काठमाडौं । नेकपा एमालेले यसपटक कुनै मापदण्ड नबनाई प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको बन्दसूची तयार पार्न लागेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले समानुपातिक तर्फको बन्दसूचीको नाम बुझाउने निर्णय गदै यसका लागि भोलि सोमबार एक चरण छलफल गरेर निर्वाचन आयोगमा सूची बुझाउने निर्णय गरेको छ ।
एघारौं महाधिवेशनपछि निर्वाचित पदाधिकारी (सचिवालय)को पहिलो पटक आइतबार बसेको बैठकले समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए। ‘समानुपातिक सूची समयमै बुझाउने निर्णय भएको छ,’ भट्टले बैठकपछि सञ्चारकर्मीहरुसँग भने।
आइतबार अध्यक्ष ओलीले केही प्रस्तावित नामका बारेमा बैठकलाई जानकारी गराएका थिए । एमालेका एक पदाधिकारीका अनुसार, ओलीले बैठकमा प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराल, महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखिएको छ ।
बराल पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । उनी ओली खेमाबाट महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सचिव अर्याललाई पनि ओलीले समानुपातिकतर्फ राख्ने गरी सूचीमा समेटेका छन् ।
यसपटक सूची बनाउँदा कुनै मापदण्ड नबनाइकन ओलीले आफुखुसी महासचिव शंकर पोखरेलसँग समान्य परामर्श गरेर बन्दसूची तयार पार्न लागेका हुन् । अन्य पार्टीहरु कांग्रेस, रास्वपा लगायत दलले विगतमा समानुपातिक सूचीमा परिसकेका ब्यक्तिलाई यसपटक समानुपातिकको बन्दसूचीमा नराख्नेगरी मापदण्ड बनाएपनि ओलीले एमालेमा भने त्यस्तो मापदण्ड फलो गरेका छैनन ।

यसअघिका निर्वाचनहरूमा एमालेले स्पष्ट मापदण्ड बनाएर उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटी र जिल्ला कमिटीलाई निर्देशन दिने गरेको थियो । यसपालि भने उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटी मात्र होइन, जिल्ला कमिटीको बैठक समेत नराखी नेताहरूले आफूखुसी उम्मेदवार सिफारिस गरिरहेको भन्दै एमालेमा असन्तुष्टि शुरु भईसकेको छ । ओलीले आइतबार प्रस्तुत गरेको बन्दसूचीमा विगतमा समानुपातिक तर्फबाट सांसद बनिसकेका कतिपय नेताहरुको समेत नाम रहेको एमालेका ती पदाधिकारीले बताए ।
ओलीले खुलातर्फ गुरु बरालको नाम एक नम्बरमा राखेपनि इतर पक्षबाट पदाधिकारी निर्वाचित भएका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भटटराईले भने प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न ओलीसँग आग्रह गरेका छन् । पोखरेल अध्यक्ष ओलीसँग एघारौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता हुन् । पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने र पोखरेललाई समानुपातिकको खुल्ला तर्फ एक नम्बरमा नाम समाविष्ट गर्नुपर्ने विष्ट र भट्टराईले तर्क राखेका थिए । योगेश र गोकर्णले भने इश्वर पोखरेलको नाम खुल्ला तर्फको पहिलो नम्बरमा राख्न मात्र आग्रह गरेनन्, उनीहरुले बिन्दा पाण्डे, रचना खड्का, खगेन्द्र राई, टीकाराम भट्टराई, शम्भु थापा, भीमज्वाला राई, पूर्णशोभा चित्रकार, शर्मिला कार्कीलाई समावेश गरेर समानुपातिकको बन्दसूची बनाउन समेत प्रस्ताव गरेका थिए ।
तर ओलीले विष्ट र भट्टराईले तर्कमा कुनै जवाफ दिएका छैनन ।
ओलीले प्रस्ताव गरेका समानुपातिक सूचीको नाममा महिला तर्फ पार्टी सचिव अर्यालसहित शान्ता चौधरी, कोमल वलीहरूको नाम प्रस्ताव गरिएको छ । चौधरी यस अगाडी नै पनि समानुपातिक सूचीबाट सांसद भईसकेका ब्यक्ति हुन् । वली भने राष्ट्रिय सभामा सांसद भएकी थिइन् ।
ओलीले तयार पारेको सूचीमा गोरख बोगटी, अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व अध्यक्ष निरु पाल, मन्जु चौधरी, जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानी लगायतको नाम परेको ती पदाधिकारीले बताए । प्रस्तुत नाममाथि छलफल भएर भोलि अध्यक्षले टुंगो लगाएपछि निर्वाचन आयोगमा पेश गर्ने ती पदाधिकारीले नेपालनजरलाई बताए ।
प्रतिनिधि सभामा रहने २७५ जना सांसदमध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट छनोट हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार ११० जना समानुपातिक उम्मेदवारको नाम सोमबार निर्वाचन आयोगमा पेस गर्नुपर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन आयोगले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार, समानूपातिक सूचीमा सातवटा क्लष्टर हुनेछन् ।
आदिवासी जनजाती, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेद्वार चयन गर्दा कम्तिमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्नेछ ।
पछिल्लो निर्देशिका अनुसार, आदिवासी जनजातीमा २८ दशमलव ७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२८ प्रतिशत, थारुमा ६ दशमलव ५२, दलितमा १३ दशमलव ४४ प्रतिशत उम्मेद्वार छान्नुपर्नेछ ।
त्यसैगरी निर्वाचन आयोगले मधेशीमा १६ दशमलव १५, मुस्लिममा ४ दशमलव ८९ र पिछडिएको क्षेत्रबाट कम्तिमा ४ दशमलव ०२ प्रतिशत उम्मेद्वार छान्नुपर्ने भनेको छ । राजनीतिक दलहरूले कम्तिमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पठाउन पाउनेछन् ।
.jpg)
