प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारसँग सार्वजनिक बहसका लागि ओली तयार

प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारसँग सार्वजनिक बहसका लागि ओली तयार

यदि केपी ओली तयार हो भने अब बल बालेन शाह र गगन थापाको कोर्टमा छ

images
शनिवार, माघ ११ २०८२
  • काठमाडौं । झापाबाट हस्याङफस्याङ गदैं पार्टी मुख्यालय च्यासल ललितपुर पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सञ्चारकर्मीहरुको एउटा अप्रत्याशित प्रश्नको सामना गर्नुपरयो । प्रश्न थियो - बालेन शाह, गगन थापाहरुसँग सार्वजनिक संवादका लागि तपाईं तयार हो ?
    अमेरिकामा राष्ट्रपतिको चुनाव भन्नासाथ उम्मेदवारबीच हुने Presidential Debate अनिवार्य जस्तै मानिन्छ। टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुने यी बहसमा उम्मेदवारहरूले अर्थतन्त्र, विदेश नीति, शिक्षा, स्वास्थ्य, सुरक्षा, आप्रवासन जस्ता विषयमा स्पष्ट धारणा राख्नुपर्छ।
    बहसको उद्देश्य एक-अर्कालाई होच्याउनु होइन, मतदातालाई उम्मेदवारको सोच, क्षमता र नेतृत्व शैली बुझाउने हो। कतिपय चुनावमा त एकै बहसले चुनावी माहोल नै उल्ट्याइदिएको उदाहरण पनि छन्।

    नेपालमा पनि फागुन २१ को चुनाव पछि मुख्य तीन दलले औपचारिक निर्णय गरेर नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् । कांग्रेसबाट गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाह र एमालेबाट अध्यक्ष केपी ओली । औपचारिक प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावी अभियानमा होमिएका यी तीन पार्टी बाहेक पनि नेपाली कम्युष्टि पार्टीले पुष्पकमल दाहाल (प्रचण्ड), उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङ र श्रम सस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी चुनावी अभियानमा छन् । 

    पार्टीहरुले भावी प्रधानमन्त्रीका रुपमा नामै प्रस्तावित गरेर चुनावमा जान थालेपछि नेपालमा पनि अमेरिकामा जस्तै प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारका बीचमा सार्वजनिक बहस गनुपर्ने आवाज उठिरहेका बेला ओलीले शनिबार पार्टी केन्द्रीय कार्यालयमा एक जना पत्रकारबाट त्यस्तै प्रश्नको सामना गर्नुपरयो । 

    नेपालमा अहिलेसम्म प्रधानमन्त्रीका उम्मेदवारबीच प्रत्यक्ष बहसको अभ्यास छैन। नेपालको संसदीय राजनीतिमा चुनाव भनेको अहिलेसम्म पनि पार्टी, झण्डा र चिन्ह केन्द्रित प्रतिस्पर्धा रहँदै आएको छ। मतदाताले प्रधानमन्त्री कसलाई चाहन्छन् भन्ने प्रश्नभन्दा “कुन पार्टीलाई भोट हाल्ने” भन्ने प्रश्न नै निर्णायक बन्दै आएको छ। यही मेसोमा मुख्य दलहरुले प्रधानमन्त्रीकै उम्मेदवार प्रस्तावित गरेर मतदाता कहाँ मत माग्न पुगेपछि त्यस्ता उम्मेदवारका बीचमा सार्वजनिक बहसको विषय उठेको हो । 
    शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले यही विषयमा प्रश्न गरे- प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस हुन सक्छ कि सक्दैन ? तपाई तयार हो ?
    ओलीको जवाफ स्पष्ट थियो। “प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूको बीचमा संवाद कार्यक्रम राख्नुस्, एउटा पब्लिक डिबेट, ओपन लाइभ गर्न आवश्यक छ। किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने ? यी कुराहरू त छलफल हुनै पर्छ।”

    त्यसपछि पत्रकारले पुनः ओलीलाई सोधे- “त्यसो भए हजुर तयार हो ? ” ओलीले छोटो तर निर्णायक उत्तर दिए- “बिल्कुल।”
    ओलीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। यदि ओली तयार छन् भने, बालेन शाह र गगन थापा तयार हुन्छन् कि हुँदैनन्  ? यही प्रश्नले अब चुनावी बहसलाई थप रोचक बनाएको छ।

    बहस भयो भने के बदलिन्छ ? 
    प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस भयो भने यसको प्रभाव बहुआयामिक हुन सक्छ। पहिलो, व्यक्तिगत नेतृत्वको मूल्याङ्कन हुनेछ। पार्टीको छायाभन्दा बाहिर आएर उम्मेदवार आफैंले जवाफ दिनुपर्नेछ।
    दोस्रो, नारा र भावनाभन्दा नीतिमा प्रतिस्पर्धा हुनेछ। “देश बनाउँछु” भन्ने सामान्य वाक्यभन्दा “कसरी बनाउँछु” भन्ने प्रश्न निर्णायक बन्नेछ।
    तेस्रो, युवा र अनिर्णीत मतदाता आकर्षित हुन सक्छन्। सामाजिक सञ्जालमा हुर्किएको पुस्ताले प्रत्यक्ष बहसलाई गम्भीर रूपमा लिने सम्भावना उच्च छ।

    तर ओली आफैं पत्रकारको प्रश्नको जवाफका लागि मात्रै तयार भएका हुन् या साच्चिकै तयार छन् ? त्यो भने उनका आगामी दिनका कार्यले देखाउँलान् । यदि ओली तयार हो भने ओलीको “बिल्कुल” भन्ने जवाफले ढोका खोलेको छ। अब बल बालेन शाह र गगन थापाको कोर्टमा छ। यदि उनीहरू पनि तयार भए भने नेपालमा पहिलो पटक चुनावअघि प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस हुने सम्भावना हुन्छ । 

    तर बहस सहज छैन। दलहरू अझै पनि चुनावलाई सामूहिक शक्तिको खेल ठान्छन्, व्यक्तिगत जोखिम लिन हिच्किचाउँछन्। असहज प्रश्न, विगतका निर्णय, भ्रष्टाचारका आरोप, कार्यकालका कमजोरी, यी सबै सामना गर्नुपर्ने डर यस्ता सार्वजनिक बहसमा स्वाभाविक रुपमा देखा पर्छन् । 

    जसकाकारण कथनीमा नेताहरुले त्यस्तो स्वीकारोक्ति सार्वजनिक खपतका लागि गर्न चाहेपनि करणीमा भने स्वीकार्न तयार छन् जस्तो देखिदैन । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend