बाढीपीडितलाई प्रधानमन्त्री शाहको भरोसा : ‘यो कठिन घडीमा देश तपाईंहरूसँगै छ’

बाढीपीडितलाई प्रधानमन्त्री शाहको भरोसा : ‘यो कठिन घडीमा देश तपाईंहरूसँगै छ’

images
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवासहितका जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री बालेन शाहले विपद्मा परेका नागरिकलाई सरकार एक्लै नछाड्ने बताएका छन्। उनले प्रभावित परिवारको उद्धार, उपचार, राहत र पुनःस्थापनाको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै पीडितलाई धैर्य गर्न आग्रह गरेका छन्।

    बुधबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

    ‘आफ्नो मान्छे, परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका तपाईंहरूको असह्य पीडामा सिङ्गो सरकार र सम्पूर्ण देशवासी साथमा छौँ,’ शाहले भनेका छन्।

    बाढीको खबर प्राप्त भएलगत्तै सरकारका सबै संयन्त्र परिचालन गरिएको उनको दाबी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरी खोज तथा उद्धारलाई तीव्र बनाइएको उनले बताएका छन्।

    प्रधानमन्त्रीका अनुसार नेपाली सेनाको हेलिकप्टरसमेत प्रयोग गरी हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले जानकारी दिएका छन्।

    उनले अहिलेको प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकको सुरक्षामा केन्द्रित रहेको बताएका छन्। उद्धार तथा राहतको काम रातभर निरन्तर सञ्चालन गरिने पनि उनको भनाइ छ।

    घाइतेको उपचारका लागि काठमाडौंका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

    त्यसैगरी प्रभावित क्षेत्रमा मेडिकल टोली, चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामग्री पठाइएको उनले जानकारी दिए। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको उनले बताएका छन्।

    आपत्कालीन अवस्थामा औषधी, रगत र अन्य स्वास्थ्य सामग्रीको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स क्लब तथा नेपाल स्काउटसँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

    बाढीबाट नुवाकोट, रसुवा, धादिङ र गोरखाका विभिन्न स्थानीय तह बढी प्रभावित भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याउने बताएका छन्। प्रभावित क्षेत्रका संघीय सांसद तथा स्थानीय तहसँग समन्वय गरेर आवश्यक सहयोग पहिचान र व्यवस्थापन भइरहेको उनको भनाइ छ।

    बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकतामा राख्ने शाहले बताएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनले प्रतिबद्धता जनाएका छन्।

    प्रधानमन्त्री शाहले विपद्को समयमा सरकारसँगै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन्।

    ‘तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ शाहले भनेका छन्, ‘तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’

    बाढीमा बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउँदै क्षतिको विस्तृत विवरण संकलन र प्रभावित जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउने कामलाई सरकारले निरन्तरता दिने प्रधानमन्त्रीले बताएका छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend