काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उखानटुक्का जोडेर तथा व्यङ्ग्यात्मक शैलीमा आफ्ना विरोधीलाई तिखो प्रहार गर्नमा माहिर छन्। छुद्र र उटपट्याङ बोलीका कारण बेलाबेला ओली आफैँ व्यङ्ग्यको पात्र बन्छन्, कहिले उनका अभिव्यक्ति विवादित बन्न पुग्छन्। अहिले उनी आफ्नै पार्टी नेताहरुविरुद्द आक्रामक अभिब्यक्तिका कारण विवादमा तानिन थालेका छन् ।
घट्ना १
‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ । पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्,’ ओलीले भने, ‘के मजाक हो यो ? कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिँडेको छ । त्यसका पछाडि केही दम छैन । कति वेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ । अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । हामीलाई पनि थाहा छ । कोही केन्द्रीय सदस्य बनेको होला । जति वेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिवेला अध्यक्ष हटाउँछ भनेको छ । तर, केही हुनेवाला छैन । यी सबै बेकारका कुरा हुन् । यो अराजकता, मनपरीतन्त्र, पार्टीको विरोध गरेर हिँड्न पाइने, जे पायो त्यही स्टाटस लेख्न पाइने, यस्तो खालको हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यो पार्टीको अनुशासन के–के छ गरे हुन्छ । पार्टीमा नबस्ने चुप लागेर घरमै बस्ने हो भने बसे हुन्छ । पार्टीमा काम गर्ने हो भने पार्टीको अनुशासन मान्नुपर्छ ।’
(ओलीले शनिबार इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै )
घट्ना- २
अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिँदैछ, तपाईंहरू सचेत रहनुस् । अहिले कोही लोभी, कोही पापी भएर निस्किए। त्यसैले अहिलेलाई म केही भन्दिनँ, रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिनँ। मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु, पार्टीको महत्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला।’
(बागमती प्रदेशका नेताहरूलाई जेठ ३० मा गुन्डु बोलाएर सम्वोधन गदैं)
घट्ना- ३
‘यति सहन नसकेर ढल्नुभयो । यहाँ भएको सामान्य छलफल त सहन नसक्नेले के प्रदेशको दबाब थेग्न सक्छ ? कसरी प्रदेश सरकार चलाउन सक्छ ? राप्रपाको समर्थन भोलिसम्म जसले ल्याउँछ, उसैले नेतृत्व गर्ने हो । यो (जगन्नाथ थपलिया) सेरिएर मर्ने भयो, यसलाई उठाऊ ।
(ओली साउन १९ गते गुन्डुमा बागमती प्रदेशका सांसदहरुलाई बोलाएर सम्वोधन गदै)
यी तीन अभिब्यक्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी नेतामाथी दिएका असहिष्ण र छुद्र अभिब्यक्ति हुन् । ओली पछिल्ला दिनमा आफ्नै पार्टीभित्रबाट उठिरहेको नेतृत्व पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसप्रति असहिष्णु देखिन थालेका छन् । पार्टीको कमजोर चुनावी परिणाम, जनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र स्वयं अध्यक्षसहित पदाधिकारी तहका नेताहरूको निर्वाचन पराजयपछि एमालेभित्र नेतृत्वमाथि प्रश्न उठिरहेका बेला ओलीको अभिव्यक्ति भने झन् आक्रामक र व्यक्तिगत हुँदै गएको छ ।
शनिबार इलाममा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गरिरहेका नेता–कार्यकर्तालाई ‘आवारा’, ‘उरन्ठेउला’ र ‘अनुशासनहीन’ जस्ता शब्द प्रयोग गरे । पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा भइरहेको भन्दै उनले त्यस्तो बहसलाई ‘मजाक’को संज्ञा दिए । पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष चुनेकाले अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने उनको स्पष्ट सन्देश थियो ।
केही अगाडी पार्टीमा उनैलाई निरन्तर साथ दिईरहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापी र पार्टी विभाजन गर्न सक्ने सम्मको आरोप लगाउन भ्याए । त्यक्तिमात्रै होइन, वर्षाै एमालेमा लगानी गरेका बागमती प्रदेशका नेता जगन्नाथ थपलियामाथी त झन् अमानविय टिप्पणी नै उनले गरे ।
ओलीको यो अभिव्यक्ति केवल केही असन्तुष्ट कार्यकर्ताप्रतिको आक्रोशका रूपमा मात्र बुझ्ने अवस्था छैन । एमालेभित्र अहिले उठिरहेको मूल प्रश्न नै नेतृत्वको निरन्तरता र पार्टी पुनर्गठनसँग जोडिएको छ । त्यसैले ओलीका पछिल्ला अभिव्यक्तिलाई पार्टीभित्र आफ्नो नेतृत्वमाथि चुनौती बढ्दै गएको अवस्थामा आएको राजनीतिक प्रतिरक्षाका रूपमा समेत हेर्न थालिएको छ ।
ओलीको राजनीतिक शैलीमा नेतृत्वमाथिको प्रश्नलाई सामान्य आन्तरिक बहसका रूपमा स्वीकार गर्नेभन्दा त्यसलाई संगठनात्मक अनुशासनसँग जोडेर प्रतिवाद गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको छ । अहिले पनि उनले त्यही शैली अपनाएका छन् । तर अहिले परिस्थिति केही फरक छ । पहिले ओलीमाथि प्रश्न उठाउनेहरू प्रायः व्यक्तिगत वा गुटगत असन्तुष्टिका रूपमा चित्रित गर्न सकिन्थ्यो । अहिले भने पार्टीको चुनावी परिणाम, जनजी आन्दोलनपछि बदलिएको राजनीतिक वातावरण र नेतृत्वको पुस्तान्तरणसँग जोडेर प्रश्न उठिरहेको छ ।
त्यसैले नेतृत्व परिवर्तनको बहसलाई ‘केही आवाराहरूको क्यान्टिन गफ’मा सीमित गर्ने ओलीको प्रयासले उल्टै प्रश्नलाई अझ राजनीतिक बनाइदिन सक्छ । एमालेलाई नजिकबाट विश्लेषण गरिरहेका एक राजनीतिक विश्लेषक भन्छन्, ‘ओलीको पछिल्लो आक्रोशको अर्थ अझ गहिरो छ । पार्टीभित्र उनको विगतको विश्वासपात्र मानिएका नेताहरू नै फरक धारमा देखिन थालेका छन् ।
कुनै समय ओलीसँग निकट रहेका महासचिव शंकर पोखरेललगायत नेताहरू अहिले नेतृत्व पुनर्गठनको बहसमा फरक ढंगले प्रस्तुत भइरहेका छन् । उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलबाट समेत अध्यक्षको भूमिकामाथि प्रश्न उठ्ने गरी सुझाव आएपछि ओली असन्तुष्ट देखिनु त्यसैको परिणाम हो ।’ अर्थात्, ओलीले सामना गरिरहेको चुनौती विपक्षी दल वा बाहिरका राजनीतिक शक्तिबाट मात्र होइन, आफ्नै संगठनको भित्री संरचनाबाट पनि आउन थालेको छ । यही कारण उनको भाषामा आक्रोश बढेको देखिन्छ ।
.jpg)
