काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न चीनले नेपालमा दुईवटा सैन्य कार्गो विमान पठाउने भएको छ। राहत सामग्री बोकेका ती विमान शनिबार नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयसँगको समन्वयमा चिनियाँ सैन्य कार्गो विमान नेपाल आउन लागेका हुन्। बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री ती विमानमार्फत ल्याइनेछ।
त्यससँगै चीनले सुरुङ उद्धार तथा प्राविधिक कामका लागि दुईवटा विशेषज्ञ टोलीसमेत नेपाल पठाउने भएको छ। भोटेकोसी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेको आशंका भइरहेका बेला चीनले सुरुङ उद्धारमा विशेषज्ञता भएका टोली पठाउन लागेको हो।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ११ आयोजनामा कार्यरत करिब ९ सय जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूमध्ये कतिपय सुरुङभित्र फसेको हुनसक्ने आकलन गरिएको छ।
त्रिशूली–३ ‘ए’ मा उत्खनन तीव्र
यसैबीच, रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेको आशंका गरिएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि उत्खनन जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुरुङको प्रवेशद्वारसम्म पुग्न लेदो तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। शनिबारसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको र प्रगति अपेक्षाकृत राम्रो रहेको कार्यालयले जनाएको छ।
उद्धार टोलीले कामको गति कायम राख्न सके दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्न सकिने अनुमान गरिएको छ। प्रतिकूल मौसम र ठूलो मात्रामा जम्मा भएको लेदो तथा भग्नावशेषका कारण भने उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
त्रिशूली–३ ‘ए’ सहित बाढीले पुरिएका वा क्षति पुर्याएका अन्य जलविद्युत् आयोजनामा समेत उद्धार तथा खोजी कार्य जारी रहेको छ।
चीनबाट २० लाख डलर नगद सहयोग
उद्धार तथा राहतमा सहयोग पुर्याउन चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोगसमेत उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको छ।
चीनबाट राहत सामग्रीसहितका दुईवटा कार्गो विमान, सुरुङ उद्धारसम्बन्धी दुईवटा विशेषज्ञ टोली र नगद सहयोग एकसाथ आउन लागेको हो।
भोटेकोसी बाढीपछि नेपालले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै आएको छ। यसअघि भारतले समेत राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
.jpg)
