दमक । काठमाडौँको कोलाहल, महानगरको सत्ता सबै केही समय थन्क्याएर जब राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह झापाको चुनावी मैदानमा उत्रिए, धेरैले यसलाई साहसिक कदम मात्र होइन, दुस्साहस ठाने । देशब्यापी रास्वपाको लहर चलिरहेका बेला रास्वपाबाटै भावी प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार बालेन शाहले सहज जित निकाल्ने चुनावी क्षेत्र नरोजेर किन झापा- ५ मै चुनाव लड्न पुगे ? धेरैको मनमा उठेको प्रश्न हो यो ।
झापा- ५ जहाँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक विरासत गहिरो गरी गाडिएको छ । संगठनात्मक रुपमा बलियो पकड छ । त्यही मैदानमा बालेनको उपस्थितिलाई उनका आलोचकले ‘टुरिस्ट राजनीति’ को नाम दिए । अझ शनिबार त ओलीले काठमाडौंबाटै बालेनलाई लक्षित गदै आफु को हो, कहाँबाट आएको हो, के गर्न आएको हो, केही थाहा छैन, ठूटे सिङ लिएर सिंगौरी खेल्न आईपुगेका छन् भन्दै ब्याङग्य कसिरहँदा बालेन भने झापामा ओलीलाई नै पराजित गरेर ढुक्कले चुनावपछि देशको प्रधानमन्त्री बन्ने ठोकुवा गरिरहेकै छन् ।
ओलीले २०४८ सालदेखि चुनाव लड्दै आएको झापा ५ मा बालेन जुध्न किन आए ? प्रश्न सबैको मुखमा झुन्डिएकै छ । केही न केही सम्भाबना नभई बालेन झापा नझरेको बुझाईमा झापा- ५ का मतदाताहरु यतिवेला देखिन्छन् । राजनीति सधैं अंकगणित र भूगोल मात्र हुँदैन ।
कहिलेकाहीँ यसलाई सम्बन्ध, स्मृति र भावनाको अदृश्य धागोले समेत बाँधिदिन्छ । बालेनको झापा- ५ सँग त्यस्तै सम्वन्धले काम गरेको उनका समर्थकहरु बताउँछन् । झापा- ५ को भूगोल, मतदातासँग त्यही धागो बनेर देखा परेकी छन् - सविना काफ्ले ।
बालेन शाहकी पत्नी र, उर्लाबारीकी छोरी ।
गत माघ १२ देखि सविना काफ्ले झापा-५ का टोल-टोलमा देखिन थालिन् । यो समाचार तयार पार्दासम्म उनी झापा ५ मै छिन् । बालेन शाह सुदूरपश्चिमतिर चुनावी दौडाहामा निस्केका बेला उनकी पत्नी सविना भने माइती माटोमा उभिएर श्रीमान (बालेन)का लागि मत मागिरहेकी छन् ।
यो दृश्य साधारण राजनीतिक घरदैलोभन्दा फरक देखिन्छ । सविनाले अगुवाई गरेको बालेनको चुनावी घरदैलोमा न ठूलो भाषण छ, न माइक, न नाराबाजी । छ त केवल सविनाको मुस्कान, स्पर्श र आत्मीयता ।
झापा-मोरङ सीमाको उर्लाबारी, जहाँ सविनाको बाल्यकाल बित्यो, आज त्यही ठाउँ उनको चुनावी मैदान बनेको छ । उनी मत माग्न आएको उम्मेदवारकी पत्नी मात्र होइनन्, उनी त्यही माटोमा हुर्किएकी चेली हुन् । सो कुराको पुष्टि उनी आफैले उर्लाबारीको तोरीबारी, विगतका स्मृति फेसबुकमा पोस्ट गदै गरेकी छिन् ।
घरदैलोको बीचमा सविनाले फेसबुकमा एउटा भिडियो पोस्ट गरिन्, तोरीबारीमा हिँड्दै गरेको । त्यससँगै उनले विगत सम्झदै भावुक स्टाटस पनि लेखिन् । ‘म जन्मिएको गाउँ वरिपरि घुम्दा लाग्छ, म आफ्नो जीवनको पहिलो पृष्ठमा फर्किरहेकी छु...यी खेतहरूले मेरा पाइला चिन्छन्, यी रूखहरूले मलाई बढ्दै गरेको देखेका छन्..’
बालेन पत्नीको यो कुनै चुनावी नारा थिएन । उनको स्मृतिको स्वीकारोक्ति थियो । राजनीतिमा कमै देखिने यस्तो भावनात्मक स्वीकारोक्तिले झापा- ५ को चुनावी माहोललाई थप रोचक बनाईदिएको छ ।
अघिपछि उनीसँग काठमाडौं बाटै पुगेका केही सहयोगी छन् । उनी जव घरदैलोमा निस्कन्छिन्, त्यसपछि रास्वपाका थप नेता- कार्यकर्ता उनीसँगै मिसिन पुग्छन् । त्यसपछि उनले पनि बालेनकै शैली पछ्याएकी छिन्, कम बोल्ने, मतदाताका अगाडी मुसुक्क हास्ने र बालेनका लागि मत माग्ने । झापा–५ का टोलहरू पाणिनी स्कुलदेखि नौभाइ चोकसम्म सविनाको उपस्थितिमा यस्तै दृश्य देखिएका छन् ।
उनी धेरै बोल्दिनन्, न भाषण गर्छिन् । उनी वृद्ध आमाहरूको हात समाउँछिन् । ढोग्छिन्, अंकमाल गर्छिन् । बालेनको श्रीमती भनेपछि उनलाई झापा ५ का कतिपय मतदाताले हातमा फूल दिन्छन् । कतिपय फोटो खिचाउँछन्, कतिपयले आशीर्वाद दिन्छन् । उनको घरदैलो हेर्दा लाग्छ, उनी आफैं उम्मेदवार हुन् । जसरी बालेनले काठमाडौंको मेयर चुनाव लडिरहँदा मतदाताकाहाँ घरदैलो गरेका थिए, त्यही शैलीमा उनको पत्नी सविना झापा ५ मा अहिले दौडिरहेकी छिन् ।
उनी बढी भावनात्मक हुन खोज्छिन् । आफैं माइतीघर आएको महसुस गर्छिन् र सोही अनुसारका भावना साटासाट गर्छिन् । श्रीमान जिताउन सविनाले गरेको यो घरदैलो र सक्रियता हेर्दा लाग्छ, यो कुनै राजनीतिक ¥याली होइन । बरु, वर्षौंपछि माइती फर्किएकी चेलीलाई गाउँलेहरूले स्वागत गरिरहेका छन् ।
‘टुरिस्ट’ को व्यंग्य र गुइँठाको जवाफ
केही दिनअघि केपी ओलीले एक अन्तर्वार्तामा बालेनको झापा आगमनलाई व्यंग्य गर्दै भनेका थिए, ‘दमक सफा र व्यवस्थित सहर हो... उहाँ त्यो कल्चरबाट आएको मान्छे, यहाँ गुइँठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ, थाहा छैन ।’
यो भनाइले ओली सामाजिक सञ्जालमा चर्को आलोचनाको विषय बन्न पुगे । त्यसैको प्रतीकात्मक जवाफ झापा- ५ मै आयो । एक मतदाताले सविनालाई गोबर र भुसले बनेको गुइँठा उपहार दिएर । सविनाले त्यसको तस्बिर पनि फेसबुकमा पोस्ट गर्दै लेखिन्, ‘झापा- ५ घुम्दै गर्दा पाएको अमूल्य उपहार ।’
राजनीतिक कटाक्षलाई शान्त मुस्कानले फर्काइएको यो दृश्य अहिले झापा- ५ को चुनावी गफको केन्द्र बनेको छ ।
‘उर्लाबारीको ज्वाइँ’ बालेन
ओलीले बालेनलाई झापामा डेरा नपाए आफुले खोजिदिने पनि बताएका थिए । झापामै उम्मेदवार रहेका अन्य नेताहरुले उनी टुरिष्ट उम्मेदवार भएको आरोप पनि लगाईरहेकै छन् । तर केहीदिन यता भने बालेन झापामा टुरिष्ट होइन, ससुराली आएको रुपमा बुझन थालेका छन् । जसको भेद उनकै श्रीमती सविनाले उर्लाबारीको छोरी भएको खुलाईदिइन् ।
त्यसपछि भने झापामा नयाँ मोड आएको छ । झापा-५ मा अहिले एउटा रोचक परिवर्तन देखिन्छ । बालेनलाई यहाँ ‘काठमाडौँको मेयर’ भन्दा पनि ‘उर्लाबारीको ज्वाइँ’ भनेर चिनिन थालिएको छ ।
रास्वपाका कार्यकर्ताहरू मतदातासँग भन्न थालेका छन्, ‘उहाँ (बालेन) तपाईंहरूकै चेलीको श्रीमान हो ।’ मतदाताहरू पनि हाँस्दै जवाफ फर्काउन थालेका छन्, ‘के को टुरिस्ट हुनु त, ज्वाइँ त आफ्नै हो नि ! ओली बा त हाम्रै हुन्, तर ज्वाइँलाई खाली हात कसरी पठाउनु ?’
.jpg)
