कांग्रेसमा दल नेता छान्न सकस

दूतमार्फत गगनको ससुरासँग संवादको प्रयास

दूतमार्फत गगनको ससुरासँग संवादको प्रयास

images
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । राजनीतिमा कहिलेकाहीँ यस्तो घडी पनि आउँछ, जहाँ सत्ता र सम्बन्ध आमनेसामने उभिन्छन्, र निर्णयको बाटो सीधै टकरावसम्म पु¥याईदिन्छ । नेपाली कांग्रेसमा अहिले त्यस्तै परिस्थिती जन्मेको छ ।  नेपाली कांग्रेस भित्र अहिले त्यही दृश्य देखिएको छ, जहाँ सभापति गगन थापाले आफ्नै ससुरा अर्जुननरसिंह केसी लाई मनाउन अरू नेतालाई ‘दूत’ बनाएर पठाउनुपर्ने असहज अवस्था निम्तेको छ ।

    कांग्रेस अहिले संसदको प्रमुख प्रतिपक्षी दलको रुपमा विगतभन्दा सानो संख्यामा खुम्चिन पुगेको छ । तर प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को समेत सदस्य हुने भएकाले कांग्रेसमा दल नेता छान्न पार्टी नेताहरुलाई सकस परिरहेको छ ।  त्यसको कारण एउटै छ, अर्जुननरसिंह केसीले नछोडेको दल नेताको दावी । उमेर, अनुभव, राजनीति यी सवै कारण अहिले प्रतिनिधिसभामा सहभागी कांग्रेस नेताहरुमध्ये केसी अब्बल र अनुभवी मानिन्छन् । उनीभन्दा सिनियर कोही पनि अहिले कांग्रेसको संसदीय दलमा छैनन । तर उनलाई दल नेता बनाउन उनकै ज्वाई अर्थात कांग्रेस सभापति गगन थापा आफै अवरोध बनेर उभिदिएका छन् । 

    गगन पार्टी अप्ठयारो अवस्थामा रहेका बेला आफुलाई आरोप लाग्न नदिने पक्षमा छन् । पहिलो आफ्नै ससुराबालाई दल नेता छान्दा आफ्नै ससुरालाई दल नेता बनाएको आरोपबाट उनी मुक्त हुन चाहान्छन् । दोस्रो, गगन पार्टीमा बुढाहरुलाई होइन, नयाँ युवा पुस्ताका नेतालाई अगाडी बढाउन चाहान्छन् । अहिले युवालाई रोकेर, अझ प्रत्यक्ष सांसदलाई रोकेर समानुपातिक सांसद छान्दा त्यसको सन्देश राम्रो नजाने बुझाईमा छन् । त्यही कारण पनि उनी आफ्नै ससुराबालाई फकाउन अनेक कोसिसमा लागिरहेका छन् ।  

    संसदीय दलको नेताको दाबी नछोड्ने आफ्नै ससुरावा केसीको अडान र त्यसलाई फकाएर सहमति खोज्नुपर्ने थापाको बाध्यता र तनावले कांग्रेसको राजनीति मात्रै होइन, पारिवारिक सम्बन्धसमेत कठोर परीक्षामा परेको देखिएको छ । राजनीतिको उतरार्धमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आफुलाई आउन लागेको भूमिकामा नाता सम्वन्ध देखाएर गगनले रोक्न खोजेकोमा केसीलाई चित्त बुझेको छैन ।


    त्यही असहजतालाई सहज बनाउन थापाले आफ्ना विश्वासपात्र नेताहरूलाई ‘दूत’ बनाए। उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्दय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा प्रवक्ता देवराज चालिसेसम्मलाई दूत बनाएर उनले आफ्नै ससुराबाको ढोका ढकढक्याउन पठाए । दूतमार्फत गगनको ससुराबालाई सिधा सन्देश थियो- सर्वसम्मति सम्भव भए ठीक, नभए दाबी छोडेर सहयोग गर्नुस्।


    तर राजनीति सधैं आग्रहले चल्दैन, कहिलेकाहीँ अडानले नै दिशा तय गर्छ भनेझै केसीले ज्वाईको प्रस्तावको प्रतिवाद गरेका छन् । केसीका लागि यो क्षण व्यक्तिगतभन्दा बढी राजनीतिक छ। उनले स्पष्ट पारे, आफ्नो पहिचानलाई ‘गगन थापाको ससुरा’ भनेर सीमित गरिनु स्वीकार्य छैन।
    उनको नजरमा यो प्रतिस्पर्धा पदको होइन, सम्मानको हो।

    राजनीतिमा उनले बनाएको यात्रालाई नातासँग जोडेर अवमूल्यन गर्न खोजिएको अनुभूति केसीलाई छ। यता पार्टीभित्रका धेरै नेता भने सहमतिको विकल्प खोजिरहेका छन्। भीष्मराज आङदम्बे लगायतका नाममा सर्वसम्मति जुटाउने प्रयास भइरहेको छ। तर समीकरणहरू अझै स्पष्ट छैनन्।
    दलका नेतामा अर्जुननरसिंह केसीदेखि पार्टीका तत्कालीन सहमहामन्त्री भीष्मराज आङदम्बे, मोहन आचार्य र भरतबहादुर खड्काको दाबी छ । पार्टी पदाधिकारीहरू आङदम्बेको नाममा सर्वसम्मति बनाउन खोजिरहेका छन् ।

    स्थापन पक्षमा सहमति भए पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट कुनै एकलाई अघि सार्न सक्ने सम्भावना कायमै छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend