काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि संस्थागत (निजी) विद्यालयतर्फको छात्रवृत्ति आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक परीक्षामार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो।
सूचनाअनुसार इच्छुक विद्यार्थीहरूले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइटबाट भर्न सकिने व्यवस्था गरिएको छ। छात्रवृत्तिसम्बन्धी विषयगत अङ्कभार, विद्यालयअनुसारको कोटा तथा परीक्षा केन्द्रलगायतका विस्तृत जानकारी पनि वेबसाइटमै उपलब्ध गराइएको महानगरले जनाएको छ।
छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न समावेश गरिने बताइएको छ।
महानगरपालिकाले शिक्षा सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनपछि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या निरन्तर बढ्दै गएको दाबी गरेको छ। महानगरका अनुसार गत शैक्षिक सत्र २०८२ मा मात्रै २० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका थिए।
तथ्याङ्कअनुसार पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको थियो। महानगरले गत वर्ष मात्रै करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण भएको जनाएको छ।
हेर्नुुहोस् सूचना
.jpg)
