काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई अब कुनै पनि बहाना नचल्ने भन्दै काममा केन्द्रित हुन कडा निर्देशन दिएका छन्। दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले अब सरकारलाई रोक्ने एकमात्र कुरा ‘नियत’ मात्र हुने स्पष्ट पारे।
उनले जनताले ऐतिहासिक विश्वासका साथ दिएको जनमतलाई जोगाउन सांसदहरूलाई अनुशासन, जिम्मेवारी र पारदर्शितामा केन्द्रित हुन आग्रह गरे।गत फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावमा रास्वपाले १८२ सिट सहित झण्डै दुई तिहाईको बलमा सरकारको नेतृत्व गदैछ । लामिछानेले जनताले दिएको अभूतपूर्व जनमतलाई ‘उत्सव’ नभई ‘जिम्मेवारी’का रूपमा लिन आग्रह गर्दै अब रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनमा परिणाम दिनुपर्ने बताएका छन्। ‘जनताले आफ्नो काम गरिसके, अब तपाईंहरूको पालो हो,’ उनले सांसदहरूलाई निर्देशन दिँदै भने ।
यस्ता छन् लामिछानेका मुख्य निर्देशन :
१) ‘म’ होइन ‘देश’ केन्द्रित राजनीति :
व्यक्तिगत पद, हैसियत र स्वार्थभन्दा माथि उठ्न आग्रह, ‘मन्त्री बन्ने सपना देशले बोक्दैन, देशको सपना हामीले बोक्नुपर्छ’
२) नियत नै अबको सबैभन्दा ठूलो परीक्षा :
दुई तिहाइ जनमतपछि कुनै बहाना बाँकी नरहेको स्पष्ट, ‘अब रोक्ने भनेको हाम्रो नियतले मात्रै हो’
३) सरकारी सेवामा विश्वास देखाउन आग्रह
सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन सुझाव, जनताको सेवा सुधार्न आफूले उदाहरण बन्नुपर्ने
४) सामाजिक सञ्जालमा संयमित अभिव्यक्ति
जथाभावी बोल्दा देशको वैदेशिक सम्बन्धमै असर पर्न सक्ने चेतावनी, समर्थकहरूलाई पनि जिम्मेवार व्यवहार गर्न आग्रह
५) बिचौलिया र स्वार्थ समूहबाट सावधान
सांसदहरूलाई प्रभाव पार्न विभिन्न समूह सक्रिय हुने दाबी, ‘एक कप चिया खानुअघि सहिदकी आमा सम्झिनु’
६) ‘Right to Recall’ ’ कडाइका साथ लागू हुने
पार्टीको विधानअनुसार सांसद फिर्ता बोलाउने व्यवस्था प्रयोग हुने, अनुशासन र जिम्मेवारीमा सम्झौता नहुने संकेत
७) गुटबन्दी पूर्ण रूपमा निषेध
‘घन्टीमुनि सबै अट्छन्, गुट बनाएर कोही जित्दैन’, पार्टीभित्र एकता कायम गर्न निर्देशन
८) निरन्तर अध्ययन र सिकाइमा जोड
सांसद भएको भरमा ज्ञान नआउने भन्दै अध्ययन जारी राख्न आग्रह
९) मिडिया र अभिव्यक्तिमा परिपक्वता आवश्यक
सञ्चारमाध्यममा चर्चामा रमाउने प्रवृत्ति त्याग्न सुझाव,अभिव्यक्तिको दीर्घकालीन प्रभाव सोच्न आग्रह
१०) समावेशिता र सामाजिक न्यायमा प्रतिबद्धता
राई-लिम्बु प्रतिनिधित्व नहुनुमा आत्मालोचना, सामाजिक न्यायलाई विकासको मुख्य सूचकका रूपमा परिभाषित
११) विकासको मापदण्ड फेरिनुपर्ने
पुल–बाटोभन्दा स्वास्थ्य, शिक्षा र समान पहुँचलाई प्राथमिकता, कर्णाली र मधेसलाई केन्द्रमा राख्न आग्रह
१२) मन्त्री बन्ने ‘लबीइङ’ नगर्न चेतावनी
पदका लागि दौडधुप नगर्न स्पष्ट निर्देशन, ‘पार्टीले सबैको क्षमता देखेको छ’
१३) विभिन्न पृष्ठभूमिका सांसदलाई समान सम्मान
पुराना दलबाट आएका सदस्यलाई सहज वातावरणको आश्वासन, ‘हजिटेसन नराख्नुस्’
१४) विरोध र आलोचनालाई स्वाभाविक मान्न आग्रह
अरूलाई दोष दिनुभन्दा आफू बलियो बन्नुपर्नेमा जोड
१५) सांसद इतिहास र भविष्य जोड्ने जिम्मेवारी
‘यो साधारण चुनाव होइन, सहिदको रगतले आएको अवसर’, अर्को पुस्ताका लागि काम गर्नुपर्ने सन्देश
.jpg)
