फिफा विश्वकप २०२६

तेस्रो स्थानमा इङ्ग्ल्यान्ड, फाइनलअघि ‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे-मेस्सी आमनेसामने

तेस्रो स्थानमा इङ्ग्ल्यान्ड, फाइनलअघि ‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे-मेस्सी आमनेसामने

images
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदै प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको छ। फ्रान्सलाई पराजित गर्दै इङ्ग्लिस टोलीले विश्वकप यात्रा सुखद रूपमा टुंग्याएको हो। यससँगै अब सबैको ध्यान आइतबार मध्यरातपछि हुने अर्जेन्टिना–स्पेनबीचको फाइनल र ‘गोल्डेन बुट’को रोचक प्रतिस्पर्धातर्फ केन्द्रित भएको छ।

    तेस्रो स्थानको खेलमा इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गरेको थियो। निर्धारित समयको रोमाञ्चक खेलमा जूड बेलिङ्घमले इन्जुरी समयको आठौँ मिनेट (९८औँ) मा गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरेका थिए। यस गोलसँगै बेलिङ्घमले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गर्दै एकै विश्वकप संस्करणमा इङ्ग्ल्यान्डका खेलाडीले गरेको सर्वाधिक गोलको नयाँ कीर्तिमानसमेत बनाए।

    यता फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले दुई गोल थप्दै व्यक्तिगत प्रदर्शनलाई भने उत्कृष्ट बनाए। उनले विश्वकप २०२६ मा आफ्नो गोल संख्या १० पुर्‍याएका छन् र ‘गोल्डेन बुट’को दौडमा शीर्ष स्थानमा रहेका छन्।

    उनलाई पछ्याइरहेका अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले हालसम्म ८ गोल गरेका छन्। अर्जेन्टिनाले स्पेनसँग फाइनल खेल्न बाँकी रहेकाले मेस्सीसँग एम्बाप्पेलाई उछिन्ने अवसर अझै जीवित छ। यदि फाइनलमा मेस्सीले दुई वा सोभन्दा बढी गोल गरे भने गोल्डेन बुटको समीकरण अन्तिम खेलमै बदलिन सक्छ।

    Spain-vs-Argentina-matchup-history-as-the-two-prepare-for-Wold-Cup-glory.webp

    विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा पनि एम्बाप्पे र मेस्सीबीचको प्रतिस्पर्धा रोचक बनेको छ। एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या २२ पुगेको छ भने मेस्सी २१ गोलसहित उनको पछाडि छन्।

    अब प्रतियोगिताको अन्तिम खेलमा उपाधिसँगै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धाले पनि उत्तिकै चर्चा पाएको छ।

    डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो। उता स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो र अहिले दोस्रो उपाधिको खोजीमा मैदान उत्रिनेछ।

    संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ को उपाधि भिडन्त नेपाली समयअनुसार आइतबार मध्यरातपछि हुनेछ। विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच हुने यो खेलले नयाँ विश्वविजेता मात्र होइन, गोल्डेन बुटको विजेतासमेत तय गर्नेछ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend