काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी जेनजी आन्दोलनपछि सरकारबाट हटेका एमाले अध्यष केपी ओलीसँगको भेटवार्तापछि आइतबार साँझ नयाँ दिल्ली पुगेका हुन् । आगामी फागुन २१ को निर्वाचनको सम्मुखमा प्रचण्ड दिल्ली पुगेका हुन् ।
यधपी प्रचण्डको यो भ्रमण यसपटक भारतीय नेताहरुसँगको भेटवार्ता र निम्तोमा भन्दा पनि नेपाली कम्युनिष्ट पार्टीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुने उदेश्यले भएको हो ।
नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा प्रचण्ड सहभागी हुने उनको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए ।
संयोजक प्रचण्डले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । उनी भोली सोमबार साँझ नै नेपाल फर्कने कार्यक्रम छ ।
.jpg)
