काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन हारको जिम्मेवारी लिँदै पार्टी सभापतिबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
पार्टीको समग्र हार र आफु समेतको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा बारे अब कांग्रेसको केन्द्रीय समितिको भोलि शुक्रबार बोलाइएको बैठकमा छलफल हुने र बैठकले राजीनामा स्वीकृत गर्ने/नगर्ने बारेमा निर्णय लिनेछ ।
‘६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले राजीनामा उपसभापतिलाई बुझाउनुभएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकारको विषय हो । कार्यसमितिले स्वीकृत गरयो भने उहाँ सभापतिमा रहनुहुन्न । तर स्वीकृत गरेन भने उहाँको इच्छाको मात्र कुरा हुँदैन, उहाँले पार्टी सभापतिकै जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ ।’
गत फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याएका थिए ।
निर्वाचन परिणामपछि नै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई भेटी आफु राजीनामा दिने मनस्थितीमा रहेको बताएका थिए । तर शर्माले थापालाई राजीनामा नदिन आग्रह गदैं आएका थिए ।
कांग्रेसमा जेनजी विद्रोहपछि थापा, शर्मा लगायतको नेतृत्वमा विशेष महाधिवेशन भएको थियो । शेरवहादुर देउवा लगायत पूराना पुस्ताका नेताहरुको असहमतिकाबीच विशेष महाधिवेशन भएर थापालाई सभापति र विश्वप्रकाश शर्मालाई उपसभापति चयन गरिएको थियो ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।
देउवा पक्षका नेताहरु पनि त्यसपछि चुनावमा भने सभापति गगनले नै हस्ताक्षर गरेको टिकट बोकेर चुनावी मैदानमा पुगेका थिए । तर अहिले पार्टीको लज्जाजनक हार र सभापति थापा समेतको हारपछि देउवा पक्षका नेताहरुले गगनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । तर विशेष महाधिेशन पक्षधर नेताहरुले भने देउवाको नेतृत्वमा पार्टी चुनावमा गएको भए यो भन्दा खराव नतिजा आउने र सभापति थापाले समयका कारण चुनावको खास तयारी समेत गर्न नपाएकोले चुनावको समीक्षा गर्ने तर राजीनामा दिन नहुने धारणा राख्दै आएका थिए ।
यधपी, सभापति थापाले भने पार्टी हार र आफनो हार समेतको जिम्मेवारी लिँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
उनले पार्टी केन्द्रीय समितिको बैठक भोलि शुक्रबार (चैत ६) का लागि बोलाएका छन् । बैठक बोलाएपछि उनले सभापतिबाट राजीनामा दिएका हुन् । अब यही बैठकले सभापति थापाको राजीनामाको बारेमा निर्णय लिने कांग्रेसले जनाएको छ ।
.jpg)
