काठमाडौं । आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बलियो बहुमतसहितको पार्टी निर्माणका लागि बैकल्पिक राजनीतिक धारका शक्तिहरु एकीकृत हुने क्रम रोकिएको छैन ।
काठमाडौंका मेर बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी बालेनसँग भागवन्डा मिलाएको रास्वपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन आज कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई पनि मिलाएको छ ।
बालेनसँग ७ बुँदे सहमति गरेको रास्वपाले अन्ततः कुलमान घिसिङो उज्यालो नेपालसँग पनि ७ बुँदे सहमति गदै पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेको छ । यस सहमतिसँगै रास्वपाको छातामुनि रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ एउटै ‘चुनावी जेट’मा सवार भएका छन् ।
सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका छन् भने काठमाडौंका मेयर बालेन शाह साक्षी बसेका छन् ।
सहमति अनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् । पार्टीको वरियतामा उनी सभापति रवि लामिछानेपछि दोस्रो स्थानमा रहनेछन् । रास्वपामा अन्य उपसभापतिमा डिपि अर्याल र स्वर्णिम वाग्ले रहेन छन् ।
त्यस्तै, बालेन शाहलाई भावी संसदीय दल नेता तथा प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ । उनलाई पार्टीमा भने तेस्रो वरियतामा रहने गरी कुनै वरिष्ठ नेताको पद सिर्जना गरिने बताइएको छ ।
यसरी हेर्दा, रास्वपाको चुनावी यात्रामा अब तीन प्रभावशाली पात्रहरु रवि, बालेन र कुलमान तीन ‘पाइलट’ बनेर एउटै जेट उडाउने तयारीमा देखिएका छन् ।
सहमतिपत्रमा उल्लेख गरिएअनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, सामाजिक न्याय, योग्यता प्रणाली (मेरिटोक्रेसी), आत्मनिर्भर अर्थतन्त्र र वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने विषय साझा एजेन्डा बनाइएको छ ।
साथै, जनआन्दोलन, जेन–जी आन्दोलन तथा विभिन्न परिवर्तनका क्रममा सहिद भएका नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता जनाइएको छ ।
रास्वपाले उज्यालो नेपाल पार्टीका अभियान, कार्यकर्ता र संरचनालाई पार्टीभित्र समाहित गर्ने तथा आवश्यक समायोजन गर्दै संगठन विस्तार गर्ने सहमति गरेको छ । आगामी निर्वाचन आयोगमा सहमतिलाई औपचारिक रूपमा दर्ता गरिने र चुनावी तयारी संयुक्त रूपमा अघि बढाइने उल्लेख छ ।
रास्वपाको नेतृत्व रवि लामिछानेले सम्हाल्ने, नीति–रणनीतिमा बालेन शाहको प्रभाव देखिने र सुशासन तथा ऊर्जा–प्रशासन सुधारको एजेन्डामा कुलमान घिसिङको छवि जोडिने भएपछि यो सहकार्यलाई ‘नयाँ राजनीतिक प्रयोग’का रूपमा हेरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार एउटै जेटमा तीन पाइलट हुनु अवसर पनि हो र चुनौती पनि । सहकार्य सफल भए वैकल्पिक राजनीतिक शक्तिका लागि ठूलो छलाङ हुन सक्छ, असफल भए आन्तरिक समन्वयकै प्रश्न उठ्न सक्छ ।
यद्यपि, चुनाव नजिकिँदै जाँदा रास्वपाको यो कदमले पुराना दलहरूलाई थप दबाबमा पारेको छ ।
यस्तो छ रास्वपा र कुलमानको पार्टीवीच भएको सहमतिपत्र
.jpg)
