काठमाडौँ । सुनसरीलगायत तराई–मधेशका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दु र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरेका छन् ।
उनीहरूले सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गरेका छन् ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गरेका छन् ।
संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।
“विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अनुरोध गर्दछौँ”, संयुक्त अपिलमा भनिएको छ ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै उहाँहरूले यहाँका धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान राष्ट्रिय एकता र पहिचानका आधार भएको बताउनुभयो । “कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्न हुँदैन भन्नेमा हामी स्पष्ट छौँ”, अपिलमा भनिएको छ ।
.jpg)
