काठमाडौं । प्रतिनिधिसभामा झण्डै दुई तिहाई सांसदसहित बलियो सरकार समेत चलाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना नव-निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई संसदीय भूमिकामा दक्ष बनाउन दुईदिने गहन अभिमुखीकरण कार्यक्रम आज देखि सञ्चालन गदैछ ।
ललितपुरको होटल रोयल टुलिप मा चैत ३–४ गते (आज र भोलि) हुने कार्यक्रममा “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल सन्देश दिइने योजना रास्वपाले बनाएको छ ।
कार्यक्रमको विशेषता भनेकै कुन विषयमा कुन विज्ञ भन्ने स्पष्ट विभाजनसहित ‘प्रयोगात्मक’ तालिम हो, जहाँ नीति, संसद, बजेटदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषय समेटिएका छन्। ति विषयहरुमा सकभर विषयविज्ञबाट नै प्रशिक्षित बनाउने उदेश्य रास्वपाले बनाएको छ । पहिलो दिन संसदीय अभ्यास, कानून निर्माण र संविधानिक जिम्मेवारीमा केन्द्रित रहेर रास्वपाले आफ्ना सांसदहरुलाई अभिमुखीकरण गर्नेछ। आजको कार्यक्रमको सुरुमै पार्टी सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरुले पार्टीको चुनाव चिन्ह्र घण्टी बजाएर कार्यक्रमको उद्घाटन गर्नेछन् ।
त्यसपछि डा अरनिको पाण्डेले कार्यक्रमको उद्देश्य र महत्व बारे धारणा राख्नेछन् । डा स्वर्णिम वाग्लेले पार्टीको चुनावी वाचापत्र केन्द्रीत रहेर राजनीतिक दिशा र आर्थिक दृष्टिमा केन्द्रीत सम्बोधन गर्नेछन् ।
त्यसपछि चुनावी परिचालन समितिका संयोजक समेत रहेका उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियान र नेतृत्व अनुभवका बारेमा सांसदहरुलाई जानकारी गराउनेछन् ।
त्यसपछि बल्ल पार्टीले आमन्त्रण गरेका विज्ञहरुबाट सांसदहरुलाई प्रशिक्षित गराउने कार्यक्रम रास्वपाले बनाएको छ । संसदीय संरचना र कानून निर्माणका बारेमा पूर्व सचिव समेत रहेका सुरेश अधिकारीले कक्षा लिनेछन् । संसदको संरचना, कार्यप्रणाली, सांसदको अधिकार र जिम्मेवारीमा केन्द्रीत रहेर उनले रास्वपाका सांसदहरुलाई प्रशिक्षित गराउनेछन् ।
त्यसपछि पूर्व कानुन सचिव समेत रहेका तोयानाथ अधिकारीले संघीय संसदमा कानून निर्माण प्रक्रिया र सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
समसामयिक बहस र नयाँ प्रविधिका बारेमा फेरि डा स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीको प्रतिबद्धता र सांसदको भूमिकाका बारेमा धारणा राख्नेछन् । कृत्रिम बुद्धिमत्ता (AI) र एल्गोरिदमको लोकतन्त्र र सुशासनमा प्रभावका बारेमा आइटी विज्ञ डा दोभान राईले पनि कक्षा लिनेछन् ।
त्यसपछि विगतमा सांसद रहेकाहरुको अनुभव आदान प्रदान कार्यक्रम राखिएको छ । जसमा १० जना सांसदहरुले आ आफना अनुभव आदानप्रदान गर्नेछन् त्यसमा अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सविता गौतम लगायतले प्रत्यक्ष अनुभव, चुनौती र सिकाइका बारेमा प्रशिक्षित गर्नेछन् ।
आवसिय बनाइएको उक्त कार्यक्रममा आजै चुनाव समीक्षाका बारेमा रवि किरण अधिकारी, शंकर श्रेष्ठ, निष्कल सिंह भण्डारीले धारणा राख्नेछन् । उनीहरुले चुनावी प्रतिवेदन, समूह छलफल र रणनीतिक विश्लेषणका बारेमा अभिमुखीकरण गर्नेछन् ।
त्यसपछि मात्र आजको कक्षाबाट रास्वपाका सांसदहरुले आराम गर्न पाउनेछन् ।
दोस्रो दिन नीतिगत कार्यान्वयन र शासन प्रणालीमा केन्द्रित रहेर प्रशिक्षित गर्ने कार्यतालिका रास्वपाको छ । दोस्रो दिनको सुरुवात भने योगाबाट गराइनेछ । एल.पी. भानु शर्मा माइन्डफुलनेस, योग र मानसिक तयारीका बारेमा योगा गराउनेछन् ।
त्यसपछि सरकार र बजेट केन्द्रीत रहेर राष्ट्रिय योजना आयोगका पूर्व सचिव ड तोयानारायण ज्ञवालीले कक्षा लिनेछन् । उनले सरकार सञ्चालन प्रक्रिया, योजना तथा बजेट निर्माणमा केन्द्रीत भएर प्रशिक्षण दिनेछन् । पूर्व सचिव प्रताप कुमार पाठकले सुशासनस् अवधारणा, अभ्यास र सांसदको भूमिकामा केन्द्रीत रहेर कक्षा लिनेछन् ।
दोस्रो दिनको अन्तिम तिर पार्टी र सांसदको सम्बन्धमा केन्द्रीत रहेर समेत छलफल गर्ने योजना रास्वपाले बनाएको छ । नयाँ राजनीतिक सस्कार, आचारसंहिता र न्यूनतम प्रतिबद्दतामा केन्द्रीत रहेर पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके डंगोलले प्रशिक्षित गर्नेछन् ।
त्यसपछि सबै सहभागीहरुलाई संसदीय प्राथमिकता निर्धारण गर्न, समुह कार्य र प्रस्तुती गराउन लगाउने गरी कार्यक्रम बनाइएको छ ।
समापन भने सभापति रवि लामिछानेले गर्ने गरी कार्यतालिका बनाइएको छ ।

.jpg)
