काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । विश्वकप फुटबल चलिरहेका बेला नेपाली फुटबलले भने दुखद समय ब्यहोनु परेको छ । अर्थात विश्वकप चलिरहेका बेला नेपाली फुटबल भने फिफाबाट निलम्बित हुनुपरेको छ । जसकाकारण नेपाली फुटबल गम्भीर संकटमा परेको छ।
फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत एन्फामाथि निलम्बनको निर्णय गरेसँगै नेपालको राष्ट्रिय टोलीदेखि क्लब फुटबलसम्मका सम्पूर्ण अन्तर्राष्ट्रिय गतिविधिमा प्रत्यक्ष असर पर्ने भएको छ।
फिफाले अर्को निर्णय नभएसम्मका लागि एन्फाको सदस्यता अधिकार स्थगित गरेको जनाएको छ। यससँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै अधिकार गुमाएको छ। निलम्बनको सबैभन्दा ठूलो असर नेपाली राष्ट्रिय फुटबल टोली र क्लबहरूमा पर्नेछ। अब एन्फाको मातहतमा रहेका राष्ट्रिय पुरुष तथा महिला टोली, उमेर समूहका टोली र नेपाली क्लबहरूले फिफा वा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
यसको अर्थ नेपालले आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, विश्वकप छनोट, एशियन कप छनोट तथा एएफसीका विभिन्न प्रतियोगितामा समेत सहभागी हुन नपाउने अवस्था सिर्जना भएको छ। यस्तै, नेपाली क्लबहरू पनि एएफसी कप तथा अन्य महादेशीय प्रतियोगिताबाट बाहिरिनेछन्। निलम्बनको अर्को महत्वपूर्ण प्रभाव आर्थिक क्षेत्रमा पर्नेछ। एन्फाले फिफा र एएफसीमार्फत प्राप्त गर्दै आएको विकास अनुदान, परियोजना सहायता र अन्य वित्तीय सहयोग तत्काल प्रभावित हुने भएको छ। नेपाली फुटबलको पूर्वाधार विकास, ग्रासरुट कार्यक्रम, प्रशिक्षण र प्रशासनिक सुधारका लागि आउने अन्तर्राष्ट्रिय सहयोग रोकिने जोखिम बढेको छ।
फिफाले एन्फासँग आबद्ध सदस्य, पदाधिकारी तथा कर्मचारीहरूलाई समेत असर पर्ने स्पष्ट गरेको छ। निलम्बन कायम रहँदासम्म एन्फा वा त्यससँग सम्बन्धित कुनै पनि व्यक्ति फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम, सेमिनार, प्रशिक्षण तथा प्राविधिक सहयोग कार्यक्रममा सहभागी हुन पाउने छैनन्। यसले प्रशिक्षक, रेफ्री, प्रशासक र प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ।
यद्यपि, फिफाले निलम्बन स्थायी नभएको स्पष्ट गरेको छ। अर्को फिफा कांग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक सर्त पूरा भएको ठहर गरे जुनसुकै बेला निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ। तर निलम्बन कायम रहे नेपाली फुटबलले अन्तर्राष्ट्रिय मान्यता, प्रतिस्पर्धा, आर्थिक स्रोत र विकासका अवसर एकैपटक गुमाउने भएकाले यसको असर खेलमैदानदेखि प्रशासनिक तहसम्म व्यापक रूपमा पर्ने निश्चित देखिएको छ।
.jpg)
