काठमाडौं । रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा हालसम्म ७२ जनाको शव फेला परेको हो।
सशस्त्र प्रहरीको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै २८ जनाको शव फेला परेको छ। तीमध्ये पाँच महिला, १३ पुरुष र १० जनाको लैंगिक पहिचान खुल्न सकेको छैन।
धादिङमा १८ जनाको शव भेटिएको छ। मृतकमध्ये ११ महिला, पाँच पुरुष र दुई जनाको पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, नुवाकोटमा ११ जनाको शव फेला परेको छ। तीमध्ये पाँच महिला र छ पुरुष छन्।
गोरखामा नौ जनाको शव भेटिएको छ। गोरखामा फेला परेका शवमध्ये दुई महिला, चार पुरुष र तीन जनाको पहिचान खुल्न सकेको छैन।
तनहुँमा चार जनाको शव फेला परेको छ। मृतकमध्ये दुई पुरुष, एक बालिका र एक बालक रहेका छन्।
यसैगरी पूर्वी नवलपरासीमा एक बालिकाको तथा रसुवामा एक पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
.jpg)
