सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवंम अर्थमन्त्री विष्णु पौडेल सोमबार साँझ सुर्खेतबाट पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनी सहभागी भइरहेको एमालेको आन्तरिक कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको हो। घटनापछि एमालेले यसलाई ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै सरकारको कडा आलोचना गरेको छ।
पौडेल एमालेको चुनावी समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमका लागि आइतबार सुर्खेत पुगेका थिए। सोमबार बिहानदेखि सुर्खेतस्थित शुभ होटलमा कर्णाली प्रदेशस्तरीय कार्यक्रम चलिरहेको बेला साँझतिर सादा पोशाकका प्रहरी अधिकारीहरू कार्यक्रमस्थल पुगेका थिए।
कार्यक्रममा सहभागी एमाले केन्द्रीय सदस्य रुद्र शाहीका अनुसार प्रहरी अधिकारीहरूले सुरुमा ‘काठमाडौं जानुपर्यो सर’ भन्दै पौडेललाई हलबाहिर बोलाएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) ठाकुर पोखरेल स्वयं होटल परिसरमा पुगेर ‘माथिको आदेशअनुसार जानुपर्ने’ जानकारी दिएका थिए। त्यसपछि पौडेल प्रहरीसँगै बाहिरिएका थिए।
शाहीका अनुसार पक्राउ गर्ने तयारीबारे कार्यक्रममा रहेका एमाले नेताहरूलाई कुनै पूर्वजानकारी थिएन। कार्यक्रम करिब सकिनै लागेको अवस्थामा यसरी नियन्त्रणमा लिइनुले सबैलाई आश्चर्यमा पारेको उनले बताए। सुर्खेतका एसपी ठाकुर पोखरेलले भने माथिल्लो निकायको निर्देशनअनुसार अनुसन्धानका लागि पौडेललाई पठाइएको बताए। उनका अनुसार पौडेललाई सोमबार साँझ नियन्त्रणमा लिएर नेपालगञ्ज ल्याइएको छ। उनलाई अहिले त्यही राखिएको छ । काठमाडौंका लागि उडान उपलब्ध नभएकाले मंगलबार बिहान काठमाडौं पठाउने तयारी गरिएको छ।
एसपी पोखरेलले पौडेलबाहेक कार्यक्रममा सहभागी अन्य एमाले नेतामाथि कुनै कारबाही नगरिएको स्पष्ट पारे। गृह मन्त्रालय स्रोतका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो। विभागले केही समयदेखि उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ।
सोमबार नै काठमाडौंको भैँसेपाटीस्थित पौडेलको निवासमा विभागको टोलीले खानतलासीसमेत गरेको स्रोतको दाबी छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले पौडेललाई सुरुमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र त्यसपछि काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
पौडेल पछिल्ला केही सातायता एमालेभित्र नेतृत्व पुनर्गठनको बहससँग जोडिएको देशव्यापी सुझाव संकलन अभियानमा सक्रिय थिए। कोशी, लुम्बिनी र सुदूरपश्चिमका कार्यक्रम सकेपछि टोली कर्णाली पुगेको थियो। सुर्खेतमा आयोजित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरूको उपस्थिति थियो। कार्यक्रममा नेतृत्व पुनर्गठनको पक्ष र विपक्षमा नेताहरूले धारणा राखिरहेका बेला पौडेल पक्राउ परेका हुन्।
एमालेको कडा प्रतिक्रिया : ‘अपहरण शैलीको गिरफ्तारी’
पौडेल पक्राउ परेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै घटनाको कडा विरोध गरेका छन्। एमालेले पौडेल कार्यक्रम सकेर भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहेकाले सामान्य कानुनी प्रक्रियामार्फत अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै कार्यक्रमस्थलबाटै पक्राउ गर्नु बदनियतपूर्ण कदम भएको जनाएको छ।
पार्टीले सार्वजनिक पदमा रहिसकेका, कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तिलाई ‘सस्तो राजनीतिक खपत’ का लागि लक्षित गरिएको आरोप लगाएको छ। वक्तव्यमा वर्तमान सरकारले विपक्षी दलमाथि प्रतिशोधको राजनीति गरिरहेको दाबी गर्दै यस घटनालाई ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको अर्को पराकाष्ठा’ भनिएको छ। अध्यक्ष ओलीले वक्तव्यमा भनेका छन्, ‘यो दमनकारी कदम र नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार तथा राजनीतिक षड्यन्त्रको निरन्तरता हो।’
एमालेले सरकारलाई विपक्षी नेतामाथिका प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वानसमेत गरेको छ।
.jpg)
