ओली–पोखरेल प्रतिस्पर्धा केवल पदको लडाइँ होइन। एमालेभित्र नेतृत्व, विधि र व्यक्तिवादको संघर्षबारे विस्तृत फिचर

images
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको बन्दशत्र जारी रहँदा केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको सम्बन्ध फेरि चर्चाको केन्द्रमा छ । कुनै समय एक–अर्काका सबैभन्दा भरोसायोग्य सहयात्री रहेका यी दुई नेता आज एउटै पार्टीभित्र प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा उभिएका छन् । 

    ओली देश संकटमा रहेको र पार्टी घेरावन्दीमा परेकोले त्यसलाई तोड्न आफु अध्यक्ष बन्नुपर्ने अवस्था फेरि आएको भन्दै तेहेरिएर अध्यक्ष बन्ने प्रतिस्पर्धामा छन् भने पोखरेल अब ओलीले अभिभावकको भूमिका निर्वाह गरेर नेतृत्व आफुहरुलाई दिनुपर्ने र पार्टीलाई जेनजी विद्रोहपछिको विकसित राजनीतिक घटनाक्रममा अभ्यस्त बनाउन पनि विधि र पद्दतीमा चलाउनुपर्ने वकालत गरिरहेका छन् । तर न ओलीले पोखरेलको प्रस्ताव मानेका छन्, न पोखेरलले नै ओलीको प्रस्ताव । 
    जसकाकारण अन्ततः भोलि (मंगलबार) हुने नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धा केवल पदको होइन, एमालेभित्रको नेतृत्व संस्कृति र निर्णय पद्धतिको पनि परीक्षा हो ।

    ओली–पोखरेल सम्बन्धको सुरुवात : सहकार्य र विश्वास

    ईश्वर पोखरेल नेकपा एमालेका ती नेतामध्ये पर्छन्, जसले भूमिगत कालदेखि संगठन निर्माणमा निरन्तर काम गरे । निरन्तर एमालेको सस्थापन पक्षमा रहेर उनले जहिल्यै पार्टी नेतृत्वलाई सहयोग पनि पु¥याए । महासचिव र प्रचार विभाग प्रमुखका रूपमा पार्टीलाई संस्थागत बनाउन उनले खेलेको भूमिका एमालेभित्र निर्विवाद मानिन्छ । पछिल्लो समय दशौं महाधिवेशनमा उनी एमालेको ओलीपछिको दोस्रो नेता बरिष्ठ उपाध्यक्ष सम्म बने । 

    २०७१ सालको नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने वातावरण तयार गर्न पोखरेल निर्णायक पात्र बने । प्रतिनिधि छनोटदेखि वैचारिक बहससम्म उनले ओलीलाई “झापा आन्दोलनको नेता” का रूपमा प्रस्तुत गर्दै नेतृत्व परीक्षण हुन दिनुपर्ने तर्क अघि सारे । त्यस महाधिवेशनबाट ओली ४४ मतको अन्तरले अध्यक्ष बने, पोखरेल दोहोरिएर महासचिव । 


    त्यसपछि ओलीको राजनीतिक उचाइ तीव्र गतिमा बढ्यो । त्यो जीत ओलीको व्यक्तिगत थिएन, पोखरेलको रणनीतिक सफलतासमेत थियो ।
    तर सत्ता नजिकिँदै जाँदा समीकरण फेरिन थाल्यो । २०७४ पछि प्रधानमन्त्री बनेका ओली क्रमशः एकल निर्णयकर्ता बन्दै गए । पोखरेल भने मन्त्री भएर पनि निर्णायक वृत्तबाट टाढिँदै गए । ओली प्रधानमन्त्री बनेकै बेला उनले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी चाहेका थिए । तर उनलाई त्यसो हुन दिइएन । मन्त्रालय दिने तर मन्त्रालयको टुंग्गो नलगाई सपथमा बोलाएर ओलीले पोखरेलको मनमा चोट पु¥याए ।


    उपप्रधानमन्त्री नबनाइनु, अर्थ मन्त्रालय नदिनु, अन्ततः २०७७ असोजमा रक्षा मन्त्रालय नै खोसिनु- यी सबैले संकेत गरिरहेका थिए, पोखरेल अब ओलीका लागि अनिवार्य पात्र रहेनन् । ओलीको नेतृत्व शैली क्रमशः एकल निर्णयमुखी बन्दै गयो भने पोखरेल संस्थागत निर्णय र सामूहिक नेतृत्वको पक्षमा उभिए ।

    अझ तत्कालिन एमाले र नेकपा (माओवादी केन्द्र)का बीचमा २०७४ मा वाम गठबन्धन भयो । लगत्तै पार्टी एकतापनि । दुई कम्युनिष्ट पार्टी मिलेर नेकपा गठनपछि सात सदस्यीय सचिवालयमा पोखरेल पारिएनन् । महासचिव रहेका पोखरेल सचिवालयमै नपारिनु उनको राजनीतिक हैसियतलाई झनै कमजोर बनाउने कदम बन्यो । ओलीका लागि कहिल्यै प्रतिस्पर्धी नभएका पोखरेललाई निर्णायक तहबाट बाहिर राख्नु व्यक्तिगत अविश्वासको राजनीतिक अभिव्यक्ति थियो । 


    यसबीच पनि पोखरेल ओलीको पक्षमै उभिए- पार्टी विभाजनको संकटमा, माधव–झलनाथ अलग हुँदा, दशौं महाधिवेशनमा ओलीलाई निर्विरोध अध्यक्ष बनाउन सहयोग गर्दा । ओलीले गरेको नमिठो ब्यवहारका बीच पनि ओलीका सबै अप्ठ्यारा, सप्ठ्यारामा ओलीका सहयात्री नै भएर पोखरेल प्रस्तुत भए ।
    रोचक पक्ष के हो भने, ७० वर्षे उमेर हद, दुई कार्यकालको सीमा, पुस्तान्तरण : यी सबै प्रस्ताव ओलीले नै अघि सारेका थिए र पोखरेल ती प्रस्तावका कट्टर समर्थक थिए । तर सत्ता र लोकप्रियताको शिखरमा पुगेपछि ओली आफैं ती मूल्यबाट पछि हटे । यहीँबाट पोखरेलको असहमति नैतिक प्रश्नमा रूपान्तरित भयो । उनका लागि यो व्यक्तिगत सत्ता आकांक्षा भन्दा पनि “कोही पनि प्रश्नभन्दा माथि छैन” भन्ने सन्देश दिने लडाइँ बन्यो ।


    ओलीले यसबीच पूर्व राष्ट्रपति विधा भण्डारीको सदस्यता नविकरण रोके । उनलाई आफ्नो प्रतिस्पर्धामा आउने देखेपछि ओलीले सदस्यता रोकेको पोखरेललाई चित्त बुझेन । त्यसपछि भने उनी ओलीसँग आफैं भिड्ने सुरमा कस्सिए । एघारौं महाधिवेशनमा पोखरेल ओलीसँगै चुनावी प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार बन्दा धेरै अचम्ममा परे । जीवनभर ‘सेकेन्ड म्यान’ भएर बसेका नेता अचानक नेतृत्वको प्रतिस्पर्धामा उत्रिए ।


    पोखरेल निकट नेताहरुका भनाईमा, यो आकांक्षाको विस्फोट थिएन । यो लामो बेवास्ताको परिणाम थियो । पोखरेलका लागि यो जीत–हारको भन्दा ठूलो सन्देश हो – पार्टीमा कोही पनि प्रश्नभन्दा माथि छैन ।
    अर्कातर्फ ओली यो महाधिवेशनलाई आफ्नो लोकप्रियताको परीक्षणस्थल ठान्छन् । घेराबन्दीको भाष्य तोड्ने अन्तिम अवसर ।

    Oli-with-Ishwor-Pokhrel.jpg


    दुई धार, एउटै इतिहास
    ओली : आक्रामक वक्ता, जनतामा प्रत्यक्ष अपिल गर्ने नेता ।
    पोखरेल : शान्त, संगठनकेन्द्रित, विधि र संरचनामा विश्वास गर्ने पात्र ।

    एकले सत्ता बनायो, अर्कोले पार्टी । एकले नेतृत्व दाबी ग¥यो, अर्कोले नेतृत्व टिकायो । आज उनीहरू प्रतिस्पर्धी छन् । तर उनीहरूको साझा इतिहासले एमालेको वर्तमान संकट उजागर गरेको छ- यो संकट व्यक्ति र पदको होइन, विधि र व्यक्तिवादको द्वन्द्व हो । महाधिवेशन भोलि मतदान भएर टुंगिन्छ । तर प्रश्न बाँकी रहन्छ-  एमाले फेरि संस्थागत पार्टी बन्छ, कि व्यक्तिको करिश्मामा सीमित रहन्छ ?

    त्यसको उत्तर केपी ओली र ईश्वर पोखरेलमध्ये कसले जित्छ भन्नेमा मात्र निर्भर छैन, प्रतिनिधिहरूले कुन राजनीतिक संस्कृतिलाई रोज्छन्, त्यसमै निर्भर छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend