चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो, पराग्वेको ऐतिहासिक सफलता

चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो, पराग्वेको ऐतिहासिक सफलता

images
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । चार पटकको विश्व विजेता जर्मनी सन् २०२६ को फिफा विश्वकपबाट बाहिरिएको छ। निकै रोमान्चक र नाटकीय बनेको खेलमा पराग्वेले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

    निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

    खेलको ४२औँ मिनेटमा जुलियो एन्सिन्सोले उत्कृष्ट हेडमार्फत गोल गर्दै पराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए। दोस्रो हाफमा जर्मनीले खेलमा पुनरागमन गर्दै दबाब बढायो। फ्लोरियान विर्ट्जको आकर्षक पासलाई काइ हाभर्ट्जले हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

    अतिरिक्त समयमा जर्मनीका जोनाथन टाहले गोल गरे पनि गोलकिपरमाथि फाउल भएको भन्दै रेफ्रीले त्यसलाई मान्यता दिएनन्। त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भयो।

    पेनाल्टीमा जर्मनीको सुरुआत निकै निराशाजनक रह्यो। टोलीका स्टार खेलाडी काइ हाभर्ट्ज र निक भोल्टेमाडेको प्रहार पराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे। जर्मनीका अनुभवी ४० वर्षीय गोलकिपर म्यानुएल नोयरले पनि केही प्रहार रोक्दै टोलीलाई आशा दिलाउने प्रयास गरेका थिए।

    तर अन्ततः जर्मनीका जोनाथन टाहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

    खेल सकिएलगत्तै जर्मनीका खेलाडी र समर्थक भावुक बनेका थिए भने पराग्वे पक्ष उत्सवमा डुबेको थियो। यो जितलाई पराग्वेको फुटबल इतिहासकै सबैभन्दा गौरवपूर्ण उपलब्धिमध्ये एकका रूपमा हेरिएको छ।

    अब पराग्वेले अन्तिम १६ मा फ्रान्स वा स्वीडेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीका लागि भने २०२६ विश्वकपको यात्रा अपेक्षाभन्दा धेरै छिट्टै निराशाजनक रूपमा समाप्त भएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend