काठमाडौँ । ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न रहेको आरोपमा प्रहरीले सात विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेलस्थित फायरचोक क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापमार्फत हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई जना भियतनामका नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
.jpg)
