प्रधानमन्त्री राहत कोषमा साढे ६ अर्बभन्दा बढी जम्मा, एक अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा साढे ६ अर्बभन्दा बढी जम्मा, एक अर्ब निकासा

images
मंगलवार, भाद्र १६ २०८३

  • काठमाडौं । बाढीपहिरो प्रभावितका लागि जुटाइएको आर्थिक सहयोगमध्ये प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको छ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार साँझसम्म नौवटा वाणिज्य बैंकमा रहेका खातामार्फत उक्त रकम संकलन भएको हो।
    संकलित रकममध्ये एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। त्यसपछि अहिले प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।


    त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर पनि जम्मा भएको छ। बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। विभिन्न देश तथा संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।


    सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलन गरिरहेको छ। सहयोग रकम बढ्दै गएको कार्यालयको भनाइ छ। संकलित रकम र त्यसको अवस्थाबारे पारदर्शिता कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकमको विवरण सार्वजनिक गरिँदै आएको कार्यालयले जनाएको छ।


    बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत र प्रभावितको पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन गरिरहेको छ। प्रधानमन्त्री राहत कोषमा संकलित रकमको प्रभावकारी र पारदर्शी उपयोगमा भने अब ध्यान दिनुपर्ने देखिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend