रास्वपाको धार्मिक शैलीमा चुनावी ‘क्याम्पेन’

रास्वपाको धार्मिक शैलीमा चुनावी ‘क्याम्पेन’

images
बिहिवार, माघ २३ २०८२
  • काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूको धार्मिक गतिविधि तीव्र बन्दै गएको छ। प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहदेखि पार्टी सभापति रवि लामिछानेसम्म पछिल्ला दिनहरूमा देशका विभिन्न मठ-मन्दिरमा देखिन थालेका छन्। 
    देशब्यापी दौडाहमा रहेका प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह भाषणमा होइन, दौडेर विभिन्न जिल्ला पुग्ने, रास्वपाको चुनावी कार्यालय पुग्ने, घण्टी बजाउने र धार्मिक कुनै मठ मन्दिर छन् भने दर्शनका लागि पुग्ने र फरक्क फर्किने गरिरहेका छन् । उनको त्यो शैलीलाई धेरैले देश दौडाहा कि तीर्थाटन ? भन्दै प्रश्न गरिरहेका छन् । 

    ठीक त्यही शैलीमा बिहिबार रास्वपा सभापति रवि लामिछाने पनि काठमाण्डौँबाट भरतपुर पुग्नासाथ सिधै लंकूको हरिकिर्तन चोकमा रहेको लक्ष्मी बैंकटेश मन्दिर पुगेर पूजा गरे। चितवन १ र ३ का उम्मेदवारलाई दायाँ बायाँ राखेर उनले उक्त मन्दिरमा पुगेर दर्शन गरे । उनी आफैं चितवन २ को उम्मेदवार छन् । 

    देश दौडाहा कि तीर्थाटन ?
    बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट गत माघ ४ गते राजीनामा दिएपछि शुरू गरेको देश दौडाहा चुनावी प्रचार कम, धार्मिक यात्राजस्तो बढी देखिन थालेको छ। काठमाडौं छाड्नुअघि मन्दिर दर्शन, जनकपुरमा जानकी मन्दिरमा पूजा, पाथीभरा/मुक्कुमलुङमा दर्शन, सुदूरपश्चिमका मन्दिर केन्द्रित यात्रा देखि फेरि पूर्वमै देखिएका दौडाह र मन्दिर दर्शनसम्मले बालेनको अभियानलाई ‘तीर्थाटन शैलीको राजनीति’ का रूपमा व्याख्या गर्न थालिएको छ।

    सभापति रवि लामिछानेले बिहिबार लंकूको हरिकिर्तन चोकमा रहेको लक्ष्मी बैंकटेश मन्दिर पुगेर गरेको दर्शनले बालेनको तीर्थाटन शैलीको राजनीतिलाई नै थप बल पुरयाएको छ । जनकपुर बाहेक अन्य स्थानमा उनले खुला आमसभा वा नीति-कार्यक्रममाथि विस्तृत सम्बोधन गरेका छैनन्। बरु, गाडीको मुनरूफबाट हात हल्लाउने, धार्मिक स्थलमा पूजा गर्ने र ती तस्बिर–भिडियोहरू डिजिटल प्लेटफर्ममार्फत योजनाबद्ध रूपमा प्रसारण गर्ने अभ्यास प्राथमिकतामा देखिन्छ।


    रास्वपाले २०७९ को निर्वाचनमा सार्वजनिक गरेको घोषणापत्र ‘हामी र हाम्रो वाचा’ मा संविधानप्रतिको सम्मान, संवैधानिक सर्वोच्चता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई स्वीकार गर्ने प्रतिबद्धता जनाएको थियो। बुँदा नम्बर ६ मा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा अघि सार्दै राष्ट्रपतीय शैलीको राजनीतिक संरचना कल्पना गरिएको थियो।

    तर व्यवहारमा भने पार्टीका नेताहरूले यी संवैधानिक आधारस्तम्भहरूबारे स्पष्ट राजनीतिक एजेन्डा सार्वजनिक गरेका छैनन्। संघीयताको सवालमा २०७९ मा प्रदेश सभाको उम्मेदवारलाई मतदान नगर्ने अभियानदेखि मधेश आन्दोलनका शहीदको सालिकमा माल्यार्पणसम्म आइपुग्दा बालेन शाहको धारणा विरोधाभासी देखिन्छ। यो वैचारिक परिवर्तन हो कि चुनावी आवश्यकता ?

    धर्मनिरपेक्षतामाथि बढ्दो दबाब

    नेपालको संविधानले मुलुकलाई स्पष्ट रूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ। तर पछिल्ला वर्षहरूमा ‘हिन्दू राष्ट्र’ पुनःस्थापनाको बहस सतहमा आउँदै गएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ८१।१९ प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी छन् । यो तथ्य राजनीतिक रणनीतिको महत्वपूर्ण आधार बन्दै गएको देखिन्छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाका नेताहरूको मठ-मन्दिर केन्द्रित गतिविधि यही जनसांख्यिक यथार्थसँग जोडिएको छ। “मतदाताको बहुसंख्यक मनोविज्ञानलाई सम्बोधन गर्ने प्रयासमा रास्वपाका नेताहरुको चुनावी मुखमा मठमिन्दर दौड हो,” एक राजनीतिक विश्लेषक भन्छन्, “तर यसले अल्पसंख्यक समुदायमा असुरक्षा र बहिष्करणको भावना जन्माउन सक्छ।”

    मोदी मोडलको छायाँ

    भारतमा नरेन्द्र मोदीले धार्मिक आस्थालाई राजनीतिक भावनासँग जोडेर चुनाव जित्ने रणनीति अपनाएको आरोप लाग्दै आएको छ। मठ-मन्दिरबाट यात्रा शुरू गर्ने, धार्मिक प्रतीकमार्फत राष्ट्रवाद निर्माण गर्ने र आलोचकलाई ‘राष्ट्रविरोधी’ ठहर गर्ने शैलीले त्यहाँ सामाजिक ध्रुवीकरण बढाएको विश्लेषणहरू छन्।

    नेपालमा बालेन्द्र शाहको पछिल्लो गतिविधि यही ‘मोदी मोडल’ को नेपाली संस्करण त होइन भन्ने प्रश्न उठ्न थालेको छ। बहुधार्मिक, बहुसांस्कृतिक समाजमा यस्तो रणनीतिले दीर्घकालीन सामाजिक सद्भावमा कस्तो असर पार्छ भन्ने चिन्ता स्वाभाविक छ।

    मतदाताले प्रस्तावित प्रधानमन्त्रीसँग अपेक्षा गर्ने विषय पाँच वर्षे कार्ययोजना, संविधान संशोधनबारे धारणा, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, यातायात जस्ता जनजीवनका मुद्दा अहिलेसम्म सार्वजनिक बहसको केन्द्रमा आएका छैनन्। बरु, धार्मिक यात्रामार्फत ‘देवत्वकरण’ गरिएको छविनिर्माण भइरहेको आरोप लाग्दै आएको छ।

    सामाजिक सञ्जालमा रास्वपा समर्थक समूहले नेताहरूलाई ‘मुक्तिदाता’ वा ‘अवतार’ जस्तो रूपमा प्रस्तुत गर्नु, आलोचकलाई ‘झोले’ भन्दै अपमान गर्नुले लोकतान्त्रिक बहसको ठाउँ साँघुरिँदै गएको संकेत गर्छ। व्यक्तिगत आस्थाका कारण धार्मिक स्थलमा जानु नागरिकको अधिकार हो। तर चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रस्तावित प्रधानमन्त्रीले सार्वजनिक रूपमा एक धर्म विशेषप्रति झुकाव देखाउँदा त्यसले राजनीतिक अर्थ बोक्छ। प्रश्न यही हो -के यसले अन्य धर्मावलम्बी नागरिकलाई समान रूपमा प्रतिनिधित्व भएको अनुभूति दिन्छ ?


    रास्वपाले आफूलाई ‘वैकल्पिक शक्ति’ का रूपमा प्रस्तुत गर्दै आएको छ। तर धर्म र राजनीति मिसाउने संकेतले उसलाई पुराना दलभन्दा फरक देखाउने दाबी कमजोर पार्न सक्छ।  बालेन्द्र शाह र रास्वपाका नेताहरूको पछिल्ला गतिविधिले उनीहरू बहुसांस्कृतिक गणतान्त्रिक नेपालका नेता बन्न चाहन्छन् कि बहुसंख्यक भावनामा आधारित धार्मिक राजनीतितर्फ उन्मुख छन् भन्ने प्रश्न उब्जाएको छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend