काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव चर्किंदै जाँदा कडा चेतावनी दिएका छन्। उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए गम्भीर परिणाम भोग्नुपर्ने संकेत गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले इरानको वर्तमान अवस्थालाई ‘निर्णायक मोड’को रूपमा चित्रण गरेका छन्। उनले लेखेका छन् कि यदि परिस्थिति नियन्त्रणमा नआए “पूरै सभ्यता नै नष्ट हुने” अवस्था आउन सक्छ, जुन फेरि कहिल्यै पुनःस्थापित नहुन सक्छ।
ट्रम्पले आफूले यस्तो परिणाम नचाहेपनि घटनाक्रम त्यही दिशातर्फ उन्मुख हुन सक्ने संकेत गरेका छन्। उनले इरानमा ठूलो राजनीतिक परिवर्तन आउन सक्ने दाबी गर्दै “पूर्ण शासन परिवर्तनपछि फरक र कम उग्र सोच भएका नेतृत्व उदाउन सक्छ” भन्ने आशा व्यक्त गरेका छन्।
उनको भनाइमा, वर्तमान अवस्था विश्व इतिहासकै “महत्वपूर्ण क्षण”मध्ये एक हुनसक्ने उल्लेख गरिएको छ। उनले विगत ४७ वर्षदेखि जारी रहेको ‘जबर्जस्ती, भ्रष्टाचार र हिंसा’को अन्त्य हुन सक्ने दाबी पनि गरेका छन्।
ट्रम्पको यो अभिव्यक्तिलाई इरानप्रति कडा दबाब सिर्जना गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ। पछिल्ला दिनहरूमा अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्दै गएको सन्दर्भमा आएको यो चेतावनीले अन्तर्राष्ट्रिय समुदायको ध्यान पुनः मध्यपूर्वतर्फ तानेको छ।
.jpg)
