काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन मागकर्ता नेताहरुले पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताए । साथै उनीहरुले विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरे ।
वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरुको ठहर छ ।
पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशतअर्थात् २,४८८ जनाले गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गराएका थिए ।
विधानको धारा १७(१) अनुसार गत मङ्सिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट उल्लेख गरेको भए पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको उनीहरुको भनाइ छ ।
.jpg)
