काठमाडौं । २०७९ को स्थानीय तह चुनावमा काठमाडौंमा अप्रत्यासित नतिजाका साथ मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले चुनाव जिते । समय छोटो थियो, लगत्तै प्रतिनिधिसभा चुनाव लड्ने गरी सञ्चारकर्मी रहेका रवि लामिछानेले पार्टी खोले – राष्ट्रिय स्वतन्त्र पार्टी ।
त्यही रास्वपाले छोटो तयारी र मुख्य दलहरु कांग्रेस, एमाले, माओवादीप्रति मतदातामा बढ्दो असन्तुष्टिको फाइदा लियो । बैकल्पिक राजनीतिक शक्तिका रुपमा रास्वपा प्रत्यक्षमा ७ र समानुपतिकमा झण्डै झण्डै माओवादीकै हाराहारी मत ल्याएर संसदमा चौथो दल बन्यो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनले काठमाडौं उपत्यकाको राजनीतिक नक्सामा नयाँ रंग भरेको थियो । दशकौँदेखि नेपाली कांग्रेस र नेकपा एमालेको बलियो पकड मानिँदै आएको उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित शक्तिका रूपमा उदायो । काठमाडौं र ललितपुरका मतदाताले पुराना दलप्रति असन्तुष्टि पोख्दै नयाँ विकल्पको खोजी गरे, जसको प्रतिफलस्वरूप रास्वपाले उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्रमा ऐतिहासिक जित हात पार्यो ।
प्रत्यक्षमा जितेका ७ मध्ये रास्वपाले काठमाडौं उपत्यकाकै ५ र चितवनमा २ सिट चुनाव जितेको थियो । पछि उपचुनावमा तनहुँ पनि रास्वपाले जित आफनो खातामा थप गरेको थियो । रास्वपाले गत चुनावमा काठमाडौंको ४ र ललितपुरको एक निर्वाचन क्षेत्र चुनाव जितेको थियो । उपत्यकाको १५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५ वटा निर्वाचन क्षेत्रमा चुनाव जितेको हो ।
ललितपुर ३, काठमाडौं २, ६, ७ र ८ निर्वाचन क्षेत्र रास्वपाले चुनाव जितेको थियो । ठीक ३ वर्षपछि फेरि मुलुक जेनजी आन्दोलनका कारण चुनवामा होमिएको छ । फागुन २१ मा निर्वाचन मिति तोकिएको छ । दलहरुले उम्मेदवार चयन गरेर अहिले मतदाताकहाँ मत माग्न पुगिरहेका छन् ।
रास्वपालाई अब त्यही विगतमा आफुले जितेको निर्वाचन क्षेत्रमा जित कायम राख्ने वा गुमाउने चुनौति छ । देशब्यापी रुझान् हेर्दा रास्वपामा अहिले जनलहर देखिएको छ । तर, उसले विगतमा जितेका मध्ये काठमाडौं २, काठमाडौं ७ र काठमाडौं ८ तथा ललितपुरको ३ उसका लागि सोजेजस्तो सहज देखिएको छैन । काठमाडौं ६ भने उसकै मूल्यांकनमा पनि अलिक सहज रहेको जिकिर रास्वपाको छ ।
रास्वपाले विगतमा उपत्यकामा जितेका निर्वाचन क्षेत्रमध्ये काठमाडौं २ मा बाहेक अन्य सवै निर्वाचन क्षेत्रमा पूरानै उम्मेदवारलाई निरन्तरता दिएको छ । काठमाडौं २ मा जितेकी सोविता गौतमलाई भने उसले यसपटकको चुनावमा चितवन ३ मा सारेर त्यहाँकी तत्कालिन मेयर रेनु दाहालसँग प्रतिस्पर्धामा उतारेको छ ।
काठमाडौं २ मा भने उसले यसपटक राप्रपावाट तानेर सुनिल केसीलाई उम्मेदवार बनाएको छ । अन्य क्षेत्रहरु काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर ३ मा तोसिमा कार्कीलाई नै उम्मेदवार बनाएको छ ।
यस आलावा उसले ललितपुर १ मा बुद्दरत्न महर्जन, ललितपुर २ मा जेनजी विद्रोहपछि बनेको अन्तरिम चुनावी सरकारका सञ्चारमन्त्री बनेका जगदीश खरेललाई उम्मेदवार बनाएको छ । काठमाडौं १ मा रञ्जु दर्शना, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ९ मा डोलप्रसाद अर्याल, १०मा प्रदीप विष्ट, भक्तपुर १ मा रुकेश रज्जित र २ मा राजिव खत्रीलाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा उपत्यकामा रास्वपाले जितेका पाँच क्षेत्रको जित रास्वपाका लागि केवल अंकगणितीय उपलब्धि मात्र थिएन, यो उपत्यकाको राजनीतिक चेतनामा आएको ठूलो परिवर्तनको संकेत पनि थियो । प्रश्न अहिले यही छ- के रास्वपाले यो विरासत जोगाउन सक्छ, कि पुराना दलहरूले गुमाएको क्षेत्र पुनः फर्काउने छन् ?
एमाले महासचिव शंकर पोखरेल र नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वर्षमान पुनले विगतमा रास्वपाले जितेका क्षेत्रमा अहिले फेरि जित कायम राख्न रास्वपालाई निक्कै कठिन रहेको टिप्पणी गरेका छन् । रास्वपालको २०७९ मा शहरी क्षेत्रमा आर्कषण देखिएपनि अहिले त्यो आकर्षण पाहाडी क्षेत्रमा बढेको तर सहरी क्षेत्रमा आकषर्ण घट्दो क्रममा रहेको विश्लेषण भईरहँदा रास्वपाले विगत जितेका क्षेत्रमा के नतिजा निकाल्लान् ? सवैको चासो छ ।
उपत्यका बाहिरका चितवन २ पनि विगतमा जस्तो भारी मतान्तरको जितहार यसपटक नहुने बताइन्छ । चितवनकै १ जित निकाल्न रास्पपालाई अहिले महाभारत नै रहेको विश्लेषण पनि भईरहेको छ । यधपी परिणाम के आउँला ? त्यो हेर्न भने फागुन २१ मा मतदाताले खसाल्ने मतमै निर्भर हुनुपर्छ ।
पुरानै उम्मेदवार, उस्तै भरोसा रु
रास्वपाले विगतमा जितेका मध्ये सोविता गौतमको मात्रै निर्वाचन क्षेत्र फेरेर उम्मेदवारी दिएको हो । अरु उपत्यकाका पाँचमध्ये चार र उपत्यका बाहिरका चितवन १ र २ तथा तनहुँ १ मा भने पूरानै उम्मेदवारलाई नै दोहोराएर उसले उम्मेदवार बनाएको छ ।
रास्वपाको दाबी छ, ‘जितेका उम्मेदवारले संसदमा फरक शैली देखाए, प्रश्न उठाए, रास्ट्रिय मुद्दामा दबाब सिर्जना गरे, त्यसैले मतदाताले पुनः भरोसा गर्ने आधार अझ बलियो छ।’ तर आलोचकहरू भन्छन्, ‘संसदमा आवाज उठाउनु मात्र पर्याप्त होइन, स्थानीय अपेक्षासँग प्रत्यक्ष जोडिएका मुद्दामा प्रभाव देखिन सकेन भने मतदाताको भरोसा खस्किन सक्छ।’
रास्वपाको सबैभन्दा ठूलो चुनौती नै उसले आफैं सिर्जना गरेको ‘आशा’ हो । भ्रष्टाचारविरोध, सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको नाराले मतदातालाई आकर्षित गरे पनि त्यसलाई व्यवहारमा उतार्न सक्ने वा नसक्ने प्रश्न निर्णायक बन्नेछ ।
विशेषगरी उपत्यकाका शिक्षित र सचेत मतदाता भावनाभन्दा बढी परिणाम हेर्ने प्रवृत्तिका छन् । उनीहरूका लागि संसदमा बोलेका शब्दभन्दा नीति, कानून र प्रभावकारी हस्तक्षेप महत्त्वपूर्ण हुन्छ । उपत्यकामा युवा मतदाताको संख्या उल्लेखनीय छ । गत निर्वाचनमा यही समूह रास्वपाको पक्षमा निर्णायक बनेको थियो । यस पटक पनि युवाको धारणा नै निर्णायक हुने देखिन्छ ।
तर युवामै निराशा पनि देखिन थालेको छ- ‘नयाँ दल आए पनि सिस्टम उस्तै रहेछ’ भन्ने आवाज सुनिन थालेका छन् । समग्रमा भन्नुपर्दा, उपत्यकाका पाँचै निर्वाचन क्षेत्र रास्वपाका लागि सुरक्षित क्षेत्र भइसकेका छैनन् । चार क्षेत्रमा पुरानै उम्मेदवार भए पनि प्रतिस्पर्धा झन् कडा देखिन्छ । रास्वपाले उपत्यकाको विरासत जोगाउन सक्ने/नसक्ने प्रश्नको उत्तर अब नारामा होइन, मतदाताको निर्णयमा निर्भर छ ।
.jpg)
