काठमाडौं । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेको कडा चुनौतीलाई कठिन संघर्षपछि पार गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको मियामी स्टेडियममा शनिबार भएको रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अर्जेन्टिनाले खेलको २९ औं मिनेटमा कप्तान लियोनल मेसीको गोलबाट अग्रता बनाएको थियो। मेसीको यो विश्वकप करिअरको २० औं गोल पनि हो। तर, दोस्रो हाफको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काए र निर्धारित समय १–१ को बराबरीमा सकियो।
अतिरिक्त समय सुरु भएको दुई मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर, केप भर्डे फेरि पनि दबाबमा झुकेन। १०३औं मिनेटमा सिड्नी लोप्स काब्रालले शानदार गोल गर्दै खेललाई दोस्रोपटक बराबरीमा ल्याए।
खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला १११औं मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो। त्यसपछि बाँकी समयमा केप भर्डेले अर्को बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन।
अर्जेन्टिनाविरुद्ध केप भर्डेले देखाएको प्रदर्शन भने सबैको प्रशंसाको केन्द्र बन्यो। पहिलोपटक विश्वकपको नकआउट चरण खेलेको टोलीले दुईपटक खेल बराबरीमा ल्याएर साविक विश्व विजेतालाई अन्तिम क्षणसम्म दबाबमा राखेको थियो।
जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। उता हारसँगै केप भर्डेको ऐतिहासिक विश्वकप यात्रा भने समाप्त भएको छ।
.jpg)
