अमेरिकी कम्पनी स्पेसएक्स (SpaceX) को गत वर्षदेखि अन्तरिक्षमा भौंतारिरहेको रकेटको एउटा टुक्रा बुधबार (आज) उच्च गतिमा चन्द्रमामा ठोक्किने भएको छ। यो वस्तु विद्यालयको बसजत्रो आकारको फाल्कन–९ (Falcon 9)रकेटको दोस्रो चरण हो। यसले जनवरी २०२५ मा अमेरिकी कम्पनी Firefly Aerospace को Blue Ghost चन्द्र अभियानका लागि ल्याण्डरलाई चन्द्रमातर्फ प्रक्षेपण गरेको थियो।
करिब ४ मेट्रिक टन (४,००० किलोग्राम) तौल भएको यो रकेटको भाग बुधबार अमेरिकी समयअनुसार राति २ :३५ बजे र नेपाली समय अनुसार दिउँसो १२ :२० बजे ठोक्किने जनाइएको छ।
ठोक्किने बेला यसको गति प्रति घण्टा ८,६९० किलोमिटर (५,४०० माइल) हुनेछ। यसको प्रभावले चन्द्रमाको सतहबाट ठूलो मात्रामा धुलो उड्ने अपेक्षा गरिएको छ। सूर्यको प्रकाशका कारण धुलो केही समय चम्किन सक्ने भए पनि पृथ्वीबाट नाङ्गो आँखाले देख्न भने निकै कठिन हुनेछ।
स्पेसएक्सका अनुसार, यो घटना योजनाबद्ध नभई आकस्मिक हो। रकेटको टुक्रा चन्द्रमाको पश्चिमी किनारामा रहेको आइन्स्टाइन क्रेटर (Einstein Crater) क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ, जुन पृथ्वीबाट सामान्यतया स्पष्ट देखिँदैन।
कसरी पुग्यो चन्द्रमातर्फ ?
सामान्यतया यस्ता रकेटका दोस्रो चरणहरूले आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेर जलेर नष्ट हुन्छन् वा समुद्रमा खस्छन्। तर जनवरी २०२५ को चन्द्र अभियानका लागि सामान्यभन्दा धेरै ऊर्जा आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीमा फर्कन सकेन। इन्धन समाप्त भएपछि नियन्त्रण गर्न नसकिने अवस्थामा त्यो अन्तरिक्षमै हजारौँ अन्य अन्तरिक्ष फोहोर (Space Debris) सँगै भौंतारिइरहेको थियो।
यस वर्षको सुरुतिर मात्र खगोलविद्हरूले यसको कक्षा (Orbit) अध्ययन गर्दा अन्ततः यो चन्द्रमातर्फ जाँदै रहेको पत्ता लगाएका थिए। स्पेसएक्समा नासा विज्ञान तथा ड्रागन कार्यक्रमकी निर्देशक जुलियाना स्काइमनले भनिन्, ‘सूर्यको गतिविधि र गुरुत्वाकर्षणीय शक्तिको संयुक्त प्रभावले यो रकेटको टुक्रालाई चन्द्रमातर्फको मार्गमा धकेलेको हो।’
खगोल विज्ञानमा प्रयोग हुने चर्चित सफ्टवेयरका निर्माता बिल ग्रेले भने,‘यसबाट केही सानो वैज्ञानिक जानकारी प्राप्त हुन सक्छ। यद्यपि यसले कसैलाई कुनै खतरा उत्पन्न गर्दैन। तर अन्तरिक्षमा बाँकी रहने रकेटका भागहरूको व्यवस्थापनमा अझ बढी सावधानी आवश्यक रहेको यो घटनाले देखाउँछ।’
यस्ता घटना पहिले पनि भएका छन् ?
चन्द्रमामा अन्तरिक्ष फोहोर ठोक्किने घटना निकै दुर्लभ मानिन्छ।
- मार्च २०२२ मा चीनको एउटा रकेटको चरण चन्द्रमामा ठोक्किएको थियो।
- २००९ मा नासाले वैज्ञानिक अध्ययनका लागि जानाजानी एउटा रकेटको चरण चन्द्रमामा खसालेको थियो। यसका अतिरिक्त चन्द्रमामा अवतरण गर्ने प्रयासमा असफल भएका केही अन्तरिक्षयान पनि दुर्घटनाग्रस्त भएका छन्।
- रुसको Luna-25 अभियान सन् २०२३ मा नियन्त्रण गुमाएर चन्द्रमामा ठोक्किएको थियो। त्यसमा रहेको प्लुटोनियम–२३८ ऊर्जा स्रोत अहिले पनि चन्द्रमाको सतहमा हानिरहित अवस्थामा रहेको विश्वास गरिन्छ।
- भारतको Chandrayaan-2 को ल्याण्डर सन् २०१९ मा दुर्घटनाग्रस्त भएको थियो।
- त्यही वर्ष इजरायलको Beresheet ल्याण्डर पनि चन्द्रमामा ठोक्किएको थियो। त्यसमा विकिरण र कठोर वातावरणमा पनि बाँच्न सक्ने सूक्ष्म जीव टार्डिग्रेड (Tardigrades) पनि रहेका थिए, जो अहिले पनि चन्द्रमाको सतहमा हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
यसअघि १९७० को दशकमा नासाले Saturn V रकेटका चरणहरू जानाजानी चन्द्रमामा खसालेर त्यसबाट उत्पन्न हुने भूकम्पीय प्रभाव (Seismic Effect) अध्ययन गरेको थियो।
भविष्यमा यस्ता घटना रोक्ने तयारी
स्पेसएक्सका अनुसार भविष्यमा चन्द्रमामा यस्ता अनियन्त्रित ठक्करहरू हुन नदिन नासा र स्पेसएक्सबीच छलफल भइरहेको छ।
नासाले आफ्नो बहु-अर्ब डलरको Artemis कार्यक्रम अन्तर्गत यस दशकको अन्त्यसम्म चन्द्रमामा स्थायी आधार (Lunar Base) निर्माण गर्ने तथा नियमित रूपमा अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ। त्यसैले भविष्यमा अनियन्त्रित अन्तरिक्ष फोहोरले त्यहाँका संरचना वा अभियानमा क्षति नपुगोस् भन्ने उद्देश्यले नयाँ उपायहरू खोजिँदै छन्।
-जोए रुलेट (रोयटर्स)
.jpg)
