काठमाडौं । राजनीतिमा कहिलेकाहीँ यात्रा गन्तव्यभन्दा फरक हुन्छ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईको पछिल्लो गोरखा यात्रा पनि त्यस्तै बन्यो ।
२०८२ माघ ४ गते बाबुराम गृहजिल्ला गोरखा पुगे । त्यो अचानकको यात्रा थिएन । गोरखा जानु अघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू रवि लामिछाने, बालेन शाह, स्वर्णिम वाग्ले लगायतसँग छलफल गरेर गोरखा पुगेका थिए । संसदमा ‘तपाईं आवश्यक पर्न सक्नुहुन्छ है’ भन्ने आश्वासन पनि रास्वपाका नेताहरुबाट भट्टराईले पाएका थिए । त्यसैले होला, गोरखाको माटो टेक्दा उनको स्वरमा आत्मविश्वास मिसिएको थियो ।
प्रलोपाका नेता जनार्दनसँग पनि आफु चुनाव लड्ने बारेमा उनले कुरा गरे । गोरखा–१० छेवेटारमा अगुवा कार्यकर्ता भेला राखे, अनि उनै अगुवाहरुको सुझावका आधारमा आफु उम्मेदवार बन्ने तयारीमा रहेको बताए ।
माघ ५ गते पत्रकार सम्मेलन गरेर भटट्राईले गोरखा–२ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार हुने घोषणा गरे । त्यसबेला बाबुरामलाई लागेको थियो –रास्वपा आफ्नो साथमा उभिनेछ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षकका रूपमा उनले सोही पार्टीबाट उम्मेदवारी दिए । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग उनले दाबी गरे-रास्वपाले आफूलाई समर्थन गर्नेछ ।
तर, मैदानमा अर्को चित्र बनिरहेको थियो ।
रास्वपाले गोरखा–२ मा आफ्नै महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइसकेको थियो । बुर्लाकोटी त्यही व्यक्ति हुन्, जसले २०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए र प्रचण्डका निकटतम् प्रतिद्दन्द्दी बनेका थिए । बाबुराम भने काठमाडौंमा रास्वपा नेताहरुले दिएको वचन, नयाँ शक्तिहरुको ‘अभिभावक’ का रुपमा आफुलाई साथ दिएर बुर्लाकोटी फिर्ता हुनेछन् भन्ने ढुक्क अवस्थामा देखिन्थे ।
उम्मेदवारी दर्तापछि भटट्राईले सञ्चारकर्मीहरुसँग भनेका थिए, – ‘रास्वपाका साथीहरुले हाम्रो अभिभावक तपाईँ नै हो भन्ने गर्नुहुन्छ । तपाइँजस्तो अभिभावक प्रतिनिधिसभामा हुनुपर्छ भन्ने कुरा गर्नुभएको छ । मलाई त सबै पक्षका साथीहरुले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ ।’
उम्मेदवारी दर्तापछि पनि हौसिएका बाबुराम नेता, कार्यकर्ता र मतदातासम्म पुगे । उम्मेदवारी दर्ताको भोलिपल्टै गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर (गोरखा दरवार) पुगेर गोरखनाथको प्रसाद (रोट) ग्रहण गरे । आफ्नो आधिकारिक फेसबुक पेजमार्फत तस्बिरहरू सार्वजनिक गर्दै डा भट्टराईले लेखे, “गोरखा९२ निर्वाचन अभियानको क्रममा गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण ! ”
धार्मिक आस्थासँगै राजनीतिक वातावरण बनाउने भटट्राईको प्रयत्न धेरै टिकेन । त्यसपछि उनी थप आफ्नो लागि वातावरण बनाउन काठमाडौं हान्निए -रास्वपाको साथ पक्का गर्ने अन्तिम प्रयासका लागि । उम्मेदवारी फिर्ताको समय नजिकिँदै जाँदा रास्वपाको ढोका बन्द हुँदै गयो । महामन्त्री बुर्लाकोटी फिर्ता हुन नसक्ने जवाफ भटट्राईले पाए । उल्टै बाबुरामलाई नै उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवारलाई सहयोग गर्न र ‘अभिभावक’ भएर बस्न रास्वपाबाट प्रस्ताव गरियो ।
भावी राष्टपतिको ललिपपमा भटटराईलाई रास्वपाले फेरि भुलाउने काम गरेको बताइन्छ । रास्वपा तयार नभएपछि उनी नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेलाई फिर्ता गराउन लगाएर आफु आधिकारिक हुने कोसिसमा पनि लागे । तर नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै जवाफ दिएनन । लेखनाथले आफु धेरै अगाडी बढिसकेको भन्दै अब फिर्ता हुन नसक्ने जवाफ निर्वाचन क्षेत्रबाटै फर्काईदिए । त्यसपछि भने बाबुराम उम्मेदवारी फिर्ता लिँदै पछि हटेका हुन्, रास्वपातिर झुकाव देखाउँदै ।
उम्मेदवारी फिर्तापछि फेसबुक लाइभमार्फत भट्टराईले निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको जिकिर गरेका छन् । भटट्राईले भने, ‘मुलक तीब्र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु जरुरुत छ, यस्तो अवस्थामा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबै साथीको चाहना बमोजिम बाहिर रहेर दलहरुलाई सघाउने, आवश्यक पर्दा देशको विभिन्न रुपको अभिभाव बन्नु उपयुत्त हुन्छ भन्ने ठानेर उम्मेदवारी फिर्ता लिए ।’ तर यथार्थ त्यति सरल थिएन ।
रास्वपाको अभिभावक (नेता) बन्ने भित्री आकांक्षा बाबुराममा छ । तर भटटराईलाई नचिढाउने र पार्टीमा नभित्राउने अभियानमा रास्वपा देखिन्छ । सोही आधारमा भटटराईलाई रास्वपाले अभिभावकको पगरी मात्रै गुथाएर अल्झाउने काम गरिरहेको भटट्राई निकटहरुकै आशंका छ । भटटराई रास्वपासँग नजिकिन अनेक कोसिसमा छन्, तर रास्वपाले उनलाई ‘युज’ मात्र गरिरहेको तथ्यहरुले देखिन्छ ।
भटटराई निकटकै एक नेता भन्छन्, ‘उहाँ (भटट्राई) लाई तपाई संसदमा हामीहरुको अभिभावक बन्नुपर्छ की भनेर सुरुमा रास्वपाबाटै चुनाव लड्न उक्साउने काम भयो, तर पछि बुर्लाकोटीलाई अगाडी सारेर समर्थन दिन रास्वपाले चाहेन, अहिले फेरि बाबुराम उठ्दा रास्वपालाई घाटा लाग्ने देखेपछि रास्वपाले भटटराईको साथ आफुलाई हुने सन्देश दिन खोज्यो, त्यसका लागि बालेनलाई भावी प्रधानमन्त्री भनेजस्तै भित्री रुपमा भोलिको राष्टपतिको कार्ड रास्वपाले फयाकेको छ । डा भटटराई त्यसैमा लोभिनुभएको देखिन्छ । ’
यसलाई भटट्राईले पनि घुमाउरै शैलीमा स्वीकारेको देखिन्छ । ‘अग्रगामी दलले चाहे अनुसार नै सहयोग गर्न लागिरहने प्रतिवद्धता जनाउँछु,’ भटटराईले उम्मेदवारी फिर्ता पछि भने, ‘भोली बन्ने सकारलाई विभन्न ढंगले सल्लाह सझाव दिएर भूमिका निर्वाह गर्दा पनि उपयुक्त हुने लागेर उम्मेदवारी फिर्ता लिएको हुँ । ’
उम्मेदवारी फिर्ताका क्रममा बाबुरामले जनार्दन शर्मा लगायत प्रलोपाका नेताहरुसँग खास संवाद नै गरेनन । जसले जनार्दन र बाबुरामका बीचमा पनि अहिले अघोषित दरार छ । कुनै संवाद नगरी उम्मेदवारी फिर्ता लिएको प्रलोपा नेताहरूको गुनासो छ । प्रलोपाबाट टिकट लिएर उम्मेदवारी दर्ता गर्ने र फिर्ता लिँदा पार्टीसँग संवादसमेत नगर्नु राजनीतिक चरित्र नभएको टिप्पणी जनार्दनहरुले बाबुराममाथी लगाएका छन् ।
बाबुरामले उम्मेदवारी फिर्ता लिँदा पार्टीमा छलफल नभएको तर्फ संकेत गदै जनार्दन शर्माका भाई अनिल शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफु जित्न कोशिस गर्नु त राम्रो कुरा हो । तर प्रतिस्पर्धामा उत्रिएर हार देखि भाग्नु एक रति पनि लोकतान्त्रिक कदम मान्न सकिदैन । वहाना जेसुकै बनाए पनि । हामी आफ्नो भरमा उभिन्छौ । जे सक्छौ यहि गर्छौ ।’
बाबुरामले भने आफू प्रलोपा को पार्टी सदस्य नै नरहेको र सबै वैकल्पिक शक्तिको अभिभावक भएको दाबी गरेर ढाकछोप गर्न खोजिरहेका छन् ।
बाबुराम -रास्वपा कनेक्सन
२०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको अप्रत्याशित उदयपछि बाबुराम भटटराई रास्वपा र रवि लामिछानेसँग नजिक हुन चाहे । उनले सुरु देखि ने आफुले थालेको वैकल्पिक राजनीतिक शक्तिको जन्मभएको भन्दै रास्वपासँग हिमचिम बढाएका थिए ।
लगतै २०८० असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा, नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको र त्यसक्रममा रास्वपा यसरी अगाडि आएको भन्दै खुसी ब्यक्त गरेका थिए ।
त्यसबेला उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष थिए । उनले त्यहाँ ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने दाबी गरेका थिए । कांग्रेस, एमाले माओवादी नआउने भन्दै बाबुरामले भनेका थिए, ‘उनीहरु आउँदैनन्, उनीहरु बाहेकको सरकार बन्छ ।’
२०८१ को रास्वपाको स्थापना दिवसमा आयोजित चियापनमा फेरि बाबुराम पुगे । त्यसबेला भने रास्वपालाई पुराना शक्तिहरूसँग धेरै नजिक हुँदा आफैँलाई नोक्सान गर्ने भन्दै धेरै नजिक नहुन भट्टराईले सुझाव दिए ।
‘पुराना शक्तिहरूसँगको सहकार्यलाई ट्याक्टिस, तत्कालको कार्यनीतिको रूपमा लिनुपर्छ । वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चै विकल्प दिनका निम्ति स्ट्राटेजी ९रणनीति० बनाउनुपर्छ । यसमा सन्तुलन भयो भने ठीक हुन्छ, नत्र पुराना शक्तिहरूसँग नै बढी लसपस गर्न थालियो भने त्यसले स्ट्राटेजीमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।’ भटट्राईले भने ।
रवि लामिछाने जेलमा रहेका बेला रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी हुन पनि बाबुराम रास्वपाको पार्टी कार्यालयमै पुगेका थिए, २०८२ असार १४ गते । त्यसबेला उनी नयाँ शक्ति पार्टी ९नेसपा० का अध्यक्ष थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाए ।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर डा. भट्टराईले अभियानमा हस्ताक्षर गर्दै समर्थन जनाएका थिए । रास्वपाले असार ७ गतेदेखि अध्यक्ष रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान थालेको थियो ।
जब गत भदौं २३ र २४ मा जेनजी विद्रोह भयो, त्यसपछि पनि उनी अब बैकल्पिक शक्तिहरु एक हुनुपर्ने पक्षमा उभिए । २०८२ कात्तिक १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको कार्यक्रममा पुगेर रविलाई जेलबाट जसरी पनि निकाल्नु पर्ने र वैकल्पिक शक्तिहरु एक हुनुपर्ने धारणा राखे ।
‘उहाँ (रवि) अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’ बाबुरामले भने ।
त्यसपछि रास्वपा र बालेन शाहबीचको एकतालाई उनले खुलेरै सहयोग गरे । बालेन शाहसँग भेटघाट गरे । शुक्रबार गोरखामा रास्वपाका नेता कविन्द्र बुर्लाकोटीको उम्मेदवारी फिर्ता गराउन बालेनलाई प्रयोग गर्नसम्म खोजे । तर नसकेपछि आफैं पछि हटे । तर फेरि उनले बैकल्पिक युवाहरुको आवश्यकता रहेको र त्यसमा साथ दिने बताए ।
बाबुरामको राजनीतिक उछालका सबै घटनाक्रमले भन्छ – रास्वपाले बाबुरामलाई खोजेको हो कि, बाबुरामले रास्वपामा शरण खोजेका हुन् ?
.jpg)
