कांग्रेसको सरकारलाई यस्ता छन् ९ सुझाव

कांग्रेसको सरकारलाई यस्ता छन् ९ सुझाव

बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्

images
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तत्काल चाल्नुपर्ने ९ वटा कदमबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ।

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार प्रधानमन्त्री शाहलाई भेटेर सरकारलाई तत्काल गर्नुपर्ने काम समेटिएको ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आङदेम्बेले करिब आधा घण्टा प्रधानमन्त्रीसँग छलफल गरेका थिए। उनले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र स्थानीयले भोगिरहेका कठिनाइबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप तीव्रता दिन आग्रह गरे।

    आङदेम्बेले यसअघि बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा गृहमन्त्री सुधन गुरुङसँग समेत भेट गरी त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए।

    कांग्रेसले विशेषगरी सडक तथा पुल सञ्चालन, हवाई उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, घाइतेको उपचार, विद्युत् तथा सञ्चार सेवा पुनः सञ्चालन र स्थानीय तहसँगको समन्वयलाई तत्काल प्राथमिकता दिनुपर्ने जनाएको छ।

    छुट्टाछुट्टै हवाई उद्धार युनिट बनाउन सुझाव

    नेपाली सेनाले गरिरहेको हवाई उद्धारको प्रशंसा गर्दै आङदेम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न सुझाव दिएका छन्। प्रभावित क्षेत्रमा अझै उद्धारको आवश्यकता रहेकाले हवाई उद्धारलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

    त्यस्तै, बाढीबाट अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका सडक तत्काल सफा गरी आवागमन सुचारु गर्न तथा क्षतिग्रस्त पुलमध्ये कम्तीमा ७ स्थानमा तत्काल बेलिब्रिज जडान गर्न कांग्रेसले माग गरेको छ।

    बाढीका कारण अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालन गर्नुपर्नेमा पनि आङदेम्बेले जोड दिएका छन्। सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा आपसी समन्वयमा थप कठिनाइ भइरहेको भन्दै उनले त्यसतर्फ तत्काल ध्यान दिन आग्रह गरेका हुन्।

    बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पार्न माग

    बाढीले बगाएर ल्याएका शवहरू विभिन्न स्थानमा यत्रतत्र रहेको भन्दै कांग्रेसले बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनको कामलाई तीव्र बनाउन माग गरेको छ।

    यसका लागि आवश्यकताअनुसार थप स्थलगत खोज तथा उद्धार टोली परिचालन गर्नुपर्ने आङदेम्बेको सुझाव छ। त्रिशूली नदीलगायतका क्षेत्रमा बेपत्ताको खोजीका लागि ड्रोनको प्रयोग गर्नसमेत उनले आग्रह गरेका छन्।

    सुरुङ, भग्नावशेष वा अन्य जोखिमयुक्त स्थानमा मानिस फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार टोली तथा विशेषज्ञको सहयोग लिनुपर्ने कांग्रेसको सुझाव छ।

    उद्धार गरिएकालाई काठमाडौंसम्म ल्याउने व्यवस्था

    बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकता र अवस्थाअनुसार काठमाडौंसम्म पुर्‍याउन यातायातको व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

    घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिनुपर्ने भन्दै आङदेम्बेले नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि पर्याप्त अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र शय्याको व्यवस्था गर्न माग गरेका छन्।

    स्थानीय तहसँग समन्वय बढाउन जोड

    उद्धार तथा राहत कार्यमा संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा कांग्रेसले विशेष जोड दिएको छ। प्रभावित क्षेत्रमा स्थानीय तहको आवश्यकता र अवस्थाअनुसार संघीय सरकारले स्रोतसाधन उपलब्ध गराउनुपर्ने तथा राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई आवश्यक सहजीकरण गर्नुपर्ने आङदेम्बेको सुझाव छ।

    त्यस्तै, त्रिशूलीलगायतका नदी क्षेत्रमा आवागमन तथा उद्धार कार्य सहज बनाउन आवश्यक स्थानमा तत्काल तुइनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

    विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend