प्रधानमन्त्रीको खोजीमा सभामुख : ३५ मिनेट भेटेर पनि सकेनन् फकाउन

प्रधानमन्त्रीको खोजीमा सभामुख : ३५ मिनेट भेटेर पनि सकेनन् फकाउन

सभामुखको आग्रह– संसदमा आउनुस्, प्रधानमन्त्रीको जवाफ– ‘आवश्यक समयमा आउँला’

images
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि मंगलबार सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबार पुगे। भेटको औपचारिक विषय थियो- संघीय संसद्को चालू अधिवेशन र समसामयिक राजनीतिक परिस्थिति। तर, सभामुखको प्रधानमन्त्री कार्यालयको यात्रा यतिमै सीमित थिएन। पछिल्ला दिनमा प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थिति र सरकारका कामकारबाहीमाथि उठिरहेका प्रश्नले राजनीतिक बहस चर्किँदै गएपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्न आग्रह गर्न पुगेका थिए । मंगलबारको भेट पनि त्यसैको निरन्तरता थियो।


    प्रधानमन्त्री शाहसँग करिब ३५ मिनेट कुराकानी गरेर सभामुख बाहिरिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनीहरूबीच समसामयिक राजनीतिक विषयसँगै संघीय संसद्को चालू अधिवेशनका विषयमा छलफल भएको थियो। तर, भेटको राजनीतिक सन्देश भने औपचारिक विवरणभन्दा फरक देखिन्छ।


    पछिल्लो समय संसदमा विपक्षी दलका सांसदहरूले मात्रै होइन, सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले समेत सरकारको कामकारबाहीमाथि प्रश्न उठाउन थालेका छन्। प्रतिनिधिसभाका बैठकमा प्रधानमन्त्रीको अनुपस्थिति सधै चर्चाको विषय बनिनै रहेको छ।
    सांसदहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको सिमा मिचेको भनी दिएको विवादास्पद अभिब्यक्ति, सरकारका निर्णय, कार्यशैली र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीबाटै जवाफ खोजिरहेका छन्। विपक्षी सांसदहरू नियमित रूपमा प्रधानमन्त्रीको खोजी गरिरहेका छन्। संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने आवाज बढिरहेको छ।


    यही परिस्थितिमा सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आउन र सांसदहरूले उठाएका प्रश्नको सामना गर्न आग्रहसहित प्रधानमन्त्री भेटन पुगेका थिए । तर प्रधानमन्त्री शाहले भने तत्काल संसदमा उपस्थित हुनेभन्दा ‘आवश्यक समयमा आउने’ जवाफ दिएर सभामुख अर्याललाई फर्काएका छन् । 

    सभामुख र प्रधानमन्त्रीबीचको मंगलबारको भेटमा पनि प्रधानमन्त्रीले संसदमा उपस्थित हुने विषयमा तत्काल कुनै स्पष्ट प्रतिबद्धता नजनाएको स्रोतको दाबी छ। सभामुखले संसदको गरिमा र संसदीय अभ्यासका लागि प्रधानमन्त्रीको उपस्थितिको आवश्यकता औंल्याए पनि प्रधानमन्त्री भने आफूलाई आवश्यक लागेको समयमा संसदमा उपस्थित हुने जवाफ दिएको बताइएको छ। मंगलबार मध्याह्न १२ः२० बजे प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका सभामुख अर्याल करिब १२ः५५ बजे बाहिरिएका थिए। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend