जनकपुर । नेपाली कांग्रेसले आफ्नो संगठनात्मक संरचना पुनः व्यवस्थित गर्ने तयारीसँगै पुराना क्रियाशील सदस्यता प्रणालीलाई खारेज गर्ने संकेत दिएको छ । पार्टीका सभापति गगन थापाले बुधबार जनकपुरधाममा आयोजित पार्टीको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सम्बोधन गर्दै निर्वाचनपछि पुराना क्रियाशील सदस्यता स्वतः निष्क्रिय भइसकेको बताएका हुन्।
उनले अब नयाँ ढंगले सदस्यता वितरण गरिने उल्लेख गर्दै आगामी वैशाख १ गतेदेखि देशव्यापी ‘जरा अभियान’ सुरु गरिने जानकारी दिए। उक्त अभियानमार्फत वडा तहदेखि संगठन पुनर्गठन गरिने र आफूले पनि आफ्नै वडाबाट नयाँ सदस्यता लिएर अभियान सुरु गर्ने उनले बताए।
थापाले पार्टीभित्र देखिएको गुटबन्दी र अन्तरघात अन्त्य गर्न सदस्यताको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए। “संख्यात्मक रूपमा ठूलो सदस्यता होइन, सक्रिय र अनुशासित सदस्य आवश्यक छन्,” उनले भने, “दश लाख निष्क्रिय सदस्यभन्दा एक लाख सक्रिय सदस्य भए पनि पार्टी बलियो बन्छ।”
सभापति थापाले कांग्रेसका भ्रातृ संगठनहरू लामो समयदेखि तदर्थ व्यवस्थामा सञ्चालन हुँदै आएको र त्यसले संगठनलाई कमजोर बनाएको उल्लेख गरे। अब विधान संशोधनमार्फत नयाँ पुस्तालाई भातृ सस्थाको नेतृत्वमा ल्याउने र संगठनलाई चलायमान बनाउने तयारी भइरहेको उनको भनाइ थियो।
सरकारमा रहेका कांग्रेसका मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे उठेका प्रश्नको समीक्षा गर्न उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले छिट्टै काम सुरु गर्ने जानकारी पनि उनले दिए।
कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले हालैको निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै कमजोरीहरूको गहिरो समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका थिए। गोष्ठीमा मधेस प्रदेशका आठवटै जिल्लाका सभापतिहरूले आफ्नो क्षेत्रको संगठनात्मक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
मधेस प्रदेशमा गत फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावमा ३२ सिटमध्ये ३० सिटमा रास्वपाले चुनाव जितेको थियो । बाँकी २ मा एउटामा कांग्रेस र अर्काेमा नेकपाले चुनाव जितेको थियो ।
.jpg)
