हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ भएको टाटा सुमो दुर्घटनाका मृतकमध्ये चार जनाको पहिचान खुलेको छ । अन्य दुई जनाको भने अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १ सय मिटर तल खोल्सामा खस्दा ६ जनाको मृत्यु भएको थियो। सुमोमा ९ जना सवार रहेका थिए । जसमध्ये दुई जनाको अवस्था गम्भिर छ । एक जनाको भने सामान्य अवस्था रहेको प्रहरीको भनाई छ ।
पहिचान भएका मृतकहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार र भारत बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनीस कुमार रहेका छन् ।
मृत्यु भएकामध्येका अन्य दुई जना पुरुष छन् । उनीहरुको भने पहचिान खुलन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अन्दाजी ३५-३६ वर्ष र ४०-४१ वर्ष उमेरका दुई पुरुषको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ।
अन्य एक घाइते २१ वर्षीया रिचा चौधरीको अवस्था सामान्य सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।
.jpg)
