काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज औपचारिक रूपमा शपथ ग्रहण गर्दैछ। शपथसँगै पार्टीको नयाँ केन्द्रीय समितिले आफ्नो कार्यकाल प्रारम्भ गर्ने भएको छ भने बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया पनि अघि बढाइनेछ।
पार्टीका अनुसार बुधबार (आज) बालाजु चःमतिस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्य र सात जना पदाधिकारीले शपथ लिने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहण सम्पन्न भएपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ। उक्त बैठकले सभापतिबाट मनोनयन गरिने पदाधिकारी तथा केन्द्रीय सदस्य चयन प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउनेछ।
रास्वपाको विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुन्छन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने अधिकार राख्छन्। त्यस्तै, १९ सदस्यीय पदाधिकारी संरचनामध्ये सभापतिसहित सात जना निर्वाचनबाट आउने व्यवस्था छ भने अन्य पदाधिकारी सभापतिको सिफारिसमा मनोनयन गरिन्छ।
यसपटक महाधिवेशनअघि पार्टीमा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको समूह तथा विवेकशील साझा पृष्ठभूमिबाट आएका नेताहरूलाई संगठनको नेतृत्व तहमा समेट्ने उद्देश्यले विधान संशोधन गरी मनोनयनबाट पूर्ति हुने पदहरूको संख्या बढाइएको थियो।
पार्टीभित्र विभिन्न समूहबीच भएको सहमतिअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्न कठिन हुने समायोजित समूहका नेताहरूलाई मनोनयनमार्फत नेतृत्वमा समावेश गर्ने समझदारी बनेको थियो। सोही सहमतिका आधारमा महाधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत करिब एक दर्जन नयाँ पदको व्यवस्था गरिएको थियो।
रास्वपाले बरिष्ठ नेतामा प्रधानमन्त्री रहेका बालेन्द्र शाह, मनोनित उपसभापतिमा सुनि लम्साल र मनोनित महामन्त्रीमा भुपदेव शाहलाई बनाउने समझदारी बनेको बताइन्छ ।
अब शपथ र पहिलो केन्द्रीय समिति बैठकपछि ती पदहरूमा हुने मनोनयनले रास्वपाको नयाँ नेतृत्वको पूर्ण संरचना टुंगो लाग्ने अपेक्षा गरिएको छ।
.jpg)
