काठमाडौं । कप्तान लियोनल मेस्सीको ऐतिहासिक ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुआत गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
३८ वर्षको उमेरमा पनि मेस्सीको जादु कायम रहेको प्रमाणस्वरूप उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यो उनको विश्वकप करियरकै पहिलो ह्याट्रिक हो। खेलको सुरुवातमै उनले गरेको एक गोल अफसाइडका कारण मान्यता पाउन सकेको थिएन।
खेलभरि अर्जेन्टिनाले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो। पहिलो हाफमै अग्रता दिलाएका मेस्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। ७६औँ मिनेटमा आफ्नो चर्चित बायाँ खुट्टाको शक्तिशाली प्रहारमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए।
ह्याट्रिकपछि प्रशिक्षकले मेस्सीलाई विश्राम दिँदै युवा खेलाडी निको पाजलाई मैदानमा उतारेका थिए। मेस्सी मैदानबाट बाहिरिँदा रंगशालामा उपस्थित हजारौँ दर्शक उठेर सम्मान प्रकट गरेका थिए।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। अब मेस्सी र क्लोज संयुक्त रूपमा विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। जारी विश्वकपमा थप एक गोल गर्नासाथ मेस्सी एक्लै सर्वाधिक गोलकर्ता बन्नेछन्।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै विश्वकपमा छैटौँ संस्करण खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। उनले सन् २०१० बाहेक पाँचवटा विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गरेका छन्। सन् २०२२ मा कतारमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले यसपटक पनि उपाधि रक्षा अभियानलाई बलियो सुरुआत दिलाएका छन्।
यस जितसँगै अर्जेन्टिनाले तीन अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- लियोनल मेस्सी (अर्जेन्टिना) – १६ गोल*
- मिरोस्लाभ क्लोज (जर्मनी) – १६ गोल
- रोनाल्डो (ब्राजिल) – १५ गोल
- गर्ड मुलर (पश्चिम जर्मनी) – १४ गोल
- केलियन एम्बाप्पे (फ्रान्स) – १४ गोल
*अल्जेरियाविरुद्धको ह्याट्रिकपछि।
.jpg)
