चैत १० भित्र नयाँ प्रधानमन्त्री !

चैत १० भित्र नयाँ प्रधानमन्त्री !

images
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । एउटा निर्वाचन क्षेत्रको मतगणना जारी छ । अर्काे एउटा निर्वाचन क्षेत्र धनुषा १ को विवाद अदालत पुगेको छ । 
    समानुपातिकतर्फ करिब ९० प्रतिशत मतगणना सकिएको छ। बाँकी मतगणना सम्पन्न भएपछि मात्र निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ र त्यसपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अझै करिब १८ लाख मत गणना गर्न बाँकी छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानमा प्राथमिकताका साथ समानुपातिक मत गन्ने काम भइरहेको छ र एक-दुई दिनभित्र यो प्रक्रिया टुंगो लाग्ने अपेक्षा गरिएको छ।


    समानुपातिक सिट बाँडफाँटपछि मात्रै अन्तिम नतिजा
    समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक मतको आधारमा क्लष्टर मिलाएर सिट बाँडफाँट गर्नेछ। त्यसपछि थ्रेसहोल्ड पार गरेका दललाई उनीहरूले पाउने सिट संख्या र समावेशी क्लस्टर निर्धारण गरी बन्दसूचीबाट निर्वाचित हुने उम्मेदवारको नाम पठाउन समय दिइनेछ।
    बिगतको अभ्यासअनुसार दलहरूलाई यसका लागि केही दिनको समय दिइन्छ । दलहरूले पठाएको सूची जाँच गरी आयोगले समानुपातिकतर्फका सांसदहरूलाई विजयी घोषणा गर्नेछ र त्यसपछि मात्रै प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको समग्र परिणाम तयार हुनेछ।
    निर्वाचन आयोगका अधिकारीहरूका अनुसार समानुपातिक मत गणना, दलहरुलाई उम्मेदवारको सूची बुझाउन दिइने समय, दलहरुबाट पा्रप्त नामहरुमा आयोगले गर्ने जाँचबुझ देखिका सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउन अझै करिब एक सातादेखि दस दिन लाग्न सक्छ।


    त्यसपछि बल्ल सुरु हुन्छ सरकार गठन प्रक्रिया
    संविधानअनुसार निर्वाचन आयोगले ‘निर्वाचनको अन्तिम परिणाम’ राष्ट्रपतिलाई बुझाएपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा निर्वाचन परिणाम प्राप्त भएको मानिनेछ।
    संविधानको धारा ७६९१० अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यसपटक बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्नेछ।
    रास्वपाले चुनावअघि नै काठमाडौं महानगरका निर्वतमान मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो। त्यसैले रास्वपाको संसदीय दलको बैठकले उनलाई नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

    पहिले शपथ कि प्रधानमन्त्री ?
    अन्तिम परिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने परम्परा छ। त्यसपछि उनीबाट अन्य सांसदहरूलाई शपथ गराइन्छ।
    सांसदहरूको शपथपछि विभिन्न दलहरूले आफ्नो संसदीय दलको बैठक गरेर नेता चयन गर्नेछन्। त्यसपछि बहुमत दलले आफ्नो संसदीय दलको नेता प्रधानमन्त्रीका रूपमा सिफारिस गर्नेछ र राष्ट्रपतिले त्यसका आधारमा प्रधानमन्त्री नियुक्त गर्नेछन्।

    दुई साताभित्र नयाँ प्रधानमन्त्री
    निर्वाचन आयोग, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार सबै प्रक्रिया पूरा हुन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ।
    समानुपातिक मतगणना, सिट बाँडफाँट, दलहरूले उम्मेदवारको नाम पठाउने प्रक्रिया, अन्तिम प्रतिवेदन तयार पार्ने काम र राष्ट्रपतिसमक्ष पेश गर्ने चरणहरू पूरा भएपछि मात्रै प्रधानमन्त्री नियुक्ति सम्भव हुन्छ।
    यस हिसाबले हेर्दा ढिलोमा पनि चैत १० भित्र देशले नयाँ प्रधानमन्त्री पाउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी नयाँ सरकार सञ्चालनमा आउनेछ।

    के- के छन् प्रक्रिया ?

    - प्रत्यक्ष तर्फको मतगणना सकेपनि समानुपातिक मत गन्न अझै कम्तीमा २ दिन ।
    -  सबै मत गणना सकेपछि समानुपातिक सिट बाँडफाँट गर्न निर्वाचन आयोगलाई थप २ दिन ।
    -  निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दललाई उसले प्राप्त गर्ने सिट संख्या र समावेसी क्लस्टर तोकेर बन्दसूचीबाट उम्मेदवार छान्न संभवतः ७ दिन । (बिगतको अभ्यास)
    - दलहरुबाट प्राप्त निर्णय र उम्मेदवार नामावली जाँचगरी समानूपातिक उम्मेदवारलाई बिजयी घोषणा गर्न र समग्र प्रतिवेदन तयार गर्न निर्वाचन आयोगलाई कम्तीमा थप २ दिन । 
    - प्रत्यक्ष र समानुपातिक तर्फबाट बिजयी सदस्यहरुको नामावली सहितको प्रतिवेदन आयोगले राष्ट्रपति समक्ष पेश गर्न १ दिन । 
    - त्यसपछि बल्ल रास्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुल्ला । 
     निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले रास्ट्रपतिसमक्ष सपथ । अनि उनले अन्य सांसदहरुलाई सपथ । अनि दलहरुको बैठक बसेर संसदीय दलको नेता चयन र प्रधानमन्त्रीमा दावी ।
    (तर नयाँ प्रधानमन्त्री दाबी गर्ने बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाबी गर्नु अघि नै आफनो संसदीय दल नेता (बालेन शाहलाई) चयन गरिसक्नु पर्नेछ । त्यसपछि मात्रै प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।) यस हिसाबले कम्तीमा १४ दिन  (दुई साता) अझै नयाँ प्रधानमन्त्री नियुक्त हुन समय लाग्ने देखिन्छ ।  अर्थात चैत १० सम्म नयाँ प्रधानमन्त्री नियुक्त हुन समय लाग्ने देखिन्छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend