काठमाडौं । मध्यपूर्वमा चर्किँदै गएको अमेरिका–इरान तनाव नयाँ मोडमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तर दबाब र चेतावनीका बीच इरानले युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित १० बुँदे शान्ति प्रस्ताव सहितको जवाफ फर्काएको छ ।
यो प्रस्ताव दुवै देशले पाकिस्तानमार्फत आदानप्रदान गरेका हुन् । इरानले अमेरिकालाई पाकिस्तानमार्फत पठाएको यो प्रस्ताव केवल कूटनीतिक जवाफ मात्र होइन, बदलिँदो विश्व शक्ति सन्तुलनमा इरानले आफ्नो स्थान पुनःपरिभाषित गर्न खोजेको संकेतका रूपमा पनि हेरिएको छ।
धम्की र प्रत्युत्तरको बीचमा कूटनीति
अमेरिकाले यसअघि इरानसमक्ष १५ बुँदे प्रस्ताव राख्दै विशेषगरी रणनीतिक महत्वको होर्मुज स्ट्रेट खुला गर्न समयसीमा दिएको थियो। ट्रम्पले उक्त जलमार्ग नखुले इरानका पूर्वाधार, विद्युत् केन्द्रदेखि पुलसम्म निशाना बनाइने चेतावनी दिएका थिए।
तर, इरानले यो दबाबमा झुक्ने संकेत नदिँदै बरु आफ्नै सर्तसहित शान्ति प्रस्ताव अघि सारेको छ । पाकिस्तानमार्फत पठाइएको उक्त प्रस्तावले ‘युद्धविराम’ भन्दा ‘स्थायी शान्ति’मा जोड दिएको छ।
इरानको १० बुँदे प्रस्ताव : के छन् मुख्य सर्त ?
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार, इरानले प्रस्तुत गरेको प्रस्तावमा निम्न प्रमुख बुँदाहरू समावेश छन् :
१) इरानमाथि फेरि आक्रमण नहुने सुनिश्चितता
२) ‘युद्धविराम’ को साटो स्थायी रूपमै युद्धको अन्त्य
३) लेबनानमा समेत इजरायली आक्रमणको अन्त्य हुनुपर्ने
४) आफ्नो मुलुकमाथि लगाइएका सबै अमेरिकी प्रतिबन्धहरू हटाइनुपर्ने
५) इरानी सहयोगीहरूविरुद्ध गरिएको क्षेत्रीय लडाइँको पूर्ण अन्त्य गरिनुपर्ने
६) बदलामा इरानले होर्मुज जलडमरू (हर्मुज स्टे«ट) खोल्ने
७) इरानले होर्मुजमार्फत् जाने प्रत्येक जहाजबाट २० लाख डलर शुल्क लिने
८) उक्त शुल्क ओमानसँग बाँडफाँड गर्ने
९) होर्मुजमार्फत् सुरक्षित आवागमनका लागि नियमहरू निर्धारण गर्ने
१०ं) क्षतिपूर्तिको सट्टा पुनर्निर्माणका लागि उक्त शुल्क प्रयोग गर्ने
यो प्रस्तावले इरान केवल प्रतिरक्षात्मक अवस्थामा नभई सक्रिय कूटनीतिक खेलाडीका रूपमा उभिन खोजेको संकेत दिन्छ।
‘चौथो शक्ति’को बहस
अमेरिकी प्रतिष्ठित पत्रिका द न्यूयोक टाइम्सले हालैको विश्लेषणमा इरानलाई अमेरिका, चीन र रुसपछिको ‘चौथो शक्तिराष्ट्र’को रूपमा चित्रण गरेको छ। लगातार आक्रमण र प्रतिबन्धका बाबजुद इरानले क्षेत्रीय प्रभाव कायम राख्न सफल भएको र त्यसले नयाँ अन्तर्राष्ट्रिय शक्ति सन्तुलनतर्फ संकेत गरेको विश्लेषणमा उल्लेख छ।
युद्धको छैटौँ हप्ता : को झुक्छ ?
अमेरिका–इरान तनाव छैटौँ हप्तामा प्रवेश गर्दा पनि दुवै पक्ष आ-आफ्नो अडानमा देखिन्छन्। ट्रम्प प्रशासनले अझै पनि इरानबाट ‘आत्मसमर्पण’को अपेक्षा राखिरहेको छ भने तेहरानले त्यसको सट्टा ‘सम्मानजनक समाधान’ खोजिरहेको देखिन्छ।
इरानले ‘युद्धविराम’को अवधारणालाई विगतका अनुभव असफल रहेको भन्दै अस्वीकार गर्दै आएको छ। त्यसको सट्टा दीर्घकालीन र संरचनात्मक समाधान आवश्यक रहेको उसको तर्क छ।
शान्ति प्रस्ताव कि शक्ति प्रदर्शन ?
इरानको यो प्रस्तावलाई दुई तरिकाले बुझ्न सकिन्छ- एकातिर, यो युद्ध अन्त्य गर्ने वास्तविक कूटनीतिक प्रयास हुन सक्छ । अर्कोतिर, विश्व शक्ति समीकरणमा आफ्नो हैसियत देखाउने रणनीतिक कदम पनि हुन सक्छ।
स्पष्ट के छ भने, अबको अन्तर्राष्ट्रिय राजनीति केवल सैन्य शक्ति होइन, कूटनीतिक सर्त र आर्थिक नियन्त्रणको खेलतर्फ सर्दैछ। इरानको प्रस्तावले यही परिवर्तनको संकेत दिएको छ।
.jpg)
