चितवन । सत्ता सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व टुंग्याएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएसँगै अब उनको नेतृत्वमा पार्टी हाँक्ने ‘कमाण्ड टिम’ पनि लगभग पूरा भएको छ। पार्टी सभापति सहित निर्वाचित ८ पदाधिकारी चयन भएको छ भने मनोनित ११ पदाधिकारी चयन हुन बाँकी छ । जसमध्ये १ मा अहिलेका प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह (बालेन) बरिष्ठ नेताका रुपमा चयन हुनेछन् । १९ सदस्यीय पदाधिकारीमा बाँकी १० मा मनोनित हुने ब्यवस्था छ ।
सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । महिला उपसभापति, महामन्त्री र एक महिला सहित ३ सहमहामन्त्रीमा भने निर्वाचन भएको थियो । यी पदहरुमा निर्वाचित ब्यक्तिहरुको छवि हेर्दा निर्वाचनको परिणामले पार्टीभित्र रविको राजनीतिक प्रभाव मात्र होइन, उनले रोजेको नेतृत्व टोलीप्रति प्रतिनिधिहरूको विश्वास पनि पुष्टि गरेको छ।
महाधिवेशनअघि नै सभापति रवि लामिछाने र उपसभापति खुल्लामा स्वर्णिम वाग्लेलाई निर्विरोध बनाइएको थियो। त्यसपछि भएको निर्वाचनबाट महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरूमा निशा डाँगी, हरि ढकाल र असिम शाह विजयी बनेका छन्।
सबैभन्दा बढी चासोको प्रतिस्पर्धा महिला उपसभापतिमा देखिएको थियो। पार्टीका दुई लोकप्रिय अनुहार सोविता गौतम र डा. तोसिमा कार्कीबीच भएको प्रतिस्पर्धामा सोविताले ७८९ मत ल्याउँदै ५७२ मत प्राप्त गरेकी तोसिमालाई स्पष्ट अन्तरले पराजित गरिन्। यो परिणामलाई रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्व सन्तुलन तय गर्ने संकेतका रूपमा समेत हेरिएको छ।
महामन्त्रीमा विपिनकुमार आचार्यले ६७३ मतसहित सहज जित निकाल्दा मनिष झा ३४६ मतमा सीमित भए। गणेश कार्की, सागर ढकाल र उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले पनि केही मत प्राप्त गरे। सहमहामन्त्रीतर्फ महिलामा निशा डाँगी ७३७ मतसहित सबैभन्दा लोकप्रिय उम्मेदवार बनिन् भने खुलातर्फ असिम शाह ४७१ मत ल्याएर पहिलो भए। हरि ढकाल पनि निर्वाचित भए । त्यसपछि पराजित भएका महामन्त्रीका उम्मेदवारहरु पुकार बम, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने र सुलभ खरेल क्रमशः पछाडि रहे। हिमेश पन्त सबैभन्दा कम ५३ मतमा सीमित भए।
महाधिवेशनले निर्वाचित गरेका यी पदाधिकारीसँगै अब पार्टीको दैनिक संगठन सञ्चालन, नीति निर्माण, आन्दोलन र सरकार सञ्चालनको समन्वय गर्ने जिम्मेवारी रविको टिममा केन्द्रित हुनेछ। पार्टी विधानअनुसार सभापति लामिछानेले केन्द्रीय समितिमा एक तिहाइ सदस्य तथा १९ सदस्यीय पदाधिकारीमध्ये १० जनासम्म मनोनयन गर्ने अधिकार पनि राख्ने भएकाले महाधिवेशनपछि उनी झनै शक्तिशाली सभापतिको रूपमा स्थापित भएका छन्।
रास्वपाले पहिलो महाधिवेशनअघि नै देशको सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरिसकेको थियो। दुई तिहाइ नजिकको जनादेशपछि सम्पन्न महाधिवेशनले त्यसलाई संगठनात्मक वैधता पनि दिएको छ। सहकारी प्रकरण, जेल जीवन, राजनीतिक संघर्ष र त्यसपछिको पुनरागमन पार गर्दै आएका रवि लामिछाने अब जनमतबाट मात्र होइन, पार्टी प्रतिनिधिहरूबाट पनि औपचारिक रूपमा नेतृत्वको पूर्ण म्यान्डेट पाएका छन्।
.jpg)
